Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नेपाल आयत निगमको बागमती प्रादेशिक कार्यालय थानकोट डिपो : तस्बिर विनोद विष्ट
अजित अधिकारी काठमाडौं
२०७७ असोज ८ बिहीबार २२:११:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कारबाही हुने डरले पेट्रोलमा मिसावट गरिएको ट्यांकर त्रिशूलीमा खसालेको आशंका

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ असोज ८ बिहीबार २२:११:००

गत आइतबार चालक र सहचालकको मिलेमतोमा पेट्रोल ट्यांकर जानाजान त्रिशूलीमा खसालेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट २० हजार लिटर पेट्रोल लिएर आएको ना४ख २८२२ नम्बरको ट्यांकरमा मट्टीतेल मिसाएको निगममा पूर्वसूचना आएको थियो । सो ट्यांकर निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका लागि आउँदै गर्दा कर्मचारीलाई सो सूचना प्राप्त भएको थियो । 

ट्यांकर बिहान डिपोमा आएपछि गुणस्तर परीक्षण गरेर मट्टीतेल मिसावट भएको पुष्टि भए चालक र सहचालकलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, ०३२ अनुसार कारबाही गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्ने तयारी निगमको थियो । किनभने, त्यसको चार दिनअघि पनि ना४ख ७२५६ नम्बरको ट्यांकरको दुईवटा चेम्बरमा रहेको ८ हजार लिटर पेट्रोल परीक्षण गर्दा करिब २ हजार लिटर मट्टीतेल मिसावट भएको भेटिएको थियो । गाडीको इन्जिन नै बिग्रने गरी सस्तो मूल्यको मट्टीतेल मिसाएर आर्थिक लाभ लिन खोज्ने सो ट्यांकरका चालक प्रमेशकुमार श्रेष्ठलाई कारबाही गर्न निगमले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको जिम्मा लगाएको छ । अहिले उनलाई कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

तर, डिपो आइपुग्नुअगावै बिहान दुई बजे सो ट्यांकर धादिङको गल्छी नगरपालिका–६, चरौँदीमा खसेर आगलागी भयो । त्रिशूली नदीमा खसेको ट्यांकरमा रहेको २० हजार लिटर पेट्रोलसमेत नष्ट भएको छ । तर, पेट्रोलमा मट्टीतेल मिसाएको निगमले थाहा पाएका कारण कारबाही भोग्नबाट बच्न चालक र सहचालकले जानाजान नदीमा ट्यांकर खसालेको हुन सक्ने निगमका एक कर्मचारीले बताए । उनी भन्छन्, ‘अघिल्लोपटक मट्टीतेल मिसावटको घटनाका चालकलाई कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढेको थाहा पाएपछि ना४ख २८२२ नम्बरका चालक र सहचालकले जेल जानुभन्दा नदीमा खसाल्नु ठीक भएको ठहर गरेको हुनुपर्छ ।’ नदीमा खसेर दुर्घटना भएको ट्यांकरको क्षतिपूर्ति बिमा कम्पनीले दिने भएकाले ट्यांकरधनीलाई पनि खासै नोक्सानी हुँदैन । मिसावटको आशंका गरिएको ट्यांकर पल्टिएर दुर्घटना भएपछि निगमको थानकोट डिपोले छानबिन गर्न इलाका प्रहरी कार्यालय, गजुरीलाई लिखित पत्राचार गरेको छ । चालक सुदीप बोहरा र सहचालक मनीष नगरकोटीलाई सकुशल अवस्थामा भेटेर गजुरी प्रहरी कार्यालयले अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ ।

‘सिंगो ट्यांकर त्रिशूलीमा खसेर नष्ट भएको छ, तर चालक र सहचालकलाई कुनै क्षति भएको छैन । यसले पनि ट्यांकर जानाजान पल्टाएको आशंकामा थप बल पुगेको छ,’ निगमका एक कर्मचारीले भने ।  

डिपो प्रमुख प्रदीप यादवले पत्राचार गरेको पत्रमा भनिएको छ, ‘ना४ख २८२२ नम्बरको ट्यांकर पल्टेको भन्ने बुझिन आएकाले उक्त ट्यांकर के–कस्ता कारणले पल्टेको हो वा पल्टाइएको हो ? सो कार्यमा को–कसको सहभागिता थियो ? साथै, उक्त ट्यांकरचालकको व्यवहार यसपूर्व पनि शंकास्पद रहेको देखिएकाले सो सम्बन्धमा पनि आवश्यक अनुसन्धान कार्य गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिदिनुहुन अनुरोध छ ।’ चालक बोहराको कार्यशैली विगतदेखि नै शंकास्पदसमेत रहेको कर्मचारीले बताएका छन् । 

निगमको पत्रपछि चालक बोहरा र सहचालक नगरकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय, गजुरीका डिएसपी विश्वराज खड्काले बताए । ‘घटना भएको भोलिपल्ट नै दुवैजनालाई नियन्त्रण गरेर अनुसन्धान गरिरहेका छौँ,’ उनले भने । प्रहरीलाई चालक बोहराले प्रारम्भिक रूपमा ट्यांकरको स्टेयरिङ बिग्रेर दुर्घटना भएको बयान दिएका छन् ।
 

मट्टीतेल मिसावट गर्ने चालकलाई धमाधम कालोबजारी मुद्दा
त्रिशूलीमा पेट्रोल ट्यांकर खसेको चार दिनअघि (१ असोज) थानकोट डिपोमै आइओसीको बरौनी रिफाइनरीबाटै पेट्रोल बोकेर आएको ना४ख ७२५६ नम्बरको ट्यांकरको दुईवटा चेम्बरमा रहेको ८ हजार लिटर पेट्रोल परीक्षण गर्दा करिब २ हजार लिटर मट्टीतेल मिसावट भएको भेटिएको थियो ।

थानकोट डिपो प्रमुख प्रदीप यादवका अनुसार घनत्व ७ सय ४० किलोप्रतिमिटर हुनुपर्नेमा ७ सय ६० किलोप्रतिमिटर र अन्तिम तापक्रम अवस्था १९५ डिग्री प्रतिसेन्टिग्रेड हुनुपर्नेमा २९५ डिग्री प्रतिसेन्टिग्रेड पारेर ठूलो परिमाणमा मट्टीतेल मिसाइएको थियो । त्यसपछि सो ट्यांकरका चालक प्रमेशकुमार राईलाई कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

त्यसअघि आइओसीको बरौनी रिफाइनरीबाटै पेट्रोल लिएर निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्ज आएका तीनवटा ट्यांकरमा ल्याइएको २८ हजार लिटर पेट्रोलमा करिब ७ हजार लिटर मट्टीतेल र हानिकारक केमिकल (मिनरल टर्पाइन आयल) मिसावट भएको भेटिएको थियो । त्यसपछि ट्यांकरका चालकलाई बारा जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाएर कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।