सिराहाको सीमावर्ती भगवानपुर गाउँपालिका– २ लहरा गाउँमा सडकछेउको रूखको छहारीमा बसेको सामान्य विवादमा कुटाकुट हुँदा नौजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर रिफर गरिएको छ ।
लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा शनिबार दउँसो सामान्य उपचार गरी रेफर गरिएकामध्ये विराटनगरस्थित विराट नर्सिंङ होममा तीनजना र ६ जनाको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लहान प्रहरीका अनुसार विराट नर्सिङ होममा लरहा गाउँका कुन्देश्वर यादव, जोगिन्दर यादव र किशोर यादवको उपचार भइरहेको छ । घाइते सबैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै, नोबेल अस्पतालमा वर्ष देवचन्द्र यादव, बच्चालाल यादव, जसीलाल यादव, श्यामसुन्दर यादव, छविल यादव र सञ्जीवकुमार यादवको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बच्चालालको बायाँहात भाँचिएको र सञ्जीवको टाउकोमा गहिरो घाउ भएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाएको बिरामीको कुरुवा बसेका लरहाका लालबहादुर यादवले बताए ।
यस्तो थियो विवादको कारण
गर्मी र चर्को घाम लागेपछि शनिबार दिउँसो करिब साढे १२ बजेतिर लरहा गाउँको सडक किनारमा रहेको रूखको छहारीमा बस्ने विषयमा विवाद हुँदा कुटाकुट भएको स्थानीय सन्तोषकुमार यादवले बताए ।
प्रहरीका अनुसार रूखको छहारीमा बस्ने विषयको विवाद बढ्दै गएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) पक्षीय समूहबीच झडप भएको हो ।
दुवै पक्षका गरी दुई दर्जनजना घाइते भए पनि रेफर गरिएकाबाहेक अन्यलाई सामान्य चोटपटक लागेकाले उपचारपछि घर फर्किएको लहान अस्पतालले जनाएको छ ।
पानी सिँचाइ गर्ने विषयमा कुटाकुट
त्यस्तै, दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका– १ कचनारी गाउँमा जसपा र कांग्रेस कार्यकर्ताबीच धानखेतमा पानी लगाउने विषयमा विवाद हुँदा शुक्रबार राति कुटाकुट भएको छ ।
स्थानीयका अनुसार तेस्रो व्यक्तिको खेतमा जडान गरिएको पानी तान्ने मोटरबाट गर्भु यादवले आफ्नो धानखेतमा पानी लगाउँदै थिए । त्यही समयमा रामनाथ यादवले पनि पानी लगाउन खोजेपछि विवाद भएको स्थानीयले बताएका छन् ।
कुटाकुटमा कांग्रेसपक्षीय गर्भु यादव, सुरेन्द्र यादव, विजयकुमार यादव, रामउदगार यादव, रामप्रकाश यादव, स्वस्तिकादेवी यादव, रामजीवन यादव र मञ्जु गिरी तथा जसपा पक्षका रामनाथ यादव, मिथिलेश यादव, श्याम यादव, दिनेश यादव, सिकिन्द्र भगत यादव घाइते भएका छन् ।
झगडा छुट्याउन गएका प्रहरी जवान देवकुमार यादव र राजेश सिंह पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
दुवै पक्षका घाइतेहरूको सिराहा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विनोदकुमार घिमिरेले जानकारी दिए ।