मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असोज ५ सोमबार १९:३५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घरजग्गा खाली गर्न पूर्वअधिराजकुमारी प्रेरणालाई २१ दिनको ताकेता 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असोज ५ सोमबार १९:३५:००

ताहाचलस्थित १५ रोपनी एक आना जग्गा र त्यहाँ निर्माण भएको घर खाली गर्न नेपाल ट्रस्टको कार्यालयले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई २१ दिनको समय दिएको छ । प्रेरणाले थप एक वर्षको समय माग्दै निवेदन दिएकोमा त्यसलाई अस्वीकार गर्दै ट्रस्टको कार्यालयले २१ दिनभित्र खाली गर्न ताकेता गरेको हो । 

सो घरजग्गा नेपाल ट्रस्टको हुने अन्तिम फैसला सर्वाेच्च अदालतले गत २४ माघमै गरिसकेको छ । सोही फैसलाअनुसार घरजग्गा खाली गराएर ट्रस्टको कार्यालयले व्यावसायिक प्रयोजनमा लगाउन लागेको हो । प्रेरणाकै मागको आधारमा ६ महिना समय दिइएको र अब नथप्ने निर्णय भएको नेपाल ट्रस्टको कार्यालयका सहसचिव बाबुराजा श्रेष्ठले बताए । ‘हाम्रो बोर्ड बैठकले २१ दिनभित्र घरजग्गा खाली गर्न पत्राचार गर्ने निर्णय गरेको थियो,’ कार्यालयका सहसचिव श्रेष्ठले भने, ‘आज प्रेरणाका प्रतिनिधि आएर पत्र बुझेर जानुभएको छ ।’ २१ दिनभित्र पनि खाली नगरे बल प्रयोग गर्ने कार्यालयको तयारी छ । 

गत २४ माघमा सर्वाेच्च अदालतले सो घरजग्गा नेपाल ट्रस्टकै हुने फैसला गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंहको संवैधानिक इजलासले यस्तो फैसला गरेको थियो । सो फैसलालगत्तै घरजग्गा खाली गराउने प्रक्रिया सुरु भए पनि ट्रस्टको कार्यालय सफल हुन सकेको छैन । ०६४ मै सो घरजग्गा ट्रस्टको नाममा ल्याउने निर्णय भए पनि मुद्दामामिलाका कारण प्रेरणाले नै प्रयोग गर्दै आएकी छिन् । 

ट्रस्टको नाममा ल्याउने निर्णयविरुद्ध प्रेरणाले ०७१ मा सर्वोच्चमा मुद्दा हालेकी थिइन् । ४ जेठ ०६२ मा जग्गा आफ्नो नाममा नामसारी भएको, तर ०६४ मा मात्रै ट्रस्टसम्बन्धी कानुन आएकाले त्यसअघि नै आफ्नो नाममा जग्गा आएकाले कानुन लागू नहुने प्रेरणाको जिकिर थियो । ६ असार ०७२ मा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले पहिले नै दाइजोमा दिइसकेको सम्पत्ति पछि बनेको कानुनअनुसार राज्यको नाममा ल्याउने मन्त्रिपरिषद्को निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकोले फिर्ता गर्ने फैसला भएको थियो । तर, त्यो फैसला विवादमा प¥यो । 

सो फैसलाउपर नेपाल ट्रस्टको कार्यालयले पुनरावलोकन निवेदन दियो । जसमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले २१ पुस ०७३ मै सो जग्गा नेपाल ट्रस्टको हुने फैसला गरेको थियो । तर, प्रेरणाले ट्रस्ट नै खारेज गर्नुपर्ने माग गर्दै संवैधानिक इजलासमा फेरि रिट दायर गरेकी थिइन् । संवैधानिक इजलासले उनको रिट गत माघमा नै खारेज गरेपछि उनको कानुनी लडाइँ सकिएको हो । 

 सर्वाेच्चको फैसलापछि गत ४ माघमा ट्रस्टको कार्यालयले घरजग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो । त्यसविरुद्ध प्रेरणाले १० माघमा निषेधाज्ञासम्बन्धी रिट दिएकी थिइन् । सर्वाेच्चले सो रिट पनि खारेज गरिदिएको छ । 

प्रेरणाले आफूले सो घरजग्गा दाइजोबापत भएकाले ट्रस्टको नाममा नजाने दाबी गरेकी थिइन् । राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न ०६४ मा नेपाल ट्रस्ट स्थापना भएको थियो । सो घरजग्गा पनि पूर्वराजपरिवारकै भएको भन्दै नेपाल ट्रस्टको नाममा ल्याइएको हो । 

काठमाडौैं प्लाजा खाली गर्न पनि २१ दिनको समय 
नेपाल ट्रस्टको स्वामित्वमा रहेको पुतलीसडकस्थित काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रस्टको कार्यालयले २१ दिनको समय दिएको छ । जग्गा र भवन लिजमा चलाउँदै आएको कन्सेप्ट डेभलपर्ससँगको सम्झौता अवधि गत असारमै समाप्त भए पनि अहिलेसम्म भवन खाली हुन सकेको छैन । 

तीन महिनाको भाडासमेत ट्रस्टको कार्यालयले गुमाएको छ । सो भवन काठमाडौं महानगरपालिकालाई दिने समझदारी भए पनि भवन नै खाली नहुँदा सम्झौता हुन सकेको छैन । मासिक करिब ६० लाख भाडामा महानगरपालिकालाई भवन भाडामा लगाउने सहमति भइसकेको थियो । जसअनुसार तीन महिनामा ट्रस्टको कार्यालयले एक करोड ८० लाख भाडा गुमाएको छ । 

घरजग्गा लिजमा लिएको कन्सेप्ट डेभलपर्स तथा त्यहाँ व्यवसाय गर्दै आएकाहरू अदालत गए पनि दुई व्यवसायीबाहेक अन्यको अन्तरिम आदेश खारेज भएपछि ट्रस्टको कार्यालयले भवन खाली गराउने प्रक्रिया अघि बढाएको हो । कन्सेप्ट डेभलपर्सको कार्यालय बन्द रहेकाले इमेलमार्फत घर खाली गर्न पत्राचार गरिएको सहसचिव श्रेष्ठले बताए ।