१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका म्याग्दी
२o८१ बैशाख २० बिहीबार o८:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुस्ताङको ढी खोलाको तातोपानी मुहान संरक्षणकाे पर्खाइमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४२:oo

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका– ४ ढी खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन, अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढी खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढी खोलाको तातोपानी खेर गइरहेको बताए । 

‘चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो,’ उनले भने, ‘तातोपानीलाई व्यवस्थित रूपमा उपभोग गर्न सक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो ।’ मुहानको तातोपानीलाई नजिकै स्नान गृह र पोखरी बनाएर प्रयोगमा ल्याउन पहल गरिए पनि अनुसन्धान तथा प्रविधिमा पहुँच नपुग्दा सफल हुन नसकेकामा पूर्ववडाअध्यक्ष गुरुङले चिन्ता व्यक्त गरे । 

खोंचभित्र पहाडबाट तातोपानीको फोहाेरा निस्कने गर्छ । बर्खामा तातोपानीको फोहोराभन्दा माथि खोलाको सतह पुग्छ । हिउँदमा खोलामा हिँडेर करिब ५० डिग्री सेल्सियस तातोपानीको फोहाेरा निस्कने ठाउँसम्म सहजै पुग्न सकिने लो–घेकर दामोदरकुण्ड गाउँपालिका– ४ ताङ्ग्या गाउँका पासाङ छिरिङ गुरुङले बताए ।  

‘पाइपबाट जस्तै पहाडको प्वालबाट निस्कने तातोपानीको फोहाेराले मानिसलाई ढलाउला झैँ गर्छ,’ उनले भने, ‘मुहानबाट आएको तातोपानी मिसिएको खोलामा स्नान गर्न सकिन्छ ।’ तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ । बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि ढी गाउँमा पुगिन्छ । ढी गाउँदेखि ३० मिनेट पैदल हिँडेर तातोपानीको मुहानमा पुग्न सकिन्छ । साबिक सुर्खाङ गाविसको भूगोलमा रहेको यो तातोपानीको मुहान नजिकै सुर्खाङ, ढी, यारा र घारा गाउँ छन् । 

उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकका लागि ढी खोलाको तातोपानी नयाँ आकर्षण बन्न सक्ने सम्भावना छ । दिगो रूपमा बाह्रै महिना नियमित तातोपानीलाई प्रयोगमा ल्याउने आधार पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता रहेको पूर्ववडाध्यक्ष गुरुङले बताए ।  

स्थानीयवासीका अनुसार मुस्ताङको पूर्वराजपरिवारका सदस्य स्नानका लागि ढी खोलामा आउने गर्दथे । उनीहरूले मुहाननजिकै स्नानका लागि आउनेहरूका लागि आश्रयस्थल बनाइदिएका थिए । स्थानीयवासीहरू हिउँदयाममा ढी खोलाको तातोपानी नुहाउन जान्छन् । व्यवस्थित हुन नसकेकाले पर्यटक भित्र्याउन सकिएको छैन । गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले ढी खोलाको तातोपानीलाई व्यवस्थित गर्न पहल गरिने बताए ।  
 

ad
ad