विश्वभर अहिले प्रेस स्वतन्त्रताबारे चर्चा चलिरहेको छ । प्रत्येक वर्ष ३ मेमा औपचारिक रूपमा विश्वभर यो दिवस मनाउने गरिए पनि ३ मेको आसपास दिनमा पनि यस दिवससँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने गरिएको छ । नेपालमा पनि मे ३ र ४ का दिन यस दिवससँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरिए । नामिबियाको विन्डहक सहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरूको सम्मेलनले ३ मेका दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई संयुक्त राष्ट्र संघको आह्वानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा विश्वभर मनाउन थालिएको हो ।
सरकारी स्तरबाट नमनाइए पनि गैरसरकारी स्तरबाट भने नेपालमा यो दिवस सन् १९९५ देखि नै मनाउन थालिएकोे हो । यसै दिवसको अवसर पारेर सञ्चार र पत्रकारितासँग सम्बन्धित विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गर्ने गरेका छन् र यो क्रम यसपटक पनि जारी रह्यो । यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष नारा तय गर्छ र वर्षभरि नै त्यो नारासँग सम्बन्धित गतिविधि स्वयंले पनि आयोजित गर्छ । उसले अन्य राज्य तथा नागरिक संघसंस्थालाई पनि बहसमा आधारित गतिविधि सञ्चालन गर्न प्रोत्साहित गर्छ ।
युनेस्कोले यस वर्ष २०२२ का लागि जर्नालिज्म अन्डर डिजिटल सिज भन्ने नारा तय गरेको छ । नेपाल पत्रकार महासंघले यसको अनुवाद प्रविधिको नियन्त्रणमा पत्रकारिता भनेर गरेको छ । यो विषय अर्थात् नारा स्वयंमा निकै महत्वपूूर्ण मात्र छैन, विगतको तुलनामा अर्थपूर्ण पनि छ । निश्चय पनि आजको पत्रकारिता प्रविधिबाट निर्देशित हुन बाध्य छ भन्दा अनुचित हुँदैन । विशेषगरी इन्टरनेटको विकास भएपछिका दिनमा सञ्चार र पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको छ र यसका राम्रा–नराम्रा दुवै प्रभाव यस क्षेत्रमा अनुभूत गरिएको छ भन्दा अतिशयोक्ति हुँदैन ।
युनेस्कोले यसपटकको नारामा ‘सिज’ भन्ने शब्द प्रयोग गरेको छ र यसको सोझो रूपमा नेपाली अनुवाद हुन्छ, कब्जा वा घेराबन्दी । एउटा कुरा निश्चित हो, यसपटकको नाराबाट युनेस्को पत्रकारितामा डिजिटल प्रविधिको बढ्दो प्रयोगका सम्बन्धमा गम्भीर छ भन्ने प्रमाणित भएको छ । हो, इन्टरनेटमा आधारित डिजिटल प्रविधिले पत्रकारिताका माध्यमलाई तीव्र बनाएको छ । प्रभावकारी पनि बनाउने प्रयत्न गरेको छ । आमव्यक्तिमा सूचनाको शीघ्र सम्प्रेषणलाई सहज बनाएको छ । पत्रकारितालाई व्यावसायिक पत्रकारका कित्ताबाट नागरिक पत्रकारिताका कित्तामा पुर्याउने काम गरेको छ । उल्लिखित सन्दर्भमध्ये कति विषय उचित र कति अनुचित हुन्, त्यसबारे बहस चल्दै गर्ला । तर, वर्तमान अवस्थाले दुइटा कुरा बडो गम्भीर ढंगले सोच्न उत्प्रेरित गरेको छ, त्यो हो पहिलो– पत्रकारिताको रचनात्मक (क्रिएटिभ) र विश्वसनीयताको पक्ष कमजोर बन्दै जानु र दोस्रो हो– डिजिटल प्रविधिको व्यवस्थापन र नियमनको बहानामा प्रेसमाथि राज्यको बढ्दो हस्तक्षेप ।
प्रविधिको प्रयोगले पत्रकारितालाई यति प्रतिस्पर्धी बनाएको छ कि आजको समयमा पत्रकारले कुनै पनि घटना र स्कुपलाई एकछिन पनि ‘होल्ड’ गर्न सक्दैन । एकजनाले होल्ड गरेछ भने पनि अर्को पत्रकारले त्यस्तो सूचना तत्काल सम्प्रेषण गर्छ । यसो गर्दा उसले सूचनाको सत्य स्थापित गर्न आवश्यक सम्पादकीय प्रक्रिया (एडिटोरियल प्रोसेस) र ‘गेट किपिग’को अवधारणालाई अनुसरण गर्न सकेको हुँदैन । यसले निश्चय पनि समाचारमा विश्वसनीयताको संकट निम्त्याउँछ ।
इन्टरनेटको विकास भएपछिका दिनमा सञ्चार र पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको छ र यसका राम्रा–नराम्रा दुवै प्रभाव अनुभूत गरिँदै छ
नेपालको सन्दर्भमा भन्ने हो भने यतिखेर यहाँका सञ्चारमाध्यमले विश्वसनीयताको संकट व्यहोर्न बाध्य हुनुपरेको छ र यसको एक मूल कारण यही डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धा हो । यही प्रतिस्पर्धाले कुनै सामग्रीलाई कसरी र कुन रूपमा प्रस्तुत गर्ने भन्ने रचनात्मकतालाई पनि प्रभावित गर्छ । उल्लिखित विषय हार्ड न्युज (घटना प्रधान समाचार) का सन्दर्भमा त पूरै लागू हुन्छन् । तर, पत्रकार सचेत र जिम्मेवार भयो भने सफ्ट न्युज (विषय वा प्रक्रिया प्रधान समाचार) का सन्दर्भमा भने पत्रकारिताको मौलिकता जोगिन सक्छ । पछिल्लो प्रकारको समाचारको आधार खोजी पत्रकारिता हो । यसमा ‘कारण’ र ‘परिणाम’को खोजी गर्नु आवश्यक हुन्छ भन्ने बुझाइका आधारमा पत्रकारको सक्रियता बढ्न सक्ने अपेक्षा गरिनु अनुचित हुँदैन । यसो भयो भने डिजिटल प्रविधि पत्रकारका लागि सहयोगी हुन सक्छ र पत्रकारको सक्रियताले पत्रकारिताको रचनात्मकता जोगिन सक्छ ।
आजको पत्रकारिता प्रविधिबाट यति बढी प्रभावित भइसक्यो कि मानिसले प्रतिस्पर्धा गर्न सक्ने सम्भावनाका सन्दर्भमा क्रमशः चुनौती थपिँदै छन् । आज पत्रकारितामा रोबोट र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग भइरहेको अवस्था छ । प्रविधिको यस हदसम्मको प्रयोगले पत्रकारितालाई क्रमशः परनिर्भरतातर्फ धकेलिरहेको छ भन्दा अस्वाभाविक हुँदैन । यस्तोमा पत्रकारिताको मौलिकतामाथि संकट निम्तिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । यसको एक मात्र उपाय हो, पत्रकारको स्वसक्रियता । पत्रकारले प्रविधि निर्देशित कन्टेन्ट (विषय) मा भर पर्नुको साटो आफूले कारण र परिणामको औजार प्रयोग गरेर खोजेको विषयलाई प्रविधिको सहयोगले थप सशक्त बनाउनु आवश्यक छ ।
यसै सन्दर्भमा डिजिटल प्रविधिले उत्पन्न गरेको प्रभावलाई व्यवस्थित र नियमन गर्ने नाममा पत्रकारिता क्षेत्रमा राज्यको हस्तक्षेप बढेको अनुभव गरिएको छ । हो, कतिपय सन्दर्भमा डिजिटल झमेलाले पक्कै पनि केही समस्या निम्त्याएका होलान् । तर, यसै आधारमा नियमनको सोच राख्दा स्वतन्त्र पत्रकारिताको अवधारणा प्रतिकूल रूपमा प्रभावित हुने अवस्थाप्रति राज्य अनभिज्ञ हुन मिल्दैन । नेपाल पनि यो अवस्थाको अपवाद छैन । नेपालमा विगतमा सरकारद्वारा डिजिटल प्रविधिको प्रयोगलाई देखाएर प्रेस स्वतन्त्रता नियन्त्रणको प्रयास भएको हो । सूचना प्रविधिसँग सम्बन्धित कनुन र निर्देशिका (बनेका र बन्ने प्रक्रियामा रहेका) यसैका नमुना हुन् भन्दा अन्यथा ठहर्दैन ।
माथिको पृष्ठभूमिका आधारमा युनेस्कोको नारा नेपालका सन्दर्भमा पनि सान्दर्भिक रहेकोमा दुई मत हुन सक्दैन । माथि उल्लेख गरिसकियो, वर्तमानमा व्यावसायिक पत्रकारिता र नागरिक पत्रकारिता गरी पत्रकारिता दुई कित्तामा विभाजित छ । यसलाई सम्भव बनाएको छ, इन्टरनेटमा आधारित डिजिटल प्रविधिले । इन्टरनेटको विकासपछि न्यु मिडिया (नयाँ मिडिया) निकै सशक्त ढंगले उपस्थित भएको छ । यसले सामाजिक सञ्जाल र अनलाइनको प्रयोगलाई जनसामान्यको पहुँचमा ल्याएको छ । आज सूचना सम्पे्रषणका लागि पत्रकार नै भइरहनुपर्छ भन्ने मान्यता क्रमशः अस्वीकृत भइरहेको छ । तर, जनसामान्यको पहुँचमा पुगेका डिजिटल प्लेटफर्ममार्फत सम्प्रेषित सूचनाको आँधीबेहरीले सँगसँगै विश्वसनीयताको संकट निम्त्याएकामा दुई मत हुन सक्दैन । यसो हुनुको मूल कारण हो, सम्पादकीय प्रक्रियाको अनुसरणमा समस्या ।
कहाँसम्म भने व्यावसायिक रूपमा पत्रकारिता गर्नेहरूमै पनि सामाजिक सञ्जाल र अनलाइनको प्रयोग गरी सूचना सम्पेषण गर्ने सन्दर्भमा समस्या छ । आजको सन्दर्भमा सामाजिक सञ्जाल पत्रकारिताको अत्यन्त ठूलो निर्णायक अंगका रूपमा विकसित भएको छ र हुँदै छ । मूलधारका पत्रकार र पत्रकारिताका लागि यस्ता सञ्जालले विषय उपलब्ध गराउन महŒवपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । पछिल्ला दिनमा ‘विश्वसनीयता’को संकट खेप्न बाध्य नेपाली पत्रकारिताका सरोकारवाला पत्रकार स्वयंले उल्लेखित यथार्थ बुझेका छैनन् भन्न सकिँदैन । वास्तवमा नेपालका सन्दर्भमा पत्रकारको दुईथरि व्यक्तित्व छ, पहिलो पत्रकारको र दोस्रो व्यक्तिको ।
यी दुवै व्यक्तित्वबीच समन्वय र सन्तुलन कायम गर्न नसकिएको अवस्थामा सूचना प्रवाहको ‘गेट किपिङ’ दोषपूर्ण हुन जान्छ । व्यक्तिको हैसियतमा आफ्नो वैयक्तिक धारणा निर्माण गर्न छुट छ भन्ने आधारमा पत्रकारहरू सामाजिक सञ्जाललगायत अन्य वैकल्पिक सञ्चारमाध्यमबाट निजात्मक धारणा व्यक्त गर्छन्, जो उनको पत्रकारिताको व्यक्तित्वभन्दा सर्वथा भिन्न हुन्छ । तर, यस्ता पत्रकार–व्यक्तिलाई समाजले स्मृतिमा लिइरहेको हुन्छ र उनका विविध खाले अभिव्यक्तिका आधारमा मूल्यांकन गरिरहेको हुन्छ । पत्रकारले यस यथार्थलाई विस्मृतिमा राखेर व्यवहार गर्दा पत्रकारिताले वर्तमानमा विश्वसनीयताको संकट भोग्न बाध्य भइरहेको छ । सञ्चार उपभोक्ताका दृष्टिले यो अवस्था अत्यन्त चिन्ताजनक हो । युनेस्कोको यसपटकको नाराबाट पनि यो यथार्थ बुझ्न कठिन हुँदैन ।
Tweet to @Djanakpurjha