
बाराको जितपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि दुई अर्ब १ लाखबराबरको बजेट सार्वजनिक गरेको छ।
बुधबार बसेको १२औँ नगरसभामा उपप्रमुख भोलाप्रसाद अधिकारीले बजेट प्रस्तुत गरेका हुन्। बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक समावेशितामा विशेष प्राथमिकता दिइएको उपप्रमुख अधिकारीको दाबी छ।
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बैंक मौज्दातसहित ४७ करोड ४० लाख २३ हजार रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य लिएको छ। संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समानीकरण, विशेष, समपूरक तथा अन्य अनुदानमार्फत बाँकी रकम जुटाइने बजेट वक्तव्यमा उल्लेख छ। समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, संघीय सरकारबाट ५६ करोड ८१ लाख ७७ हजार र विशेष अनुदानबाट १ करोड ९३ लाख रुपैयाँको अनुमान गरिएको छ। त्यस्तै, राजस्व बाँडफाँट, मालपोत, रजिस्ट्रेसन, विज्ञापन कर तथा निर्माण सामग्री रोयल्टीलगायतबाट ५२ करोड ७४ लाख रुपैयाँको अनुमान गरिएको छ।
वडा र नगरस्तरका योजनामा करिब ३० करोड विनियोजन
२४ वटै वडाहरूमा न्यूनतम ५० लाखदेखि अधिकतम १ करोड १२ लाखसम्म बजेट बाँडफाँट गरिएको छ। कुल २० करोड रुपैयाँ वडास्तरीय योजनाका लागि छुट्याइएको छ। त्यस्तै, प्रत्येक वडामा नगरस्तरबाट कम्तीमा २५ लाख र १० लाखबराबरका योजनाहरू अनिवार्य रूपमा लागू गरिने बताइएको छ। यस्ता नगर योजनाका लागि अतिरिक्त ८ करोड ४० लाख विनियोजन गरिएको छ।
शिक्षा क्षेत्रको स्तरोन्नतिमा १ करोड ५० लाख
गुणस्तरीय शिक्षाको पहुँच विस्तार र पूर्वाधार निर्माणका लागि बजेटमा विशेष ध्यान दिइएको उल्लेख छ। शिक्षा रूपान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै एक करोड ५० लाख विनियोजन गरिएको छ। नगरका सरकारी विद्यालयहरूमा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि ४० लाख छुट्याइएको छ। साथै, विद्यालयका भवन निर्माण, शिक्षक प्रोत्साहन, सूचना प्रविधिमैत्री शिक्षण प्रणाली, प्राथमिक शिक्षामा पहुँच विस्तारलगायतका कार्यक्रमलाई पनि बजेटमा प्राथमिकता दिइएको छ।
१५ शय्याको अस्पताल सञ्चालनको तयारी
स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले नगरले १५ शय्याको आधुनिक अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ। त्यसका लागि चालू आर्थिक वर्षमै ९ करोड रुपैयाँ बजेट छुट्याइएको छ। यस अस्पतालमा सामान्य शल्यक्रियासमेत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक ३ हजारका दरले प्रोत्साहन भत्ता दिन २७ लाख विनियोजन गरिएको छ।
नगरपालिकाले युवा तथा खेलकुद क्षेत्रमा ध्यान दिँदै जितपुरसिमरालाई खेलकुद हब बनाउने योजना अघि सारेको छ। नगरभित्रका खेलमैदानको स्तरोन्नति तथा पूर्वाधार निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। अमलेखगन्जलाई पयर्टन हबको रूपमा विकास गर्न बजेट विनियोजन गरी कार्यक्रम तयार गरिएको जनाइएको छ।
त्यसैगरी, दलित समुदायको उत्थानको लागि कुमारी आवास कार्यक्रमलाई निरन्तरता दिँदै एक करोड छुट्याइएको छ। वृद्ध नागरिक, अपांगता भएका नागरिक, सुकुमवासीलगायतका लक्षित समूहका लागि पनि छुट्टै कार्यक्रम तय गरिएको छ।
पूर्वाधार विकासमा ७ करोड ५० लाख
नगरले मुख्य पूर्वाधार योजनामा ७ करोड ५० लाख बजेट विनियोजन गरेको छ। बकुसिया ट्यांकीबाट वडा नं ५, ६, ७ र ८ मा शुद्ध खानेपानी वितरण गर्न ३ करोड ५० लाख बजेट छुट्याइएको छ। नगर क्षेत्रका सम्पूर्ण सडक क्रमशः स्तरोन्नति गर्दै जाने नीति तय गरिएको छ। व्यापारिक कम्प्लेक्स, भवन निर्माण, स्वास्थ्यचौकी र वडा कार्यालयहरूका भवनको निर्माणका लागिसमेत बजेट समेटिएको छ।
नगरले वातावरणमैत्री प्रविधि प्रवर्द्धनमा जोड दिँदै ५० लाख रुपैयाँको वैकल्पिक ऊर्जा कार्यक्रम अघि सारेको छ।