१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/एपी
२०७७ असोज ७ बुधबार १३:५८:००
Read Time : > 2 मिनेट
विश्व

अमेरिकामा कोरोना संक्रमणबाट दुई लाखको मृत्यु, तर राष्ट्रपति ट्रम्प आफ्नै प्रशासनविरुद्ध वाकयुद्धमा

Read Time : > 2 मिनेट
रासस/एपी
२०७७ असोज ७ बुधबार १३:५८:००

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प भने अझै आफ्नै प्रशासनका वैज्ञानिकहरूले कोरोनाबाट बच्न दिएका निर्देशिकाविरुद्ध वाकयुद्धमा व्यस्त छन् । 

६ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता दिएको छ । विशेषज्ञको सल्लाह अनुशरण गरेको भए कोरोनाबाट हुने क्षति कम गर्न सकिने अध्ययनहरूले देखाइरहेका छन् । राष्ट्रपति ट्रम्प र उनका आफ्ना खासखास व्यक्तिले महामारीको गुरुत्वको यथार्थ वैज्ञानिक मूल्यांकनलाई निरन्तर अस्वीकार मात्र होइन, चाकडीको भाषाशैलीमा वैज्ञानिक तथ्यलाई खिसिटिउरी गर्ने प्रयास गरेका छन् । 

गत साता मात्रै पनि राष्ट्रपति ट्रम्पले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुख डा. रोबर्ट रेडफिल्डलाई ‘भ्रमित’ व्यक्तिको संज्ञा दिए । किनकि रेडफिल्डले सन् २०२१ को अन्त्यतिर मात्र कोरोना भाइरसविरुद्धको खोप निर्माण हुने बताएका थिए । कुनै प्रमाणबेगर नै ट्रम्पले आगामी ३ नोभेम्बरको चुनावअघि नै खोप तयार हुने दाबी गरे । 

खोपका लागि ट्रम्पको छटपटीले विज्ञान वा खोप निर्माण प्रक्रियालाई असर गरेको छ भन्ने कुनै संकेत भने देखिएको छैन, तर चुनावअघि खोप निर्माण हुन सके चुनावलाई आफ्नो पक्षमा पार्न सकिने उनमा अटल विश्वास छ । ट्रम्प र विज्ञानबीचको द्वन्द्व कोभिड–१९ फैलिन थालेदेखि नै निरन्तर जारी छ । 

डिसेम्बरको आखिरमा चीनको वुहानमा पहिलोपटक भाइरस देखा परिसकेपछि सिडिसीले आपतकालीन केन्द्रको थालनी गरेको थियो । इपिडिमियोलोजी (संक्रामक रोग विशेषज्ञ) विज्ञहरूले यो रोगलाई नियन्त्रणमा ल्याउन र फैलिन नदिन तत्कालै आक्रामक जनचेतना र सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) आवश्यक रहेको बताएका थिए । 

यसको सट्टा ट्रम्पले पहिलो महत्वपूर्ण साताहरूमा सार्वजनिक रूपमै भाइरस केही होइन भन्दै हल्काफुल्का टिप्पणी गरेका थिए । यद्यपि, उनले आफ्ना भित्री सहयोगीलाई भाइरस निकै खतरापूर्ण रहेको स्विकार्न आग्रह गरेको जनाइएको छ । राष्ट्रपतिले पत्रकार बब वुडवर्डलाई मार्चमा भनेका थिए, ‘यो मामुली भाइरस हो, यसलाई सहजै परास्त गर्न सकिन्छ ।’ मार्चको मध्यसम्ममा, न्युयोर्क र अन्य ठाउँका अस्पताल बिरामीले भरिभराउ भए र फ्रिजयुक्त ट्रकमा शवहरू राख्नुपरेको थियो । 

३१ मार्चमा, राष्ट्र अझै पनि महामारीको स्वरूप र प्रभाव बुझ्न आतुर थियो । ह्वाइटहाउसको कोरोना भाइरस प्रतिक्रिया समन्वय केन्द्रका डा. डेबोरा बर्क्स र संक्रामक रोगसम्बन्धी नेसनल इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी फाउचीले राष्ट्रपति ट्रम्पको छेउमा उभिएर अमेरिकामा कोभिड– १९ बाट मृत्यु हुन सक्ने व्यक्तिको संख्याबारे अनुमान प्रस्तुत गरे । दुवै चिकित्सकले मुलुकमा मास्क अनिवार्य नगर्ने, सामाजिक दूरी कायम नगर्ने र व्यवसाय बन्द नगर्ने हो भने एक लाखदेखि दुई लाख ४० हजारसम्म व्यक्तिको मृत्यु हुन सक्ने जानकारी दिए । उनीहरूले यदि संयुक्त राज्य अमेरिकाले कडा कदम चालेमा एक लाखभन्दा कम व्यक्तिको मात्र मृत्यु हुन सक्ने बताएका थिए । त्यसलगत्तै राष्ट्रपति ट्रम्पले भने, ‘हामीलाई त्योभन्दा अझ कम व्यक्तिको मृत्यु हुने आशा छ ।’

अझै, राष्ट्रव्यापी रूपमै मास्क अनिवार्य गर्नुको साटो ट्रम्प प्रशासनले केही सामा नै अमेरिका खोलौँ भन्ने अभियान चलायो । सिडिसीले उद्योग, व्यवसाय पुनः खोल्ने निर्णयलाई सहयोग पुऱ्याउन निकै कडा नयाँ निर्देशिका तयार गऱ्याे । तर, ह्वाइटहाउसले त्यस निर्देशिकालाई कडा ठान्यो । ह्वाइटहाउसका नीतिनिर्माताले सिडिसीका वैज्ञानिकहरूप्रति लक्षित गर्दै दिनको उज्यालो कहिल्यै देख्न नदिनेहरू भन्दै आलोचना गरे । 

एसोसिएटेड प्रेसले ६३ पृष्ठको एउटा निर्देशिका तयार गरेको थियो जसले कार्यस्थल, दिवासेवा केन्द्रहरू र रेस्टुरेन्टहरूको लागि विज्ञानमा आधारित सिफारिसहरू गरेको थियो । 
अनुमान गरिएझैँ नतिजा आयो– समुदायहरू फेरि खुलेपछि संक्रमण तीव्र गतिमा वृद्धि भयो र मृतकको संख्या एक लाखमुनि राख्ने आशामा तुषारापात भयो । 
सिडिसी सिफारिसहरू जारी गर्नुअघि परीक्षणका लागि ह्वाइटहाउस कार्यदलको माध्यमबाट जारी गरिएको थियो । रेडफिल्डमाथि अहिले सिडिसीको प्रतिरक्षा गर्न नसकेको भन्दै आलोचना गरिएको छ र लामो समयदेखि सिडिसीमा काम गरिसकेका व्यक्तिहरूले यसको नेतृत्वले राजनीतिको साटो विज्ञानलाई प्रधान्य दिने आशा गरेका छन् ।  ‘मलाई पक्का विश्वास छ कि यो सजिलो छैन, तर यो सिडिसीको प्रतिष्ठाको लागि यो आवश्यक छ,’ २० वर्षसम्म सिडिसीमा काम गरेकी फ्लोरिडा विश्वविद्यालयकी चिकित्सा विज्ञानकी प्राध्यापक डा. सोन्जा रास्मुसेनले भनिन्, ‘हामीलाई यो महामारीबाट पार लगाउन एक बलियो र विश्वासयोग्य सिडिसी चाहिएको छ जसले भविष्यमा पनि सार्वजनिक स्वास्थ्य आपतकालबाट जनतालाई सुरक्षित गर्न सकोस् ।’

फाउचीलाई सञ्चारमाध्यमसँगको अन्तर्क्रियामा प्रतिबन्ध लगाएसँगै राष्ट्रपति ट्रम्पले स्ट्यान्फोर्ड विश्वविद्यालयका न्युरोलजिस्ट डा. स्कट एटलसलाई अगाडि सारे । तर, उनलाई संक्रामक रोग र महामारीबारे खासै अनुभव छैन । 

एटलसले विद्यार्थीलाई मास्क वा सामाजिक दूरी आवश्यकता छैन भन्दै आएका छन् । एटलसले भाइरसबाट मुक्त हुन हर्ड इम्युनिटी सिर्जना गर्नुपर्ने बताएका छन् । 
जनसंख्याको ठूलो हिस्सालाई संक्रमित हुन दिएर समुदायव्यापी प्रतिरोधात्मक क्षमताको निर्माण गर्न सकिन्छ भन्ने धारणा नै ‘हर्ड इम्युनिटी’ हो । विश्व स्वास्थ्य संगठनले यो दृष्टिकोणलाई खतरनाक कदम भनी चेतावनी दिइसकेको छ । ह्वाइटहाउसका अधिकारीहरूले पछिल्लो समय एटलसले त्यसो नभनेको भन्दै प्रतिरक्षा गरिरहेको छ ।

स्वास्थ्यकर्मीद्वारा भटाभट  राजीनामा
त्यस्तै, २७ वटा राज्यका कम्तीमा ६० जना राज्यस्तरीय वा स्थानीय स्वास्थ्यकर्मीले अप्रिलयता पदबाट राजीनामा दिइसकेका वा पदबाट हटाइएका छन् । जुन महिनादेखियता यो संख्या दोब्बर भएको छ । धेरै सार्वजनिक अधिकारीहरूको राजनीतिक दबाब वा मास्क लगाउनुपर्ने र बन्दको कार्यान्वयन गर्नुपर्ने आदेशबाट क्रोधित व्यक्तिहरूको हिंसात्मक धम्कीपछि पदबाट राजीनामा गरेका छन् ।