१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
२o८२ असार २४ मंगलबार o७:२८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप : प्रहरीले गुनासो सुनुवाइ नगरेको भन्दै आफन्त र स्थानीयले गरे विद्यालय तोडफोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार o७:२८:oo

सिराहाको गोलबजार नगरपालिका– ८ चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा आक्रोशित आफन्त र स्थानीयले तोडफोड गरेका छन् । विद्यालयको प्रशासनिक भवनको दोस्रो र तेस्रो तलामा रहेको कार्यालयको झ्याल, भेन्टिलेसनको सिसा र शौचालय अगाडिको ऐना तोडफोड गरेको प्रधानाध्यापक ब्रह्मदेव सिंहले जानकारी दिए । भेन्टिलेसन फुटेर छिरेको सिसाको टुक्राले शिक्षिका रञ्जु सिंहको खुट्टा र आफ्नो हातमा चोट लागेको उनले बताए । आक्रोशित समूहले तोडफोड गर्न थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको सिंहको भनाइ छ ।

विद्यालयका चारजना छात्राले आफूहरूमाथि शिक्षकले यौनजन्य दुव्र्यवहार गर्दै आएको गुनासो इलाका प्रहरी कार्यालय गोलबजारले सुनुवाइ नगरेको भन्दै आफन्त र स्थानीयले विद्यालय तोडफोड गरेका हुन् । सोमबार चारैजना छात्रालाई जिल्ला सदरमुकामस्थित ओसिएमसी (एकद्वार संकट व्यवस्थापन केन्द्र) पठाइएको छ । गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले आक्रोशित आफन्त र स्थानीयलाई सम्झाइबुझाइ चार बालिकालाई जिल्ला प्रहरीमा पठाएर त्यतैबाट ओसिएमसी लगिएको बताए । ‘बालिकाहरूमाथि भएको दुव्र्यवहारको जाँच, उपचार र मनोपरामर्शपछि पीडितले दिने जाहेरी र ओसिएमसीको रिपोर्टका आधारमा अगाडि बढ्छौँ,’ उनले भने ।

चोहर्वा घर भएका प्रावि प्रथम तहमा कार्यरत शिक्षक हरि श्रेष्ठले विद्यालयमा अध्ययनरत १३ वर्षीया छात्राले आफूलाई कक्षाकोठामै शरीर सुम्सुम्याउने, संवेदनशील अंगमा हात पु¥याउनेजस्ता यौनजन्य दुव्र्यवहार गर्दै आएको अभिभावकलाई गुनासो गरेकी थिइन् । शिक्षक श्रेष्ठले अर्की आठ वर्षीया बालिकासहित थप तीनजनालाई समेत त्यस्तो हर्कत गर्दै आएको उनको भनाइ छ । शिक्षक श्रेष्ठको यौनजन्य दुर्व्यवहारबाट विक्षिप्त भएपछि डरले पछिल्लो करिब एक महिनादेखि विद्यालय आउन छोडेकी बालिकाले आफ्नी आमालाई बताएपछि गत शुक्रबार विद्यालय आएर आफूमाथि भएको दुव्र्यवहारको बारेमा शिक्षिका सिंहलाई सुनाएकी थिइन् । त्यसपछि शिक्षिका सिंहले घटनाको विषयमा प्रधानाध्यापक सिंहलाई सुनाएपछि उनले शिक्षक श्रेष्ठलाई बोलाएर घटनाबारे सामान्य सोधपुछ गरी मिलाउन सुझाएको बताइएको छ ।

आफूले बालिकामाथि गरेको कर्तुत अभिभावक र केही शिक्षक–शिक्षिकाले थाहा पाएपछि श्रेष्ठले एकजना साथीसहित शनिबार बालिकाको घरमै पुगेर उनकी आमालाई घटना बाहिर नल्याउन दबाब दिएका थिए । आइतबार पीडित बालिकाकी आमा विद्यालय पुगेर शिक्षकहरूकै अगाडि श्रेष्ठको कर्तुतको फेहरिस्त सुनाएकी थिइन् । तैपनि प्रधानाध्यापक सिंहले छात्रामाथि शिक्षकले यौनजन्य दुर्व्यवहार गरेको विषयमा सोमबार बिहानसम्म विद्यालय प्रशासनलाई कुनै लिखित मौखिक जानकारी नभएको दाबी गरे । ‘विद्यालय प्रशासनलाई कुनै पनि गुनासो नगरी एक्कासि केही मानिसको समूहले सोमबार मध्याह्नतिर विद्यालयको प्रशासनिक भवनको झ्याल, भेन्टिलेसन तोडफोड गरे,’ उनले भने, ‘कम्तीमा विद्यालयलाई पूर्वजानकारी भएको भए कानुनी प्रक्रियामा जाने वा के गर्ने भन्ने सल्लाह दिन सक्थ्यौँ ।’ यौन दुर्व्यवहारका आरोपी शिक्षक श्रेष्ठ आइतबारसम्म विद्यालय आए पनि सोमबार भने हाजिर भएनन् ।