१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज २ शुक्रबार १३:०६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भूकम्पपछि सुकेको रसुवाको धार्मिक पर्यटकीय स्थल तातोपानी पुनः पाँच वर्षपछि पलायो

Read Time : > 1 मिनेट
२०७७ असोज २ शुक्रबार १३:०६:००

रसुवाको आमाछोदिङमाे गाउँपालिका– ५ स्थित रहेको तातोपानी पुनः पलाएको छ । 

०७२ को विनाशकारी भूकम्पले सुकेको तातोपानी पाँच वर्षपछि पुनः पलाएको हो । करिब १५ दिनअघि सानो पानी आउन सुरु गरेको भए पनि अहिले पहिलेको अवस्थामै पानी देखिन थालेको स्थानीय नोर्चेल तामाङले बताए । 

‘पानी आएको सुरुमा मैले देखेको हो, करिब १५ दिनजति भयो, सुरुमा आएको सानो थियो अहिले त पुरानै त भन्न सकिन्न, पुरानो अवस्थामा आउनेभन्दा अलि कम हो,’ उनले भने, ‘दिन प्रतिदिन पानीको मात्रा बढिरहेको छ, ६ वटा धारामध्ये, अहिले चारवटा धारामा पानी आइरहेको छ ।’

सुरुका दिनमा चिसो पानी आए पनि बुधबार गरिएको मापनअनुसार २२.५० डिग्री रहेको थियो भने बिहीबार गरिएको पानीको तापक्रम २३.४ डिग्री रहेको तामाङले बताए ।  

‘आजभन्दा भोलि, भोलिभन्दा पर्सि पानी तातो हुँदै गएको छ, नुहाउने कुण्डवरिपरि सफा गरी स्थानीयले पूजासमेत गरेका छन्,’ उनले भने । 

तातोपानी पुनः देखिन थालेपछि स्थानीयहरू खुसी भएका छन् भने अब गुमेको व्यवसाय फर्किने आशा पलाएको भन्दै स्थानीयहरू आशावादी देखिन्छन् । 

विनाशकारी भूकम्पले तामाङ सम्पदामार्ग र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको तातोपानी कुण्डको पानीको मुहान हराएपछि तातोपानीमा नुहाएपछि ठीक हुने भनिएको धार्मिक तथा सांस्कृतिक परम्परादेखि  व्यावसायिक कारोबारसमेत प्रभावित भएको थियो । 

भूकम्पको कम्पनले पृथ्वीको सतहमा पुऱ्याएको धक्काले तातोपानीको मुहान नै अन्यत्र सर्न पुगेपछि तातोपानीको मूल सुक्न पुग्दा विशेषगरी कात्तिक महिनाबाट चैत्त महिनासम्म तातोपानी नुहाउन खचाखच भरिने धार्मिक तथा मनोरञ्जनात्मक पर्यटकीय क्षेत्र सुनसान हुन पुगेको थियो । 

भूकम्प अघिसम्म ४० डिग्री सेल्सिग्रेट तापक्रममा प्रतिसेकेन्ड सय लिटरको हाराहारीमा निस्कने गरेको पानी भूकम्पपछि हराएपछि स्थानीय व्यवसायीहरू मारमा परेका थिए । 

तातोपानीको मुहान सुकेपछि व्यापारिक परियोजनका लागि लाखौँ रुपैयाँ खर्चेर बनाएका होटेल सुनसान भएका छन् । पर्यटक नआउँदा केहिले होटेल व्यवसाय छोडी पलायन भएका छन् । 

तातोपानीको पोखरीमा नुहाएमा छालासम्बन्धी रोग, शरीरको खटिरा, दम, गानो गोला बाथ, चर्मलगायतको रोगबाट ग्रसित बिरामीहरूले नुहाएर स्वास्थ्यलाभको महसुस गर्ने गरेका थिए । 

तातोपानीलाई भूकम्पको कम्पनले गुमाइदिएपछि धार्मिक तथा जैविक विविधतामा समेत ठूलो प्रभाव पुऱ्याएको छ । 
जिल्लाको पहिचान, वार्षिक हजारौँ पर्यटन डोऱ्याउने स्थलमा पुनः पानी आएपछि अब संरक्षणमा एकजुट भई लाग्नुपर्ने भनाइ आएको छ । 

तातोपानी कुण्डमा नुहाउन स्वदेशी मात्र नभएर चीनलगायतका विभिन्न राष्ट्रका पर्यटनहरूको आकर्षक गन्तव्य बनेको थियो । 

दुई हजार ६ सय ४५ मिटरको उचाइमा अवस्थित तातोपानीको कुण्डलाई भूकम्पको कम्पनले पुऱ्याएको क्षतिपश्चात् पुनः पहिलेको अवस्थामा फर्किएको हुँदा पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने जानकारहरू बताउँछन् ।