कुनै द्विविधा छैन, सांस्कृतिक दृष्टिले नेपाल सम्पन्न राष्ट्र हो । विविध भूगोलमा स्थानीय संस्कृतिको प्रतिनिधित्व हुने गरी वर्षैैभरि कुनै न कुनै पर्वको उपस्थिति यहाँ रहन्छ । यस आधारमा नेपाल पर्वैपर्वको देश हो भन्दा अस्वाभाविक हुँदैन । नेपाल राजनीतिक दृष्टिले समस्याग्रस्त रहेको वर्तमान अवस्थामा यहाँँ संस्कृतिमा आधारित पर्वहरू त्यस्ता आधार हुन सक्छन्, जसले नेपाललाई एकताको सूत्रमा आबद्ध गर्न सक्छन् ।
माथि उल्लेख गरिएजस्तै देशभित्र त्यस्ता थुप्रै सांस्कृतिक अवयव छन्, जसले देशलाई एकताको सूत्रमा आबद्ध गर्न मद्दत मात्र पु¥याउँदैन समग्र राष्ट्रियता प्रवद्र्धनमै पनि निर्णायक भूमिका निर्वाह गर्न सक्छ । त्यस्तै एउटा प्रतीक हो, महापर्व छठ । तराई—मधेस संस्कृतिको प्रतिनिधित्व गर्ने महापर्व छठ पछिल्लो कालखण्डमा एउटा भूगोलमा मात्र सीमित नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको भइसकेको छ । पछिल्लो समयमा छठ पर्वको अपनत्व ग्रहणका सन्दर्भमा केही मिडियामार्फत विवाद सिर्जना गर्न खोजेको पाइन्छ । स्पष्टतासाथ भन्नुपर्छ, छठ मिथिला क्षेत्रमा मनाइने या मिथिलावासीले मात्र मान्ने पर्व होइन । यो मूलतः नेपाल र भारतको मैथिली र भोजपुरी भाषाभाषी समुदायले समान स्वीकृति र स्वामित्व ग्रहण गरी मनाइने पर्व हो । यसमा नानाथरी राग अलाप्नु आवश्यक छैन । विगत केही दिनयता मधेसमा भाषाका नाममा राजनीति गरेको देखिएको सन्दर्भमा अब आएर पर्वका नाममा राजनीति गर्न खोज्नु दुःखद छ । त्यसो त यस्तो राजनीतीकरणको उद्देश्य दुइटा हुन सक्छ । पहिलो, यही २५ कात्तिकदेखि हुने राष्ट्रिय जनगणनालाई प्रभावित पार्न खोज्नु र दोस्रो, अब चुनावको मौसम क्रमशः नजिकिँदै छ, दल र नेताले मतदातातर्फ फर्केर तुरुपको चाल चल्न खोज्नु ।
छठको उद्भवबारे सत्यतथ्य के हो ? मूलतः मध्यपूर्वी तराई—मधेसबाट उद्भव भई विकसित हुन पुगेको यो पर्व कालान्तरमा मैथिली र भोजपुरीभाषी क्षेत्रमा विस्तारित हुन पुगेको साक्ष्य पाउन सकिन्छ, जो अहिले नेपालीभाषीबीच पनि विकसित भइरहेको छ । पछिल्ला दिनमा आफ्नो महत्ताका करण यो पर्व विश्वका ती सबै क्षेत्रमा विस्तारित भइरहेको छ, जहाँ मैथिली र भोजपुरीभाषी पुगेका छन् । विगतमा विभिन्न दायित्व, पेसा तथा रोजगारीका सन्दर्भमा देश र विदेशका विभिन्न ठाउँमा पुगेका मैथिली÷भोजपुरीभाषीले आफ्नो सुविधाअनुकूल त्यहीँ यो पर्व मनाउने थाले र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको बनाउन भूमिका निर्वाह गरे । यस सन्दर्भमा एउटा कुरा महत्वपूर्ण छ, यस पर्वको विस्तार र यसप्रतिको सर्वस्वीकृत दृष्टिकोण विकसित हुनुमा यो पर्व मनाउने रैथानेहरूको भूमिका मात्र महत्वपूर्ण छैन, बरु अन्य भाषाभाषी र संस्कृतिका अनुयायीहरूले प्रदान गरेको महत्व र तिनले यस पर्वप्रति व्यक्त गरेको आस्था र विश्वास सबैभन्दा महत्वपूर्ण छ । यही आस्था र विश्वासले छठका सन्दर्भमा सामूहिकताको विकास गरेको छ । र, यसै आधारमा पछिल्लो समयमा यो पर्व राष्ट्रिय एकता निर्माणको एक महत्वपूर्ण प्रतीक बन्न पुगेको छ भन्दा असान्दर्भिक हुँदैन ।
माथि चर्चा गरिएको सन्दर्भको आलोकमा के भन्न सकिन्छ भने छठ पर्व जनस्तरमा जसरी स्वीकृत भई राष्ट्रिय एकताको प्रतीक र बिम्ब रूपमा स्वीकृत भएको छ, त्यसरी नै त्यही रूपमा राज्यले अझै स्वीकार गर्न सकेको छैन । मूलतः यो पर्व सूर्योपासनासँग सम्बन्धित छ । यस पर्वमा सूर्यको उपासना गरी तिनैको पूजा–अर्चना गर्ने गरिन्छ । शास्त्रीय मान्यताअनुसार यो पर्व कात्तिक शुक्ल षष्ठी तिथिमा मनाइन्छ । यसलाई प्रदोष षष्ठी पनि भनिन्छ । यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो, त्यसको यकिन गर्न सकिएको छैन । यो पर्वको उपासना विधिको विश्लेषण गर्दै गएका खण्डमा यो पर्व मूलतः प्रकृति पूजनसँग सम्बन्धित रहेको पाउन सकिन्छ । यो पर्व जलाशय, नदी, पोखरी, तालतलैयालगायत जलस्रोत भएको क्षेत्रमा उपस्थित भई सूर्यको उपासना गरी मनाइन्छ ।
देश राजनीतिक दृष्टिले समस्याग्रस्त रहेको वर्तमान अवस्थामा संस्कृतिमा आधारित पर्वहरू नेपाललाई एकताको सूत्रमा आबद्ध गर्ने आधार बन्न सक्छन्
पर्व मनाउने क्रममा जलस्रोत र सम्बन्धित क्षेत्रको शुद्धता र सरसफाइमा विशेष ध्यान दिइन्छ । यो शुद्धता र सफाइको कार्यले जल जीवनदायिनी हो र यसको संरक्षण र शुद्धता सृष्टिको कल्याणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ । यस पर्वमा चढाइने वस्तु पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, बोटसमेतको हलेदो र त्यस वेला उपलब्ध अन्य कृषि–खाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै सिकाउँछ । यसैगरी यस पर्वको केन्द्रीय पूजनीय तत्व हो सूर्य । सूर्यलाई शक्ति मानिन्छ । यस आधारमा यो पर्व शक्ति पर्व पनि हो । सूर्य ऊर्जाकेन्द्र हो । यसै ऊर्जाले प्रकृति–सृष्टि सञ्चालित छ ।
ऊर्जाको अनुपस्थितिमा जीवन सञ्चालन हुनै सक्दैन । यस आधारमा सूर्यप्रति अनुग्रहित हुने पर्वका रूपमा पनि छठ पर्वको महत्व छ । महापर्व छठ उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी मनाउने गरिन्छ । यस पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यस पर्वलाई स्वास्थ्य, निरोगिता, सन्तान प्राप्ति र कल्याण तथा परिवारको उन्नति र रक्षाको पर्वमा श्रद्धापूर्वक मनाइन्छ । यो मूलतः चारदिने पर्व हो । यसको पहिलो दिनलाई नहाय–खाय भनिन्छ । यस दिन व्रतालुले नुहाइ–धुवाइ गरेर पूजाका लागि आफूलाई पवित्र बनाउने गर्छन् । दोस्रो दिन खरना हो । यस दिन व्रतालुले व्रतका लागि संकल्प गर्ने गर्छन् र पूजामा चढाइने मिष्ठान्न–पकवान तयार गर्ने गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिन्छ भने चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने गरिन्छ । यसपटक यो पर्व सोमबार सुरु भई बिहीबार सम्पन्न हुँदै छ ।
कुनै दुई मत छैन, यस पर्वले बिस्तारै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वरूप ग्रहण गरिरहेको छ । छठ पूजाघाटको उपस्थिति विश्लेषणले पनि यो पुष्टि गर्छ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन, त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन । पूजा र उपासनामा कसैलाई निषेध गर्दैन । छठ घाटमा मधेसी मात्र उपस्थित हुँदैनन् । हिन्दू मात्र पनि उपस्थित हुँदैनन् । सम्पन्न, धनी र हुनेखाने मात्र पनि सहभागी हुँदैनन् । यहाँ जातपातका आधारमा छुवाछुत देखिँदैन । छठ पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन । सबैले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून्, छठ पर्वको सन्देश विश्लेषण गर्ने हो भने पनि सारमा यही कुरा बुझ्न सकिन्छ– सर्वजन हिताय सर्वजन सुखाय । जहाँ आस्था हुन्छ, त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । छठका सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ । आमजनताका बीचमा कुनै भेद नभए पनि राज्यले भने अझै पनि छठलाई पूर्णतः स्वीकार गर्न सकेको छैन । छठ मात्र होइन, विविध भूगोलमा फस्टाएका विधि संस्कृतिप्रति राज्यले गौरवबोध गर्न सकेको छैन भन्दा अस्वाभाविक हुँदैन । सबै कुरालाई भोट (मत) मा रूपान्तरण गर्न खोज्ने शासकीय शैलीको उपस्थितिमा यस्ता कुराले खासै महत्व राख्दैनन् । नेपालमा वर्षौंदेखि भइरहेको यही नै हो ।
नेपाल बहुभाषी र बहुसांस्कृतिक देश हो । आदि मानव रामापिथेकसको चिह्नप्राप्त यो देश डोटेली, सिन्जा, जुम्ली, अवधी, बौद्ध (शाक्य), सेन, किराँत, लिम्बू, सिम्रौनगढ, मल्ल र जनक–मिथिलालगायत थुप्रै उन्नत र सम्पन्न संस्कृतिको थलो हो । तर, के यी सबै भाषा र संस्कृतिले राज्यबाट समान पहिचान र अवसर पाउन सकेका छन् ? के यिनले राष्ट्रिय हुनुको गौरवको अनुभूति गर्न सकेका छन् ? प्रश्नहरू अन्य पनि थुप्रै छन्, जसको समुचित उत्तर अपेक्षित छ । यो भूमि बहुभाषी र बहुसांस्कृतिक चरित्रको भए पनि विगतमा यहाँ सधैँ नै एक भाषा र संस्कृतिलाई महत्व दिइयो । भाषा–संस्कृतिको संरक्षण र जगेर्नाको दायित्व राज्यको हो । तर, जब राज्य नै विभेदकारी हुने अवस्था सिर्जना हुन्छ भने परिणाम के हुन्छ ? हामी सबैसामु छर्लंग छ । छठ पर्वकै सन्दर्भ पारेर आशा गरौँ सूर्यदेवले सबैलाई सद्बुद्धि दिनेछन् र विभेदको नीति अन्त्य हुनेछ ।