१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७७ भदौ ७ आइतबार १५:२१:००
Read Time : > 3 मिनेट
खेलकुद डिजिटल संस्करण

च्याम्पियन्स लिग फाइनल आज : पिएसजी पहिलो तथा बायर्न छैटौँ उपाधिको खोजीमा

Read Time : > 3 मिनेट
एजेन्सी
२०७७ भदौ ७ आइतबार १५:२१:००

केलियन एम्बाप्पेले आफ्नो फुटबल करिअर सुरु गर्दा रोबर्ट लेवान्दोस्कीले व्यावसायिक स्तरमा खेल्न थालेको एक दशक भइसकेको थियो । फ्रान्सेली युवा स्ट्राइकर एम्बाप्पेले व्यावसायिक खेलमा डेब्यु गर्दा जर्मन टोली बायर्न म्युनिखका पोलिस स्ट्राइकर लेवान्दोस्कीले एक सयभन्दा बढी गोल गरिसकेका थिए ।

एम्बाप्पेले मोनाकोबाट पहिलो घरेलु उपाधि जित्नुभन्दा पहिले लेवान्दोस्कीले जर्मन बुन्डेसलिगाको पाँचपटक उपाधि जितिसकेका थिए ।

व्यावसायिक फुटबलमा ३२ वर्षीय लेवान्दोस्की र २१ वर्षीय पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर एम्बाप्पेबीच एक पुस्ताकै फरक छ । तर, आज राति हुने युरोपियन च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिख र पिएसजी उपाधिका लागि भिड्दा मैदानमा यी दुई खेलाडीको एउटै उद्देश्य हुनेछ, च्याम्पियन्स लिगको पहिलो उपाधि ।

उपाधि जिते लेवान्दोस्कीका लागि नवौँ प्रयासमा पहिलो र एम्बाप्पेका लागि चौथो प्रयासमा पहिलो उपाधि हुनेछ । यसको छिनोफानो फाइनल खेल पनि नै हुनेछ । त्यसअघि दुवै टोली उपाधिका लागि उत्तिकै आशावादी देखिएका छन् ।

‘म यहाँँ आउनुको मुख्य कारण नै यही हो,’ एम्बाप्पे भन्छन्, ‘म सधैँ भन्थेँ कि म एउटा इतिहास कायम गर्न चाहन्छु । त्यसका लागि आइतबार अर्काे अवसर हुनेछ ।’

लेवान्दोस्कीका लागि भने आइतबार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको एकै सिजन कायम गरेको १७ गोलको कीर्तिमान भंग गर्ने अवसर पनि हुनेछ । पोर्चुगिज रोनाल्डोले सन् २०१३–१४ को सिजन यो कीर्तिमान कायम गरेका थिए । लेवान्दोस्कीले फाइनल खेलअघिसम्म यो सिजनमा नौ खेलबाट १५ गोल गरेका छन् ।

‘सत्य कुरा के हो भने लेवान्दोस्कीले सधैँ अग्रपंक्तिमा फरक खालको दबाब बनाएका हुन्छन् । मेरा लागि उनी विश्वकै उत्कृष्ट सेन्टर स्ट्राइकर हुन्,’ बायर्नका प्रशिक्षक हान्सी फ्लिक भन्छन्, ‘आइतबारको फाइनल कस्तो होला भनेर हेर्न इच्छुक छु । मेरो आशा छ कि लेवान्दोस्की आइतबार पिएसजीविरुद्ध गोल गर्न सक्षम हुनेछन् ।’

च्याम्पियन्स लिगको पछिल्लो नौ खेलमा लगातार गोल गर्ने लेवान्दोस्की मात्रै तेस्रा खेलाडी हुन् । उनीभन्दा अघि यो उपलब्धि रोनाल्डो र रुड भान निस्टेलरोयले हात पारेका थिए ।

कोभिड– १९ महामारीका कारण केही समय रोकिएर प्रतियोगिताको संरचना र भेन्युसमेत परिवर्तन गरी पुनः सुरु भएको च्याम्पियन्स लिगको यो सिजन आइतबार रातिबाट सकिँदै छ । च्याम्पियन्स लिग इतिहासमै लामो समय चलेको च्याम्पियन्स लिगको यो सिजन पहिलो खेल खेलेको चार सय २५ दिनपछि सकिँदै छ ।

यही खेलले पिएसजीलाई च्याम्पियन्स लिगको नयाँ विजेता वा बायर्नलाई छैटौँपटकको विजेता बनाउने निश्चित छ । खेलाडी, खेल सञ्चालनका लागि आवश्यक प्राविधिक र केही पदाधिकारी गरी सीमिति व्यक्तिले मात्रै प्रवेश अनुमति पाउने च्याम्पियन्स लिगको यो फाइनल खेल इतिहासमै पहिलोपटक खाली स्टेडियममा खेलाउन लागिएको हो । कोभिड– १९ महामारी नभइदिएको भए यो फाइनल खेल लिस्बोनको सट्टा इस्तानबुलमा हुने थियो ।

पिएसजीको अभियान पिएसजी अहिले आफ्नो स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहेको छ । युरोपकै प्रतिष्ठित क्लब च्याम्पियन्सिपको उपाधि जितेर पिएसजी आफ्नो ५०औँ वार्षिकोत्सव अझ भव्य मनाउन चाहन्छ । पिएसजी ६५ वर्ष पुगेको च्याम्पियन्स लिगभन्दा पनि कान्छो क्लब हो ।

‘आइतबार खेल सुरु भएपछिको ९० मिनेट साँच्चिकै खेलाडीको रूपमा मेरो जीवन र क्लबकै सबैभन्दा महत्वपूर्ण समय हुनेछ,’ पछिल्लो आठ वर्षदेखि पिएसजीसँग आबद्ध रहेका मार्काे भेराटी भन्छन् ।

सन् २०१७ मा नेमारलाई स्पेनी टोली बार्सिलोनाबाट भित्र्याउन दुई सय २२ मिलियन युरो तिरेको पिएसजीले खेलाडी किन्न समग्रमा एक बिलियनभन्दा बढी रकम खर्चिएको छ । उसको उद्देश्य नै च्याम्पियन्स लिगको उपाधि हो । त्यसका लागि महँगाे रकम खर्चेर खेलाडी भित्र्याएको पिएसजी घरमा त बलियो देखिएको छ । फ्रेन्च लिग वानको पछिल्लो आठमध्ये सात उपाधि पिएसजीले नै जितेको छ । उसले पछिल्लो ६ मध्ये चार सिजन त घरेलु तीन उपाधि जितेको छ । तर, उसले च्याम्पियन्स लिगको उपाधि जित्न सकिरहेको छैन ।

बायर्नको खोजी सन् २०१३ मा पाँचौँपटक उपाधि जितेदेखि बायर्नले पनि युरोपियन च्याम्पियन्स लिगमा फेरि यो इतिहासलाई दोहोऱ्याउन सकेको छैन । त्यसयताका चार सिजन बायर्न सेमिफाइनल चरणमा स्पेनी टोलीसँग पराजित भएको छ । जसमध्ये दुईपटक कीर्तिमानी १३औँ पटकका विजेता रियल म्याड्रिड तथा बाँकी एक–एक अवसरमा एट्लेटिको म्याड्रिड र बार्सिलोनासँग पराजय व्यहोरेकाे छ । त्यसपछि फेरि फाइनलमा पुगेको बायर्न पछिल्लो सात वर्षमा पहिलो र समग्रमा छैटौँ उपाधिको पर्खाइमा छ ।

बायर्न घरेलु र युरोपेली क्लब फुटबलमा स्थापित टोली हो । त्यसको तुलनामा पिएसजीसँग छोटो इतिहास छ । कतारी इमिर तमिम बिन हमाद अल थानीले स्वामित्व किनेर लगानी बढाएपछि भने पिएसजीले आफूलाई घरेलु फुटबलसँगै महादेशीय प्रतिस्पर्धामा पनि सशक्त उभ्याउन सफल भएको छ ।

विश्वकै उत्कृष्ट स्ट्राइकरबीचको प्रतिस्पर्धा बायर्न र पिएसजी दुवै सशक्त टोली हुन् । दुवै टोलीसँग विश्वकै उत्कृष्ट स्ट्राइकर छन् । जारी सिजनको च्याम्पियन्स लिगको खेलमा दुवै टोलीले गरेको गोललाई आधार मान्ने हो भने बायर्न अझ बलियो देखिन्छ । बायर्नले यो सिजन ४२ गोल गरेको छ । त्यसमध्ये २४ गोल त लेवान्दोस्की र सर्जी जिनाब्री दुई खेलाडी मिलेर गरेका छन् ।

त्यसको तुलनामा पिएसजीले पनि पछिल्लो १० खेलबाट २५ गोल गरेको छ । एक्लैले १५ गोल गर्दै थप ६ गोलका लागि अवसर सिर्जना गरेका लेवान्दोस्की आफ्नो खेलजीवनकै उत्कृष्ट क्षणमा छन् । यता पिएसजीमा पनि एम्बाप्पे र नेमारको जोडी अग्रपंक्तिमा सधैँ सशक्त देखिएका छन् । पछिल्ला खेलमा पिएसजीका लागि एन्जेल डी मारियाले पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । आइतबार यी खेलाडीको प्रदर्शनमा उपाधि पिएसजी वा बायर्नले जित्ने निश्चित हुनेछ ।

डगआउटमा दुई जर्मन प्रशिक्षक आइतबार युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलमा मैदानबाहिरको प्रतिस्पर्धामा दुई जर्मन प्रशिक्षक हुनेछन् । फ्लिकले गत नोभेम्बरमा मात्रै बायर्नको नेतृत्व सम्हालेका हुन् । निको कोभाक बर्खास्तमा परेपछि फ्लिक मुख्य प्रशिक्षकको रूपमा बढुवा भएका थिए ।

उनले आफ्नो नेतृत्वमा बायर्नलाई यो सिजन घरेलु बुन्डेसलिगाको उपाधि मात्रै दिलाएनन्, जर्मन कपको पनि उपाधि जितेको छ । साथै, युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको छ । फ्लिकले बायर्नलाई युरोपियन क्लब फुटबलको छैटौँ उपाधि दिलाउने प्रयास गरिरहँदा उनको विपक्षमा अर्का जर्मन प्रशिक्षक थोमस टुचेल हुनेछन् । टुचेल पिएसजीलाई च्याम्पियन्स लिगको पहिलो उपाधि दिलाउने प्रयासमा छन् । आफ्नो नेतृत्वमा पिएसजीलाई घरेलु उपाधि दिलाएका टुचेल च्याम्पियन्स लिगको उपाधि पनि जित्न चाहन्छन् ।