१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरण : मन्त्रालयमै थन्कियो प्रतिवेदन 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२२:oo

बालिका रेजिशा गोपालीको मृत्युसम्बन्धी छानबिन प्रतिवेदन १९ दिनसम्म पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै थन्कियाे

कान्ति बाल अस्पतालको लापरबाहीले १८ भदौमा ज्यान गुमाएकी मकवानपुरकी पाँच वर्षीया रेजिशा गोपाली

कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा पालो कुर्दाकुर्दै उपचार नपाएर भएको बालिका रेजिशा गोपालीको मृत्युसम्बन्धी छानबिन प्रतिवेदन १९ दिनसम्म पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै थन्किएको छ । छानबिन समितिले इमर्जेन्सीमा खटिएका चिकित्सक र अस्पताल कर्मचारी (सेक्युरिटी गार्ड)को लापरबाहीले बालिकाको मृत्यु भएको निष्कर्षसहित २९ भदौमै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई प्रतिवेदन बुझाए पनि अहिलेसम्म कुनै कारबाही नभएको हो । 

१८ भदौमा कान्ति पुर्‍याइएकी मकवानपुरकी पाँच वर्षीया रेजिशाले इमर्जेन्सीबाहिर दुई घन्टासम्म पालो कुर्दा पनि उपचार नपाएपछि हजुरबुबाको काखमै प्राण त्यागेकी थिइन् । २० भदौमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएसँगै चौतर्फी दबाब परेपछि स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा अस्पताल प्रशासनले २३ भदौमा छानबिन समिति गठन गरेको थियो । अस्पतालका डा. प्रकाश जोशी संयोजक तथा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल सदस्य रहेको समितिले छानबिन प्रतिवेदन तयारी गरी तीन दिनमै स्वास्थ्य मन्त्रालयमा पेस गरेको थियो । तर, प्रतिवेदनमा असन्तुष्टि जनाउँदै मन्त्री बस्नेतले पुनः अध्ययनका लागि २७ भदौमा निर्देशन दिएका थिए । दोस्रो छानबिनपछि तयार प्रतिवेदन २९ भदौमा मन्त्रालयमा बुझाइएको थियो । 

प्रतिवेदनमा अस्पताल व्यवस्थापन, चिकित्सक, सेक्युरिटी गार्ड र बालिकाका आफन्तको समेत कमजोरी रहेको निष्कर्ष निकालिएको छ । बिरामी चेकजाँचका लागि पालो कुरेर बसेको, तर चिकित्सक बिरामी जाँच्न छाडेर बाहिर गई एक घन्टा हराएको उल्लेख छ । त्यस्तै, सेक्युरिटी गार्डले पनि उपचारमा अवरोध गरेको प्रतिवेदनमा स्पष्ट पारिएको छ । तर, उक्त फाइल स्वास्थ्यमन्त्री बस्नेतले पल्टाएर हेरेका छैनन् । 

बालिकाका आफन्त भने छानबिन समितिको प्रतिवेदनका आधारमा उपचारमा लापरबाही गर्नेलाई कारबाही हुनुपर्छ भन्दै कुरेर बसेका छन् । तर, यसबारेमा स्वास्थ्य मन्त्रालयले थप छानबिन र कारबाही भने गरेको छैन । अस्तालका निर्देशक डा. पंकज रायले आफूहरूले मन्त्रालयलाई प्रतिवेदन बुझाएको र त्यसबारे मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएको बताए । ‘हामीले अध्ययन गरेर दुई साताअघि नै प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा दिएका छौँ,’ उनले भने, ‘प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा मन्त्रालयको हो ।’ 

निजीमा बिरामी पठाउनेलाई पनि भएन कारबाही 
कान्ति अस्पतालमै कार्यरत चिकित्सक र सेक्युरिटी गार्डले त्यहाँ आएका गम्भीर बिरामीलाई गेटबाटै निजी अस्पताल पठाउने गरेकामा अस्पताल प्रशासनले कुनै छानबिनसम्म गरेको छैन । चिकित्सक र सेक्युरिटीले बेड खाली नभएको भन्दै ‘सेटिङ’मा अस्पतालको गेटबाटै निजी अस्पताल तोकेरै पठाउने गरेका घटना विवरणसहित नयाँ पत्रिकाले ३० भदौमा समाचार प्रकाशित गरेको थियो । 

अस्पतालको स्थायी सेक्युरिटीमध्येका मुखियालाल चौधरी र उत्तम बुढाथोकीले सेटिङमा कलंकीस्थित नेसनल अस्पताल, त्रिपुरेश्वरको ब्लुक्रस अस्पताल, मेट्रो काठमाडौं अस्पताललगायतमा पठाउने गरेका विवरण नै फेला परेका छन् । कान्ति अस्पतालमा कार्यरत केही डाक्टर अन्य निजी अस्पतालमा पनि काम गर्ने भएकाले मिलेमतोमा त्यसो गरिएको हो । गम्भीर प्रकारका बिरामी बोकेर अस्पतालको इमर्जेन्सीको ढोकामै पुगेका बिरामीलाई निजी अस्पतालमा पठाउँदा बिरामीको ज्यानै जाने गरेको छ । तर, यसबारे घटना सार्वजनिक हुँदा पनि अस्पताल र सरकारले कुनै छानबिनसम्म गरेको छैन । 
 

ad
ad