१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २६ शुक्रबार १९:१४:००
Read Time : < 1 मिनेट
समाचार

सर्वोच्च अदालतद्वारा सेवा सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २६ शुक्रबार १९:१४:००

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका सेवाग्राहीलाई सेवा दिन सुरु गरेको छ । बिहीबार निषेधाज्ञा खुकुलो भएसँगै अदालतले म्याद तथा तारेखका लागि ३० दिनभित्र अदालतमा उपस्थित हुन सूचना निकालेको हो । 

‘निषेध आदेश खुकुलो भई जोर–बिजोर प्रणालीमा सार्वजनिक यातायातका साधन सञ्चालन हुने भएकाले यस अदालतमा हद म्याद, म्याद र तारिखमा उपस्थित हुनुपर्ने अवस्थाका काठमाडौं उपत्यकाभित्रका सेवाग्राहीहरू बाटोको म्यादबाहेक ३० दिनभित्र उपस्थित हुने,’ सूचनामा भनिएको छ । बिहीबारबाट म्याद र तारेख लिने, मुद्दा दर्ताजस्ता कार्य भए पनि आइतबारबाट अन्य सेवासमेत दिने सर्वोच्चले जनाएको छ । 

आइतबारबाट सबै किसिमका रिट निवेदन लिने, प्रारम्भिक सुनुवाइ गर्ने, अन्तरिम आदेशबारे छलफल, मुद्दा फिर्ता, मिलापत्रजस्ता कार्य सुरु गरिने सूचनामा उल्लेख छ । तर, यो सेवा अदालतसम्म पुग्न सकेका सेवाग्राहीका लागि मात्र हुने, अन्य जिल्लाका हकमा अनिवार्य नभएको सर्वोच्चको सूचनामा उल्लेख छ । ‘अन्तरजिल्ला सार्वजनिक यातायातको साधन तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुने निर्णय भई सेवा सञ्चालनमा आएपछि सोही मितिबाट अदालतमा हदम्याद, म्याद, तारिखमा उपस्थित हुनुपर्ने अवस्थाका सेवाग्राहीले बाटोका म्यादबाहेक ३० दिनभित्र उपस्थित हुने,’ सूचनामा भनिएको छ । अहिले उपत्यकाभित्र सवारीसाधन चले पनि बाहिरबाट सेवाग्राही आउन सक्ने अवस्था नरहेका कारण यो व्यवस्था गरिएको हो ।

१५ जेठमा सर्वोच्चले महामारी कानुनको अभावका कारण यस समयमा न्यायिक निकाय सञ्चालनबारे रहेको अन्योललाई आफैँले आदेशमार्फत निकास दिएको थियो । जसअनुसार सरकारले लकडाउन गरेको अवधिलाई शून्य समय मान्ने र पूर्ण रूपमा यातायातका साधन खुलेपछि म्याद, हदम्याद र तारिख लिन ३० दिनको समय दिने उल्लेख गरेको थियो ।