१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

क्यानडाका लागि राजदूत पौड्यालले बुझाए ओहोदाको प्रमाणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:४१:oo

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले गभर्नर जनरल तथा क्यानडाका कमान्डर इन चिफ मेरी जे सिमोनसमक्ष बुधबार ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । रिडेउ हलमा आयोजित विशेष समारोहमा पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश पनि सुनाएका छन् । 

प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरल सिमोनसँगको शिष्टाचार कुराकानीमा राजदूत पौड्यालले दुई देशको मैत्रीपूर्ण सम्बन्धप्रति नेपाल सरकारको प्रसन्नता व्यक्त गरेका थिए । उनले लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकासका प्रयास अघि बढाउने नेपालको प्राथमिकता सुनाएका थिए ।

राजदूत पौड्यालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न तथा दुई वर्षपछि अति कम विकसित मुलुकबाट विकासशीलको हैसियतमा सहज र दिगो स्तरोन्नतिका लागि नेपालले गरेका प्रयासबारे पनि जानकारी गराएको नेपाली राजदूतावासले जनाएको छ । यसैगरी राजदूत पौड्यालले नेपाललाई आवश्यक परेको समयमा क्यानडाले पुर्‍याउँदै आएको सहयोगको सराहना गरेका थिए । राजदूत पौड्यालले क्यानडा सरकार, निजी क्षेत्रलगायतसँग द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, जनस्तरको सम्बन्ध अभिवृद्धि तथा पारस्परिक लाभदायी आर्थिक साझेदारी वृद्धि गर्न निकटबाट सहकार्य गर्ने प्रतिबद्धता पनि सुनाएका थिए ।

गभर्नर जनरल सिमोनले नेपालसँगको सम्बन्ध थप सुदृढ गर्न क्यानडा सरकारको पूर्ण सहयोगको वचन दिएकी छिन् । नेपालका पूर्वपरराष्ट्रसचिवसमेत रहेका राजदूत पौड्यालको सफल कार्यकालका लागि उनले शुभकामना व्यक्त गरेको नेपाली राजदूतावासले विज्ञप्तिमा जनाएको छ । उक्त समारोहमा क्यानडा सरकारका उच्च अधिकारी, नेपाली राजदूतावासका कर्मचारी तथा राजदूत पौड्यालको परिवारका सदस्य उपस्थित थिए । 
 

ad
ad