
जिल्लाका विभिन्न ठाउँबाट अवैध सामानसहित पक्राउ गरिएका, कागजात नभई भन्सारमा बुझाइएका सवारीसाधनको करिब डेढ वर्षदेखि प्राविधिक मूल्यांकन नहुँदा कवाडी बन्दै गएको छ ।
जिल्लाको दक्षिण पश्चिमी कुनामा पर्ने सिराहा नगरपालिका– १७ माडरस्थित सिराहा भन्सार कार्यालय परिसरमा थन्क्याइएका दुई सय थानभन्दा बढी मोटरसाइकल र २५ वटा चारपांग्रे सवारीसाधनको प्राविधिक मूल्यांकन नहुँदा कवाडी बन्ने मात्र होइन, करोडौँ राजस्वसमेत गुम्ने अवस्था सिर्जना भएको छ ।
सम्बन्धित क्षेत्रमा पर्ने यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियरसहितको मूल्यांकन समितिले उत्पादन वर्ष, चेसिस र इन्जिन नं. खुलाएपछि मात्र लिलामी प्रक्रियामा जाने भएकाले प्राविधिक मूल्यांकन नहुँदा समस्या भएको सिराहा भन्सार कार्यालय माडरका प्रमुख मानबहादुर पौडेलले बताए ।
प्रमुख पौडेलका अनुसार प्राविधिक मूल्यांकनका लागि लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियरसँग समय मिलाइएको भए पनि कोरोना महामारीको कारणले पटकपटक हुँदै आएको लकडाउन र निषेधाज्ञाले समस्या भएको हो ।
‘प्राविधिक मूल्यांकन ढिलो हुँदा उत्पादन भएको १० वर्ष अवधि कटेका सवारीसाधन अनुमानित मूल्य कायम गरी कवाडीमा बेच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यसमा पनि इन्जिन नं. मेटाएपछि क्रेताले भन्सार कर्मचारीकै रोहवरमा चेसिस पनि टुक्रयाएर लैजानुपर्छ ।’
त्यस्तै, भगवानपुर गाउँपालिका– ४ स्थित ठाढी भन्सार कार्यालयमा पनि ८५ थान सवारी साधन प्राविधिक मूल्यांकन नहुँदा त्यत्तिकै राखिएको छ । जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, सम्बन्धित क्षेत्रमा पर्ने उद्योग वाणिज्य संघका प्रतिनिधि र आमन्त्रित सदस्यको रूपमा विज्ञ सम्मिलित मूल्यांकन टोलीले प्राविधिक मूल्यांकन नगर्दा सवारीसाधन थन्क्याएर राख्नुपरेको ठाढी भन्सार प्रमुख नरेश साहले बताए । उनका अनुसार ठाढी भन्सारमा ८५ थान मोटरसाइकल र चारचक्के सवारीसाधनको मूल्यांकन हुन सकेको छैन ।