
बाढीले लघुजलविद्युत् बगाउँदा संखुवासभाको उत्तरी विकट भोटखोला गाउँपालिका–१, किमाथांका चार दिनदेखि अन्धकार छ । गाउँका एक सय घरपरिवार टुकी र दियालोको भरमा छन् ।
खोङघोप्पा खोलामा रहेको ६० किलोवाटको किमाथांका लघुजलविद्युत् गत १८ जेठको बाढीले बगाएको भोटखोला गाउँपालिका–१, किमाथांकाका वडाध्यक्ष नर्बू च्याबाले बताए । बाढीले लघुजलविद्युत्को बाँध र मुहान बगाइदिएको छ । किमाथांकाका स्थानीय पासाङ छिरिङ लामाले दुर्गम ठाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली नहुँदा लघुजलविद्युत्को भरमा रहे पनि बाढीले बगाइदिएपछि समस्या थपिएको बताए । ‘मुहान र बाँध सबै बाढीले तहसनहस बनाएको छ । अब कहिले बन्छ थाहा छैन, यो बर्खा त टुकीमै बित्ला जस्तो छ,’ उनले भने, ‘आगो बालेर बेलुकी खाना खान्छौँ, अर्को विकल्प नै छैन ।’
बिजुली नहुँदा साँझ सबैभन्दा बढी समस्या पर्ने गरेको लामाले बताए । ‘घरायसी काम गर्न पनि समस्या हुन्छ, बालबालिका पढ्न पाउँदैनन् । मोबाइल चार्ज गर्नसमेत पाइँदैन,’ उनले भने, ‘सोलार भएका छिमेकीकोमा गएर मोबाइल चार्ज गर्नुपर्छ ।’
किमाथांका संखुवासभाको सबैभन्दा दुर्गम र विकट क्षेत्र हो । त्यहाँ एक सय पाँच घर छन् भने जनसंख्या पाँच सय ७९ मात्र छ । तीमध्ये तीन सयजना मात्र गाउँमा स्थायी रूपमा बसिरहेका छन् ।
किमाथांकालाई चीन जोड्ने नाका पनि बाढीपहिराका कारण अस्थायी रूपमा बन्द छ । किमाथांका स्थानीयलाई किनमेलका लागि सदरमुकाम खाँदबारी झर्नुभन्दा चीनको चाँगा, रियू र देङदाङ बजार जान सजिलो हुन्छ ।
बाढीपहिरोले संखुवासभाका ठाउँठाउँमा क्षति
बर्खाको सुरुवातमै बाढीपहिरोले संखुवासभाका ठाउँठाउँमा क्षति गरेको छ । बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ । बाढीका कारण खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ भने भोटखोला गाउँपालिकाको केन्द्र हटिया जोडने मुख्य बरुणको पुल निर्माण सम्पन्न नहुँदा समस्या भएको छ । बाढीले अस्थायी पुल बगाएपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
भोटखोला गाउँपालिकामा बुधबारको बाढीले पाँचवटा काठेपुल बगाएको छ । भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुईवटा काठेपुल बगाएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनका अनुसार बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङ खोलाको काठे पुल र तीनै वडा जोड्ने छोकाङखोला र माप्च्या खोलाको पुल पनि बगेको छ ।
स्थानीय खोङघोप्पा खोला, खाजुङमा खोला र छोक्राङ खोलाको काठे पुलसमेत बाढीले बगाएको छ । अविरल वर्षाले किमाथांका गाउँका विभिन्न ठाउँहरूमा पहिरो खसेको छ भने चारैतिर उच्च जोखिम बढेको छ । खर्क र जंगलको चरनमा रहेका धेरैवटा चौँरीसमेत हराइरहेको छन् । वर्षात् बिस्तारै रोकिँदै गएकाले हराएका चौरीको खोजी र बाढीपहिरोको क्षति संकलन केही दिनभित्र गरिने वडाध्यक्ष च्याबाको भनाइ छ ।
त्यस्तै, मकालु गाउँपालिका–२ मा पहिरोले स्थानीय फुनुर्बु शेर्पाको घर क्षतिग्रस्त बनाएको छ । शेर्पाको ढुंगा, माटो र काठले बनेको दुईतले घर पूर्ण रूपमा क्षति भएको हो । डिएसपी बस्नेतले बाढीपहिरोले एक सातामा विभिन्न ठाउँमा क्षति पु¥याएको र विवरण संकलन भइरहेको बताए ।