१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ भदौ ३१ बुधबार १४:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पत्रिका समाचार प्रभाव : बन्धक दलितदम्पती अस्पतालबाट मुक्त 

Read Time : > 1 मिनेट
२०७७ भदौ ३१ बुधबार १४:२७:००

उपचारको बिल तिर्न नसकेर दुई महिनादेखि अस्पतालमा बन्धक दलितदम्पती मुक्त भएका छन् । सप्तरीको महुली गाउँका शिवचन्द्र सदा र मिलियादेवी सदालाई गत साउन ५ मा छिमेकीले निर्घात कुटेका थिए ।

बाँसको भाटाले प्रहार गर्दा शिवचन्द्रको टाउको फुटेको थियो भने श्रीमती पनि गम्भीर घाइते भएकी थिइन् । उनीहरू अस्पतालमा बन्धक भएको, तर स्थानीय तह, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयले न्यायका लागि आश्वासन दिएर झुलाएको विषयमा नयाँ पत्रिकाले बुधबार कभरस्टोरी छापेको थियो । 

सदालाई बन्धनमुक्त गरिएको जानकारी प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जनाएका छन् । ‘शिवचन्द्र सदा र मिलियादेवी बन्धनमुक्त, उनीहरूलाई ल्याउन एम्बुलेन्स पठाइएको थियो । यो विषय उठाउनुभएकोमा सबैलाई धन्यवाद,’ उनले ट्विट गरेका छन् । 

झाले गत बिहीबार प्रदेश सरकारले उनीहरुकाे सहयाेगार्थ डेढ लाख रुपैयाँ दिने निर्णय गरे पनि निर्णय प्रमाणीकरण नभएका कारण चेक बन्न नसकेकाे बताए । 'आज नयाँ पत्रिकामा समाचार आएपछि तत्काल अस्पतालमा फाेन गरें,' उनले भने, 'पैसाकाे जिम्मा मैले लिएर तत्काल घर पठाउने व्यवस्था मिलाएकाे हुँ ।'

त्यस्तै, प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले पनि सदादम्पती बन्धनमुक्त भएको बताए । ‘उपचार खर्च तिर्न नसकेर कोही पनि अस्पतालमा बन्धक हुनु अन्यायपूर्ण हो, खेदजनक हो, हामीले पहल गरेका थियौँ, उनीहरू बन्धनमुक्त भएका छन्,’ उनले नयाँ पत्रिकासँग भने । त्यस्तै, मोरङका सिडिओ कोषहरि निरौलाले पनि सदादम्पतीलाई मुक्त गर्न आज बिहानैदेखि पहल अघि बढाएको र अहिले मुक्त गरिएको बताए । 

सप्तरीको महुलीमा दुई महिनाअघि निर्घात कुटिएका थिए दलितदम्पती । उनीहरूलाई कुट्ने तारेखमा छुटेका छन् र समाजमा छाती फुलाएर हिँडिरहेका छन् । कुटाइ खानेहरू भने दुई महिनादेखि विराटनगरको गोल्डेन हस्पिटलमा थिए, किनकि घाउचोटको उपचारको पैसा तिर्न नसकेको भनेर अस्पतालले बन्धक बनाएको थियो । विपन्न र बेखर्ची सदादम्पती अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाइरहेका थिए । 

याे पनि पढ्नुहाेस्

अस्पतालमा बन्धक दम्पती : के यो देशको न्याय, कानुन र सरकारले यी दम्पतीसँग आँखा जुधाउन सक्छ ? (भिडियो रिपोर्टसहित)