मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ २३ मंगलबार
  • Wednesday, 09 July, 2025
धर्मेन्द्र झा
२o७७ भदौ २३ मंगलबार o९:४९:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेस महाधिवेशन सन्दर्भमा मधेस मुद्दा

Read Time : > 4 मिनेट
धर्मेन्द्र झा
नयाँ पत्रिका
२o७७ भदौ २३ मंगलबार o९:४९:oo

मधेसका प्रतिनिधिले मधेसमैत्री कांग्रेस निर्माण गर्न भूमिका निर्वाह गर्ने कि यथास्थितिमै चित्त बुझाउने ?

मधेसमा एउटा प्रश्न बारम्बार उठ्ने गर्छ– नेपाली कांग्रेसलाई सत्तामा पुर्‍याउन मधेसको भूमिका महत्वपूर्ण रह्यो, तर मधेसले त्यसबापत के पायो त ? उत्तर सहज छैन । कांग्रेसका नेताका लागि पनि यो कठिन प्रश्न हो । कांग्रेस पार्टीमा १४औँ महाधिवेशनको राप–ताप अनुभव गरिरहिएको वर्तमानमा मधेस मुद्दाले एकपटक पुनः आकार ग्रहण गर्ने प्रयास गरिरहेको छ । निश्चय पनि अहिलेको अवस्थामा कांग्रेसको सर्वाधिक ठूलो र महत्वपूर्ण मुद्दामध्येको एक हो– मधेस सम्बोधन । विगतमा मधेस कांग्रेसको आधार क्षेत्र रहिआएको विदितै छ । यति मात्र होइन, यहाँको सामाजिक–सांस्कृतिक–राजनीतिक जीवनको एक अभिन्न अंगका रूपमा पनि कांग्रेसलाई स्वीकार गरिँदै आइएको हो । अहिले कांग्रेसका लागि मधेस त्यति सहज छैन ।

पछिल्लो समयमा नयाँ संविधानलाई मधेसले पूर्ण रूपमा स्वीकार गर्न नसकेको र संविधान निर्माणप्रति भावनात्मक रूपमा स्वामित्वसमेत ग्रहण गर्न नसकेको अवस्थामा भएको संघ, प्रदेश र स्थानीय तीनै तहको निर्वाचनमा कांग्रेसको भूमिकालाई मधेसले सकारात्मक रूपमा ग्रहण गरेन । फलतः तीनवटै तहका लागि कांग्रेसले मधेसमा जनमत जुटाउन सकेन । तत्कालीन पार्टी अध्यक्ष सुशील कोइरालाको मृत्युलगत्तै सम्पन्न तेह्रौँ महाधिवेशन एक किसिमले शोकमा डुबेको थियो । त्यसबखत मधेसका मुद्दा खासै चर्चामा आएनन् । त्यसपछिका दिनमा संविधान कार्यान्वयनको प्रक्रिया प्रारम्भ भयो । तीनै तहका निर्वाचन सम्पन्न भए । कांग्रेस कमजोर प्रतिपक्ष बन्यो । पार्टीमा गुट–उपगुट झांगिए । यी अवस्थाको प्रभाव कांग्रेसको १४औँ महाधिवेशनमा पर्ने निश्चितप्रायः छ र कांग्रेसको नेतृत्व तहमा पुग्ने आकांक्षीका लागि मधेस एकपटक पुनः ‘आवश्यक वस्तु’ बन्नेछ । यस सम्बन्धमा केही प्रश्नको उत्तरका सन्दर्भमा छलफल अपेक्षित छ ।

कांग्रेसको सभापति मधेसी किन बन्न सकेनन् ? : कांग्रेसको ७३ वर्षको इतिहासमा कांग्रेसको मूल जनाधार क्षेत्र मधेसका कोही पनि यसको शीर्ष नेतृत्वमा पुग्न सकेनन् । प्रश्न उठ्छ, किन ? पुग्न सकेनन् वा पुग्न दिइएन वा पुर्‍याइएन ? यस प्रश्नको सम्भावित उत्तर सामान्यतया तीनवटा हुन सक्छन् । पहिलो, मधेसीहरू सक्षम र प्रतिस्पर्धी नभएर । दोस्रो, मधेसीमाथि विश्वास नगरेर । तेसो, पार्टीमा सधैं नै एक खास वर्गको हालीमुहाली भएकाले । निश्चय पनि यसको विवेचना हुनु आवश्यक छ । जबसम्म यस प्रश्नको उत्तर खोज्ने प्रयत्न हुँदैन र यथोचित सम्बोधनको रणनीति अख्तियार गरिँदैन, मधेसमा कांग्रेसको संगठनले पुनर्जागरण प्राप्त गर्नु कठिन छ । मधेसमा पार्टी सभापतिका लागि योग्य र क्षमतावान् व्यक्ति हुँदै नभएका होइनन्, तर तिनले उचित अवसर पाउन सकेनन् भन्दा अतिशयोक्ति हुँदैन । कांग्रेस र मधेसको विगत कोट्याउँदा वेदानन्द झा, भद्रकाली मिश्र, महेन्द्रनारायण निधि, रामचन्द्र मिश्र, रामजनम तिवारी, गजेन्द्रनारायण सिंह, परशुनारायण चौधरी, महन्थ ठाकुरलगायत अन्य थुप्रै व्यक्तिको नाम लिन सकिन्छ, जो नेतृत्वका लागि योग्य रहँदारहँदै पनि तिनले समुचित अवसर पाउन सकेनन् ।

कांग्रेस र मधेसको विगत कोट्याउँदा वेदानन्द झा, भद्रकाली मिश्र, महेन्द्रनारायण निधि, रामचन्द्र मिश्र, रामजनम तिवारी, गजेन्द्रनारायण सिंह, परशुनारायण चौधरी, महन्थ ठाकुरलगायत अन्य थुप्रै व्यक्तिको नाम लिन सकिन्छ, जो नेतृत्वका लागि योग्य रहँदारहँदै पनि तिनले समुचित अवसर पाउन सकेनन् ।

यस्ता व्यक्तिमध्ये कतिपयले महामन्त्रीसम्म हुने अवसर त पाए, तर सायद तिनीहरूमध्ये कोही पनि सभापतिका लागि योग्य ठानिएनन् । यस्तोमा मधेस एकतर्फी रूपमा कांग्रेससँग कसरी र कहिलेसम्म ‘निकटता’को सम्बन्धमा आबद्ध रहन्छ ? मधेसमा नेपाली कांग्रेसको मूल संगठनको श्रेय महामानव बिपी कोइरालालाई जान्छ । यो सत्य हो । तर, के कारण हो बिपीकै जीवनकालमा मधेसी मूलका नाम चलेका नेताहरू कांग्रेसबाट बाहिरिन बाध्य भए ? के कांग्रेसले कहिल्यै यसको समुचित उत्तर खोजीको प्रयत्न गरेको छ ? कांग्रेस पार्टीमा गुट–उपगुटको अस्तित्व सधैं नै रहिआएको छ । माथिको प्रश्नका सन्दर्भमा पनि त्यही गुट–उपगुटलाई कारणका रूपमा प्रस्तुत गर्ने र पञ्चायतसँग समर्पण गरेको भन्ने मनोगत उत्तर दिएर ‘डिफेम’ (छवि घुमिल्याउने)को रेडिमेड नीति सार्वजनिक गर्ने हो भने त केही भन्न सकिएन, तर मधेसमा संगठन पुनर्जागरणको इमानदार प्रयत्न गर्ने हो भने यी प्रश्नको उत्तरको खोजी अपेक्षित छ ।

संगठन पुनर्जागरणको सन्दर्भ : पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अबका मेरा १० एजेन्डा’ शीर्षकमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । उनले एजेन्डाको छैटाैं बुँदामा नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने र दसौँ बुँदामा नेपाली कांग्रेस विचारशून्य र दिशाविहीन छैन भन्ने साबित गर्ने कुरा उल्लेख गरेका छन् । निश्चय पनि यो विषय महत्वपूर्ण छ र कांग्रेसको संगठन पुनर्जागरणसँग सम्बन्धित छ । के यति भनेर मात्र जिम्मेवारी पूरा हुन्छ त ? निश्चय पनि यससँग सम्बन्धित कार्ययोजना पौडेलसँग होलान् । मधेसका जनतामा कांग्रेसप्रति नयाँ ढंगले विश्वास जगाउने कार्यक्रम आवश्यक छ । संगठन विस्तारका विविध प्रयासका अतिरिक्त कांग्रेस पृष्ठभूमिका पुराना स्थापित र गैरकम्युनिस्ट चरित्रका व्यक्तित्वलाई समेट्ने रणनीति कार्यान्वयन आवश्यक छ । विजय गच्छदार रध सुनील थापाजस्ता व्यक्तिलाई संगठित गरिसकेको अवस्थामा कांग्रेससँग लामो र महत्वपूर्ण सम्बन्ध भएका जेपी गुप्ता, ०६२/६३ को जनआन्दोलनमा सात दलमध्ये एकको नेतृत्वकर्ता भरतविमल यादव, विगतमा नेपाल सद्भावना पार्टीका नेता देवेन्द्र मिश्रजस्ता गैरकम्युनिस्ट व्यक्तित्वहरूसँग सम्बन्ध सुधारका पक्षमा वार्ताको पहल किन नगर्ने ? यी प्रयासले कांग्रेसलाई मधेसमा स्थापित गर्न निश्चय पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ ।

मधेसका सन्दर्भमा ‘एजेन्डाविहीन’ कांग्रेस : कतिपय विश्लेषकका अनुसार कांग्रेस मधेसका सन्दर्भमा अहिले पूर्णतः ‘एजेन्डाविहीन’ छ । निश्चय पनि कांगे्रससँग मधेसका सन्दर्भमा कुनै ठोस योजना छैन । अहिले कांग्रेस सरकारमा छैन, कमजोर प्रतिपक्षका रूपमा प्रस्तुत छ । तर, विगतमा लामो समयसम्म सत्तामा रहँदा पनि कांगे्रसले मधेसले अनुभूत गर्न सक्ने गरी खासै केही गर्न नसकेको यथार्थ कसैबाट लुकेको छैन । मधेसको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय ओरालो लाग्नुलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ । मधेसका उद्योग कालकारखाना बन्द हुनु र नयाँ स्थापित हुन नसक्नु, रोजगारीका अवसर वृद्धि हुन नसक्नुजस्ता विषय निश्चय पनि बहसका विषय हुन् । कहाँसम्म भने विगतका निर्वाचनका सन्दर्भमा तयार पारिएका घोषणापत्रमा समेटिएका मधेसका मुद्दा पनि प्रायः कांग्रेस नेतृत्वका लागि विस्मृतिमा रहन बाध्य भए । शिक्षा, स्वास्थ्य, मानवअधिकारजस्ता विषयमा पछौटेपनको अनुभूति सँगाल्न बाध्य मधेसको समग्र विकासको विषयलाई कांग्रेसले एजेन्डा बनाउन नसकेकोमा मधेसवासीहरू असन्तुष्ट हुनुलाई अस्वाभाविक मान्न मिल्दैन ।

पुरानो पुस्तामा सीमित : कांग्रेस आफ्ना कार्यकर्ताको मूल्यांकन दुई आधारमा मात्र गर्छ । पहिलो, सम्बन्धित कार्यकर्ता नेताहरूको ‘आसपास’ घुम्छ कि घुम्दैन र दोस्रो, कार्यकर्ता कुन पुस्ताको हो ? प्रायः के देखिएको छ भने पहिलो पुस्ताको कार्यकर्तालाई केही अपवादबाहेक नेतृत्वले ‘भाउ’ दिँदैन । प्रायः पहिलो वा युवा पुस्ताका कार्यकर्तालाई उसको योग्यता र क्षमताभन्दा पनि पुरानो पुस्तासँगको नाता सम्बन्धका आधारमा नेतृत्वले चिन्न खोज्छ । कांग्रेस मधेसमा यस रोगबाट सर्वाधिक प्रभावित छ । यही कारण हो, आज मधेसमा कांगे्रससँग युवा पुस्ताका कार्यकर्ताको नितान्त अभाव छ । हो, युवा पुस्ता कांग्रेसप्रति आकर्षित हुन नसक्नुमा अनेक कारण हुन सक्छन् । माथि उल्लेख गरिएको विषय निश्चय पनि एक महत्वपूर्ण कारण हो । यस कारणको प्रभाव कुनै पनि तहको निर्वाचनमा उम्मेदवार बनाउने र पार्टीसँग जोडिएको कुनै अवसर प्रदान गर्ने कुरामा पनि परेको अनुभूत गर्ने गरिएको छ ।

मधेसमा लोकतान्त्रिक समाजवादको मुद्दा : मूल मुद्दा हो लोकतन्त्रको । नेपाली कांग्रेसको सैद्धान्तिक आधार लोकतान्त्रिक समाजवाद हो । मधेसलाई नयाँ ढंगले कांग्रेससँग आबद्ध गर्ने सन्दर्भमा यो मुद्दा निकै महत्वपूर्ण छ । मधेसका अधिकांश जनता लोकतन्त्रवादी हुन्, यसमा शंका छैन । कांग्रेस भावनात्मक रूपमा जनस्तरमा लोकतन्त्रको प्रत्याभूति गर्न अक्षम साबित हुँदै गएको बुझाइपछि मधेसीहरूले वैकल्पिक शक्तिको खोजी गरेका हुन् । अहिले पनि कांग्रेस लोकतन्त्रको ‘च्याम्पियन’ हो भन्ने कुरामा विश्वास दिलाउन सकिए मधेसका जनता पुनः कांग्रेससँगै नजिकिने कुरामा दुर्ई मत हुन सक्दैन ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्यात्मक विश्लेषण गर्ने हो भने सबभन्दा धेरै सहभागिता मधेसबाटै हुने निश्चित छ । तर, के कारण हो, अत्यधिक संख्याका सहभागीले कांग्रेसको नीति–निर्माण र कार्यान्वयनमा निर्णायक भूमिका निर्वाह गर्न सक्दैनन् ? यसपटक पुनः अवसर छ, मधेसका प्रतिनिधिले मधेसमैत्री कांग्रेस निर्माण गर्न भूमिका निर्वाह गर्ने कि यथास्थितिमै चित्त बुझाउने ?