१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७७ असोज २ शुक्रबार ०८:५५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चाडपर्वमा कोरोनाको जोखिम

डाक्टरको सल्लाह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ असोज २ शुक्रबार ०८:५५:००

  डा.आवेश कोइराला कान्तिपुर अस्पताल

दसैँ र तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा कोरोना संक्रमणको जोखिम पनि बढेको छ । जनजीवन सामान्य बनाउन लकडाउन अन्त्य गरिए पनि भिडभाड बढ्दै जाँदा संक्रमण पनि बढिरहेको छ ।

पछिल्लो समय संक्रमणको डरभन्दा पनि संक्रमणका कारण निम्त्याएको असामान्य परिस्थितिले समस्या बढ्दै गएको पाइन्छ । संक्रमणसम्बन्धी त्रास फैलिनु र व्यक्तिपिच्छे फरक धारणा हुनुले पनि महामारीलाई बढावा दिइरहेको पाइन्छ । 

कोरोनाबाट बच्न मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने र बारम्बार हात धुने अनिवार्य रूपमा गर्नुपर्छ । तर, संक्रमण बढ्दै जाँदासमेत यसलाई बेवास्ता गरिएको पाइन्छ । भिडभाड गरेर चाडपर्व मनाउने प्रवृत्तिका कारण महामारीले जटिल समस्या निम्त्याउन सक्छ ।

हामीकहाँ आफन्त र साथीहरूबीचमा असुरक्षित भइँदैन भन्ने धारणा छ, जसले गर्दा समुदायस्तरमा कोरोनाको संक्रमण दिनानुदिन बढिरहेको छ । सामान्य सावधानी अपनाउँदा जोखिमबाट बच्न सकिन्छ ।

कोभिड संक्रमणले प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा बढी असर पुर्‍याउने भएकाले परिवार र समुदायलाई

बचाउनसमेत सबैले अनिवार्य रूपमा सावधानी अपनाउन आवश्यक छ । पछिल्लो समय दैनिक कम्तीमा एक हजारजना संक्रमित थपिँदै गएका छन् । यदि यही मात्रामा संक्रमितको संख्या बढ्दै जाने हो भने छोटो समयमै सर्वत्र संक्रमण फैलिने सम्भावना देखिन्छ । चाडपर्वमा भिडभाड गर्ने र सावधानी नअपनाउने जस्ता कारणले संक्रमणको जोखिम बढ्छ । दसैँ र तिहारजस्ता चाडपर्वमा आफन्त भेला भए पनि परिवारका सदस्य मात्रै बसेर मनाउनु राम्रो हुन्छ । 

चीनमा गरिएको एक अध्ययनअनुसार संक्रमण तीव्र रूपमा फैलनुमा पारिवारिक जमघट मुख्य कारण रहेको पाइएको थियो । साथीभाइ र आफन्त भेट्दा कोरोना संक्रमण सर्दैन अर्थात् आफन्त भेट्दा, मास्क नलगाउँदा केही हुँदैन भन्ने धारणाले परिवारमा वृद्धवृद्धा, सुत्केरी, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भइरहेका हुन्छन् । तसर्थ, चाडपर्व सकेसम्म आफ्नै घरमा बसेर मनाउनुपर्छ ।

अनावश्यक रूपमा भिडभाड गरेर रोग निम्त्याउनुभन्दा सचेत भएर बस्नु उपयुक्त हुन्छ । संक्रमण हुँदा आत्तिने गर्नुहुँदैन । सामान्यतः उचित हेरचाह र उपचारबाट कोरोना संक्रमण सजिलै निको पार्न सकिन्छ । तर, प्रतिरोधी क्षमता कम भएका व्यक्ति र दीर्घरोगीमा समस्या निम्त्याउने र स्वस्थ व्यक्तिमा पनि अन्य समस्याका कारण बन्न सक्ने हुँदा समयमै सचेत हुन आवश्यक हुन्छ ।