मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १३ मंगलबार १८:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विदेशमा घरेलु कामदार पठाउन संसदीय समितिले तोक्यो यस्ता सर्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १३ मंगलबार १८:५३:००

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विगतमा घरेलु काममा श्रमिक पठाउन पूर्ण रूपमा बन्देज लगाउन सरकारलाई निर्देशन दिएकोमा अहिले घरेलु कामदार विदेश पठाउनका लागि निश्चित सर्तहरू तोकेको छ । समितिको मंगलबार बसेको बैठकले कस्तो–कस्तो अवस्थामा घरेलु कामदारका रूपमा पठाउन सकिने भन्ने सर्त तोकेको छ ।
 समितिका अनुसार घरेलु कामदारमा पठाउन सकिने अवस्थाहरू यस्ता छन्–
१) नेपालबाट घरेलु कामदार लान चाहने देशमा घरेलु कामदारको सेवा, सर्त र सुरक्षा सम्बन्धमा छुट्टै र ठोस कानुनी व्यवस्था रहेको । 

२) नेपाल र सम्बन्धित मुलुकबीच घरेलु कामदार पठाउने सम्बन्धमा द्विपक्षीय श्रम सम्झौता सम्पन्न भएको र त्यस्तो श्रम सम्झौतामा कामदारको आधारभूत श्रम अधिकार, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य, कार्यघन्टा, २४ घन्टे बिमा, अतिरिक्त कामको थप सुविधा आदिको सुनिश्चितता भएको ।

३) द्विपक्षीय श्रम सम्झौतामा घरेलु कामदारले भोग्नुपर्ने समस्या समाधानका लागि बलियो र प्रभावकारी द्विपक्षीय संयन्त्रको व्यवस्था गरिएको ।

४) घरेलु कामदारको रूपमा विदेश पठाउनुपूर्व कम्तीमा पनि घरेलु कामसम्बन्धी आधारभूत तालिम प्राप्त गरेको, सम्बन्धित मुलुकमा बोलिने भाषामा संवाद गर्न सक्ने गरी भाषागत ज्ञान प्राप्त गरेको, सम्बन्धित मुलुकको परम्परा, संस्कार र संस्कृतिबारे आधारभूत जानकारी हासिल गरेको र सम्बन्धित देशमा पुगेपछि काम सुरु गर्नुअघि अनिवार्य रूपले तालिम दिने व्यवस्था भएको ।

५) समान काम गर्ने नेपाली कामदार र सम्बन्धित देशका कामदारबीच सेवाको सर्त, सुरक्षा, कार्यवातावरण र सुविधामा भेदभाव नभएको ।

६) घरेलु श्रमिकमाथि शारीरिक, मानसिक र यौनजन्य हिंसा गर्ने स्पोन्सर, मालिक वा परिवारको सदस्यलाई कडा कारबाही गर्ने व्यवस्था सम्बन्धित देशको कानुनमा रहेको ।

७) घरेलु कामदारले सहज तरिकाले परिवार र दूतावाससँग सम्पर्क गर्न सक्ने व्यवस्था भएको ।