१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ श्रावण २६ सोमबार ०६:३१:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चेपाङ युवा मृत्यु प्रकरण : सैनिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै प्रहरी

Read Time : < 1 मिनेट
२०७७ श्रावण २६ सोमबार ०६:३१:००

चितवन राष्ट्रिय निकुञ्जमा घुँगी खोज्न जाँदा सैनिकको कुटपिटबाट मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । पीडित परिवारले दिएको उजुरीका आधारमा घटनामा संलग्न सैनिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

१ साउनमा घुँगी खोज्न गएका चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका राजकुमार चेपाङसहित सातजनालाई निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको टोलीले कुटपिट गरेको थियो । कुटपिटबाट घाइते भएका राजकुमारको ८ साउनमा मृत्यु भएको थियो । ९ साउनमा राजकुमारका बुबा विष्णुलाल चेपाङले निकुञ्ज सुरक्षार्थ तैनाथ बटुकदल गणलाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय चितवनमा कर्तव्य ज्यान मुद्दासम्बन्धी उजुरी दिएका थिए । 

त्यही उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी नान्तिराज गुरुङले बताए । ‘हामीले कानुनी प्रक्रियाअनुसार नै मुद्दालाई अघि बढाइरहेका छौँ,’ एसपी गुरुङले भने, ‘टाइमलाइनअनुसार अनुसन्धान भइरहेको छ ।’ प्रहरी टोलीले पीडित परिवार र सम्बन्धित व्यक्तिसँग बयान लिएको छ । त्यस्तै, घटनास्थलको मुचुल्का, पोस्टमार्टमलगायत काम भएको जनाएको छ । भिसेरा रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढ्ने एसपी गुरुङले बताए । 

राजकुमारको १२ साउनमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमसँगै भिसेरा परीक्षणका लागि पठाएको थियो । भिसेरा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले भने घटनामा संलग्न सैनिकलाई प्रहरीले पक्राउ नगरेकोमा असन्तुष्टि जनाएका छन् । 

मृत्यु भएका राजकुमारको परिवारलाई १० लाख राहत प्रदान गर्ने सहमति भएको थियो । चितवन राष्ट्रिय निकुञ्जले सात लाख र राप्ती नगरपालिकाले तीन लाख सहयोग गर्ने सहमति गरेका थिए । सहमति भएको दुई साता बितिसक्दा पनि काजकिरिया खर्चबाहेक अन्य रकम नपाएको पीडित परिवारजनले गुनासो गरेका छन् ।