मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १३ बिहीबार
  • Saturday, 23 November, 2024
धर्मेन्द्र झा
२o७८ माघ १३ बिहीबार o६:३८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गजेन्द्रको आदर्श र ‘सदभावना’को खोजी

गजेन्द्रनारायण सिंह अधिकारवादी आन्दोलनका प्रणेता मात्र नभई समतामूलक समाज निर्माणको आन्दोलनका एक प्रखर अभियन्ता पनि हुन्

Read Time : > 4 मिनेट
धर्मेन्द्र झा
नयाँ पत्रिका
२o७८ माघ १३ बिहीबार o६:३८:oo

नेपालमा विशेषगरी मधेसमा अधिकार, पहिचान र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने मात्र नभई यिनै आधारमा सामाजिक र राजनीतिक आन्दोलनको नेतृत्व गर्ने एक राजनेताको नाम हो, गजेन्द्रनारायण सिंह । उनै सिंहको यही गएको सोमबार अर्थात् १० माघमा बीसौँ स्मृति दिवस परेको थियो । कोरोना संक्रमणका कारण पनि हुन सक्छ, सिंहको स्मृति दिवस मनाउने सन्दर्भमा कन्जुस्याइँ गरेको अनुभव गरियो । सिंह तिनै नेता हुन्, जसले रोपेको मधेस अधिकारको वृक्षको फल अहिले अनेकथरी नेताले मिठो मान्दै रसास्वादन गरिरहेका छन् । त्यसो त, यस प्रवृत्तिलाई वर्तमान सत्ता राजनीतिको सेरोफेरोमा अस्वाभाविक भन्न नमिल्ला, तर सिंहले देखेको अधिकारसम्पन्न समग्र नेपालको सपनाको यात्रा कहाँ पुग्यो भन्ने सम्बन्धमा भने चर्चा–परिचर्चा अपरिहार्य छ भन्दा अस्वाभाविक हुँदैन । 

सम्भवतः सिंह नै पहिलो यस्तो नेता हुन्, जसले मेचीदेखि महाकालीसम्मको मधेसलाई भावनात्मक रूपमा जोड्ने प्रयत्न गरे र यस क्षेत्रमा बसोवास गर्ने नागरिकको अधिकारका पक्षमा आवाज बुलन्द गरे । त्यसो त मधेसको सन्दर्भमा आवाज उठाउने सिंह नै पहिलो होइनन् । इतिहासको अध्ययन गर्दै गएका खण्डमा वेदानन्द झा, भद्रकाली मिश्र, रामजनम तिवारी, रामचन्द्र मिश्रजस्ता अनेक नेताको नाम लिन सकिन्छ, जसले मधेसको पहिचान र अधिकारको नाममा आफ्नो राजनीतिलाई केन्द्रित गरे । तर, गजेन्द्रनारायण सिंह खास थिए, जसले आफ्नो राजनीतिक अभियानलाई सशक्ततापूर्वक निरन्तरता मात्र दिएनन्, बरु राज्यलाई मधेसका सन्दर्भमा सोच्न बाध्य पनि बनाए । 

भर्खरै केही दिनअघिको कुरा हो, सप्तरीदेखि पर्सासम्मको आठ जिल्लाको मधेसले आधिकारिक रूपमा प्रदेशको दर्जा पाएको छ । मधेसको भूमिमा मधेसको नाममा राजनीति गर्नेहरूले विगतमा २२ जिल्लालाई मधेसको पहिचान दिलाउने सन्दर्भमा आन्दोलन गरेको र थुप्रैले सहादत प्राप्त गरेको कसैबाट लुकेको छैन । यस अर्थमा मधेसको राजनीति तत्काललाई सफल भयो कि भएन ? यो विश्लेषणको फरक पाटो हुन सक्छ, तर राज्यले सानै स्वरूपमा भए पनि मधेसलाई स्वीकार गरेको कुरा विगतमा यसै नाममा आन्दोलन गर्नेहरूका लागि निश्चय पनि सन्तोषको विषय हुन सक्छ । यो अलग कुरा हो कि आठ जिल्लाको मधेसको मूल पहिचानका सम्बन्धमा अनेक तवरबाट प्रश्नचिह्न तेस्र्याइएका छन् । यसलाई मधेस प्रदेश बनाइएपछि एकातिर समग्र मधेसको आन्दोलन कमजोर भएको मानिएको छ भने अर्कातिर मिथिला र भोजपुराको पहिचान संकटमा परेको भन्नेहरूको कमी छैन । यस्तोमा एउटा प्रश्न उठ्छ, सिंह अहिले जीवित रहेको भए यो सन्दर्भ उनका लागि खुसीको हुन्थ्यो कि दुःखको ?

सायद सिंहका लागि निश्चय पनि यो खुसीको कुरा हुने थिएन । त्यसो त मधेसका नाममा राजनीति गर्ने एकथरी उनका अनुयायी हालको मधेस प्रदेश सिंहकै योगदानको उपलब्धि हो भन्छन् । उनीहरूका अनुसार सिंहकै अजेन्डालाई आधार बनाएर मधेस प्रदेश जन्मिएको हो । तर, अर्काथरी उनका अनुयायीका अनुसार यतिले मात्र सिंहको सपना साकार भएको मानिनेछैन । आन्दोलनको निरन्तरता अझै पनि जरुरी छ । विश्लेषकका अनुसार सिंहले उठान गरेको मधेस अधिकारको मुद्दा अझै ज्युँकात्युँ छन् । विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘दलहरूले त अधिकार र पहिचानको मुद्दालाई सत्ताको भ¥याङ मात्रै बनाएका छन् ।’ उनका अनुसार अहिले मधेस अधिकारका लागि कुनै दल क्रियाशील छैनन् । उनी भन्छन्, ‘मधेस अधिकारका नाममा स्थापित दलहरू पनि बलियाकै कब्जामा परेर मुद्दा ओझेल परेको छ ।’

सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी बेवारिसे अवस्थामा छ । यो पार्टी अहिले कहाँ, कोसँग र कुन रूपमा छ, यकिन गर्न सकिने अवस्था छैन । सायद कुनै व्यक्तिको कब्जामा परेर यो पार्टी असान्दर्भिक बनिसकेको छ ।

सिंहका कथित अनुयायी, जसले जे भने पनि यतिखेरको सत्य भने चन्द्रकिशोरको भनाइसँग नजिक छ । सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी बेवारिसे अवस्थामा छ । यो पार्टी अहिले कहाँ, कोसँग कुन रूपमा छ भन्ने यकिन गर्न सकिने अवस्था छैन । सायद कुनै व्यक्तिको कब्जामा परेर यो पार्टी असन्दर्भिक बनिसकेको छ । उनको पार्टीको चुनावचिह्नको अवस्था पनि त्यस्तै छ । उनले बनाएको पार्टीको झन्डाको पनि कुनै महत्व छैन । सायद ती सबै कुरा अभिलेखीय महत्वका विषय बनिसके । 

सिंह स्वयंले स्थापना गरेको सद्भावना पार्टी, २०५८ माघ १० मा सिंहको निधनपश्चात्, कसले कब्जा गर्ने र उनको ‘असली’ उत्तराधिकारी घोषित हुने एकप्रकारको होडबाजी चलेको राजनीतिक रूपमा सचेत प्रत्येक नेपालीले देखेका छन् । यति मात्र होइन, स्वनेता बन्ने परिपाटीको विकास हुँदा पुरानो सद्भावना पार्टीको जग कुल्चेर अनेक नयाँ पार्टी बने, तर सद्भावनाको सद्भावलाई स्विकार्ने आँट कसैले देखाउन सकेनन् ।

यतिखेर अर्को प्रश्न पनि महत्वपूर्ण रूपमा उठ्ने गरेको छ, अहिले सिंहका राजनीतिक उत्तराधिकारी को हुन् ? उत्तर सहज छैन । केही मधेस विश्लेषक त भन्छन्, आजका दिनमा सिंहको राजनीतिक उत्तराधिकारी कोही पनि छैन । पार्टी र आदर्श नै नरहेपछि त्यस पार्टीका नामले स्थापित सिद्धान्त र दर्शनले निरन्तरता प्राप्त गर्न कति सहज हुन सक्छ ? वास्तवमा अहिले यही प्रश्नको उचित उत्तर प्राप्त गर्न नसक्दा मधेसी राजनीति एकप्रकारले दिग्भ्रमित हुन पुगेको छ भन्दा अस्वाभाविक हुँदैन । साँच्चै हो पनि, हिजो सिंह जीवित छँदा उनीबाट राजनीतिक दीक्षा प्राप्त गरेकाहरू पनि विगतको ‘शान्तिनगर’ र ‘सप्तरी सेवा आश्रम’को आदर्शलाई लत्याएर सिंहदरबारको ‘व्यावहारिक राजनीति’को मार्ग अख्तियार गर्न होडबाजी गरिरहेको सिंहदरबार र बालुवाटारका चौरमा स्पष्ट देख्न सकिन्छ ।  

वि.सं. १९८६ मा सप्तरीको कोइलाडीमा जन्मिएका सिंहलाई उनका अनुयायी मधेस अधिकारका ‘प्रणेता’ मान्छन् । मधेस मामिलाका जानकारहरूका अनुसार झन्डै आधा जनसंख्या ओगटेको समुदाय आफ्नै मुलुकको भूगोलभित्र तमाम भेदभाव, उत्पीडन र अधिकारबाट वञ्चित रहँदै आएको अवस्थामा सिंहले ‘मधेसी अधिकार’को सपना जगाइदिए । सम्भवतः राजनीतिमा यो नै सिंहको सर्वाधिक महत्वपूर्ण योगदान हो । सिंहले राखेको त्यही आधारशिलालाई टेकेर आज मधेसका नाममा राजनीति गर्नेहरूको संख्या दिनहुँ बढ्दो छ, तर स्वयं सिंहलाई सम्झने र उनको आदर्शको अनुसरण गर्नेमा भने तिनै नेताले कन्जुस्याइँ गर्नु उदेकलाग्दो छ । सिंहकै आदर्शलाई पछ्याएर अस्तित्वमा रहेका जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सोमबार सिंहको सम्झानालाई मात्र औपचारिकतामा सीमित गरे । केही सीमित व्यक्तिबीच सिंहको तस्बिर र सालिकमा माल्यार्पण त गरियो, तर उनको आदर्शलाई अनुसरण गर्ने र सामाजिक न्यायको मुद्दालाई कार्यान्वयन गर्ने विषयलाई ओझेलमा राखियो । यस कुराको पुष्टि मधेस प्रदेशमा रहेको सरकार र विगतदेखि वर्तमानसम्म संघीय सरकारको हिस्सा बन्दै आएका व्यक्ति र दलहरूको कार्यशैली र नीतिबाट पनि हुन्छ । 

२००७ सालदेखि २०३३ सालसम्म कांग्रेसमा सक्रिय रहेर प्रजातान्त्रिक आन्दोलनको इतिहासको हिस्सा बनेका स्वर्गीय सिंहले २०४० सालमा ‘नेपाल सद्भावना परिषद्’ नामक सामाजिक संस्था गठन गरे । परिषद्को उद्देश्य स्पष्ट थियो– नेपालको भूगोलभित्रै मधेसी समुदायमाथिको भेदभावको अन्त्य, पहिचान र नागरिक अधिकारसम्पन्न समतामूलक समाज निर्माण । बहुदलीय प्रजातन्त्र आएपछि २०४७ सालमा सिंहले सद्भावना परिषद्लाई सद्भावना पार्टीमा रूपान्तरण गरे । परिषद् स्थापनाका दिनदेखि नै सिंहले मधेसी समुदायमा अधिकारबारे चेतना जागृत गर्ने अभियान सञ्चालन गरेका हुन् । धेरैले अनेक रूपमा सिंहको मूल्यांकन गर्लान्, तर सिंह अधिकारवादी आन्दोलनका प्रणेता मात्र नभई समतामूलक समाज निर्माणको आन्दोलनका एक प्रखर अभियन्ता पनि हुन् ।  नेपालको राजनीतिमा मधेस, सामाजिक न्याय, समतामूलक समाज निर्माणलगायत सवालमा सिंहले गरेको वकालत र जीवनसंघर्ष अतुलनीय रहनेछ ।