नवलपरासीका दुई व्यावसायिक घाँस उत्पादक किसानले उन्नत जातको घाँस बेचेरै वार्षिक ५० लाख नाफा गरेका छन् ।
१६ बिघा जमिनमा व्यावसायिक रूपमा घाँसखेती गरेका उनीहरूले वार्षिक ५० लाख आम्दानी गर्न सफल भएपछि हौसिएर यस वर्ष थप ४९ बिघामा घाँस लगाउने तयारी गरेका छन् ।
नवलपरासीको गैँडाकोट नगरपालिकाभित्रको हर्कपुर, मुकुनपुर क्षेत्र दूध उत्पादकका लागि नेपालकै पकेड क्षेत्रको मानिन्छ ।
यहाँका किसानले अहिले दूध मात्र नभई घाँस पनि बेच्न सुरु गरेका छन् । यहाँका किसानले उन्नत जातको घाँसको पनि व्यावसायिक रूपमा खेती गर्न सुरु गरेका हुन् ।
यहाँ पुग्दा खेतीयोग्य जमिनमा धानभन्दा घाँस बढी देखिने गर्दछन् ।
पूर्वीनवलपरासीको गैँडाकोट नगरपालिका– ११ हर्कपुरमा स्थानीय मानबहादुर थारू र गोपालप्रसाद दुलालले १६ बिघा जमिनमा अहिले व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका हुन् ।
उनीहरू व्यावसायिक रूपमा दूध उत्पादकका लागि गाई भैँसी तथा मासुका लागि पाडा, राँगा र बाख्रा पाल्ने किसानलाई घाँस बेच्दै आएका छन् ।
उनीहरूले गोरस घाँस विकास स्रोत केन्द्र नाम दिएर फर्म नै दर्ता गरेर व्यावसायिक रूपमा घाँस खेती गरेका हुन् ।
घाँसखेतीबाट गत वर्ष मात्रै ७५ लाखको घाँस बिक्री गरेको र अहिले लकडाउनको वेलामा पनि दैनिक ५५ हजारको दरले घाँस बिक्री भएको गोरस घाँस विकास स्रोत केन्द्रका सञ्चालक तथा व्यवस्थापक मानबहादुर थारूले बताए ।
एक सय ४५ किसिमका घाँस
गोरस घाँस विकास स्रोत केन्दले स्थानीय र उन्नत थातका गरी एक सय ४५ जातका घाँस र घाँसका बिउ उत्पादन गरेको छ ।
उन्नत जातका नेफियर, मोल्याटो, पासपालम, सेटेरिया, स्टाइलो, गुर्जु, भल्बेटिन, डाले घाँसमा राई खनियो, निमारो, बडहर, टाँकी, कोइरालो, घटमासे, इन्दुलगायतका स्थानीय र उन्नत जातका गरी एक सय ४५ जातका घाँसको खेती तथा नर्सरी गरिएको थारूले बताए ।
भुइँघाँस, डालेघाँस गरी विभिन्न प्रकारका घाँस अहिले यहाँ पाइन्छ । त्यो पनि मौसमअनुसारको समेत पाइने गर्दछ ।
राम्रो बजार र प्रशस्त सम्भावना
नेपालमा बढ्दो पशुपालनबीच घाँसको बजार राम्रो देखिन्छ ।
धेरै किसानले परम्परागत रूपमा पशुपालन गर्ने र गाउँघर तथा जंगलमा पाइने घाँसको अभावमा पराल, चापट, धुटो मात्र खुवाउने गरेका कारण नेपालमा उन्नत जातका घाँसको बजार विस्तार सहज हुने देखिन्छ ।
यसको माग स्थानीय बजारमा मात्रै नभएर पोखरा, काठमाडौं, बुटवल, काभ्रेदेखि चीनको सिक्किमसम्म घाँसको माग भएको व्यवस्थापक मानबहादुर थारूले बताए ।
परालभन्दा सस्तो र पर्याप्त पौष्टिक तत्व
पराल सरदर २० रुपैयाँ प्रतिकिलो पर्दछ भने केन्द्रले घाँस प्रतिकिलो पाँच रुपैयाँमा मात्र बिक्री गर्ने गरेकाे छ।
पराल साह्रो हुने, सुक्खा हुने साथै गाउँघर तथा जंगलमा पाइने घाँसको तुलनामा यसमा पौष्टिक तत्व बढी हुन्छ ।
अहिले पशुपालनका लागि आहारको राम्रो स्रोत मानिएको पराल घाँसको तुलनामा तीन गुणासम्म महँगो पर्ने, घाँसको तुलनामा पौष्टिक आहार कम हुने, परालबाट दूध धेरै नआउने भएका कारण पनि किसानले परालको तुलनामा उन्नत जातको घाँस खरिद गर्न रुचाउने गरेका छन् ।
यस्ता घाँसले गाईवस्तुलाई दाना खुवाएबराबर काम गर्ने अनुभव छ सागर पशुपालन फर्मका सञ्चालक सागर पाठकको ।
पाठक भन्छन्, ‘मैले केही दिन पानी पर्दा घाँस काट्न नपाएर पराल र चापट खुवाएँ, जसले गर्दा दैनिक चार सय लिटर दूधबाट घटेर दुई सय ८० लिटरमा झऱ्याे । पानी पर्बिन छाेड्नेबित्तिकै उन्नत जातको यस्ता घाँस प्रशस्त खुवाउना साथ पुनः चार सय लिटर नै पुग्यो ।’
पाठकको अनुभवमा पराल घाँसको तुलनामा निक्कै महँगो पनि पर्छ र गाईभैँसीले पराल खाँदा टुक्राटुक्री तथा धुलो पराल फाल्ने सम्भावना हुन्छ भने नेपियरजस्ता घाँस खुवाउँदा गाईभैँसीले सबै खाने गर्दछन् ।
पराल निकै महँगो र पर्याप्त पौष्टिक आहार नहुने भएका कारण किसानको रोजाइ उन्नत जातको घाँस हुने गरेको छ ।
१६ जनालाई रोजगारी
मानबहादुर थारू र गोपालप्रसाद दुलालको घाँस फर्मबाट ती दुईजनाले मात्र आम्दानी गरेका छैनन्, थप १६ जनालाई प्रत्यक्ष रोजगारीको अवसर पनि सिर्जना गरेको छ ।
फर्ममा अहिले १६ जना कर्मचारीले नियमित काम पाइरहेका छन् भने घन्टे खेतालाको रूपमा यहाँ ५०–६० जनासम्म गाउँलेले कामसमेत पाउने गरेका छन् ।