१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ भदौ १२ शुक्रबार १६:१५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाको जोखिमयुक्त ठाउँका १३ भूकम्पपीडित घरपरिवारले पाए लालपुर्जा

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ भदौ १२ शुक्रबार १६:१५:००

संखुवासभाको सिलिचोङ गाउँपालिका– ३ का अति जोखिममा रहेका भूकम्पपीडित १३ घरपरिवारले लालपुर्जा पाएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ संखुवासभाले जग्गा खरिद गरेर लालपुर्जा वितरण गरेको हाे ।

भूकम्पबाट जग्गाजमिन गुमाएका हाल सिलिचोङ– ३ का याचम्खा र साप्तले गाउँका १३ घरपरिवारलाई साढे १८ रोपनी जग्गा खरिद गरेर निःशुल्क रूपमा प्रदान गरिएको आयोजना कार्यान्वयन इकाइ प्रमुख नवीन देवले बताए ।

उनका अनुसार केही समयअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रबाट नै प्राविधिकहरू आएर स्थलगत अध्ययनपछि उनीहरू बसिरहेको जग्गाजमिन अति नै जोखिम भएकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको हो ।

केन्द्रबाट आएको आत्मनिर्भर सेवा केन्द्र (दिगो समाधान)को प्राविधिक सहजीकरणमा सिलिचोङको जोखिमयुक्त बस्तीको रूपमा पहिचान भएको पहिरो र भूकम्पपीडितलाई सिलिचोङ– ३ को मानेडाँडानजिकै खोपुवा भन्ने ठाउँमा जग्गा व्यवस्थापन गरिएको आयोजना इकाइ प्रमुख देवले बताए । 

उनका अनुसार स्थानीय जितेन्द्र राई, गजेन्द्र राई, डम्बरधन राई, प्रकाश कुलुङ, वीरधन राई, किशोर राई, डिकबहादुर राई, पूर्णशंखर राई, परमकुमारी राई, नरबहादुर राई, मनमाया राई, मनबहादुर राई र शंकर राईलाई जग्गाजमिन उपलब्ध गराएको हो । प्रतिपरिवार जग्गा खरिदका लागि दुई लाख रुपैयाँ पाउने भएकाले कुल २६ लाख रुपैयाँमा जग्गा खरिद गरिएको आयोजना प्रमुख देवको भनाइ छ ।

एकैठाउँमा १३ घरपरिवारलाई एकीकृत बस्तीको रूपमा व्यवस्थापन गर्ने योजनाअनुरूपमा काम अगाडि बढाइएको छ । तर, अहिले बर्खाको समय भएकाले निर्माण सामान ढुवानी गर्न असहजता भएकाले केही समयपछि निजी आवास पुनर्निर्माणको काम सुरु हुने जनाएको छ । प्राधिकरणले ती घरपरिवारका लागि निजी आवास निर्माण, सडक, पानी, बिजुली उपलब्ध गराउने भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट जग्गाजमिन गुमाएकालाई निःशुल्क जग्गा उपलब्ध गराएपछि पीडितहरू खुसी भएका छन् । उनीहरूले कतिवेला ज्यान गुमाउनुपर्ने हो भनेर रातभर निद्रा नपर्ने मानसिक पीडा खेप्न परिरहेको स्थानीय जितेन्द्र राईले बताए । राति वर्षा सुरु  भएपछि घरबस्ती नै जोखिम भएकाले कति समय रातभर जागै बस्ने गरेकोसमेत सुनाए । 
 
उक्त स्थानमा जग्गा खरिद गरेर पीडितहरूको नाममा लालपुर्जा उपलब्ध गराइएको छ भने १० वर्षसम्म बेच्न नपाउने गरी जिल्ला मालपोत कार्यालयमा जग्गा रोक्का गरिएको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए । 


सिलिचोङ गाउँपालिका जिल्लाको अतिजोखिम स्थानमा रहेको पालिका हो । उक्त पालिकाको अधिकांश क्षेत्रहरू बाढी, पहिरो र भूकम्पको उच्च जोखिममा रहेको छ । भौगोलिक हिसाबले समेत एकदमै भिरालो रहेकाले गएको असार २८ गते पहिरो जाँदा ११ जना बेपत्ता छन् भने नौ घर बगाएको थियो । गएको ०६६ सालमा समेत सिमदिममा पहिरो जाँदा १३ जनाको मृत्यु भएको थियो ।