१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २३ शुक्रबार ०९:१४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उपाध्यायको ‘कबाल्स एन्ड कार्टेल्स’ सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २३ शुक्रबार ०९:१४:००

लेखक राजीव उपाध्यायको अर्थ राजनीतिक पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’ सार्वजनिक भएको छ । अर्थशास्त्री विश्व पौडेल, पत्रकार किशोर नेपाल, वुमन लिडकी कार्यकारी निर्देशक हिमा विष्ट र लेखक उपाध्यायले बिहीबार पुस्तकको संयुक्त रूपमा लोकार्पण गरे । 

अर्थशास्त्री पौडेलले पुस्तकले नेपालले बहुदलीय राजतन्त्र, माओवादीको सशस्त्र द्वन्द्व हुँदै गणतन्त्रात्मक मुलुकसम्म आइपुग्दासम्मका परिवर्तनलाई सूक्ष्म रूपमा केलाएको बताए । विश्व बैंकमा कर्मचारीका रूपमा काम गर्ने क्रममा उपाध्यायले देखेको समाज एवं देश परिवर्तनमा प्रतिष्ठित व्यक्तिहरूको केकस्तो भूमिका थियो भन्ने विषयबारे पुस्तकमा चर्चा गरेको उनको भनाइ छ । 

वुमेन लिडकी कार्यकारी निर्देशक विष्टले नेपालमा वैदेशिक सहायताको ‘भुलभुलैया’ र त्यसको अन्तर्य बुझ्न चाहनेले यो पुस्तक पढ्नुपर्ने बताइन् । ‘पुस्तक अध्ययन गरेपछि यसबारे एउटै शब्द दिमागमा आयो गज्जब,’ उनले भने । नेपालबारे बुझ्न चाहने विदेशीहरूलाई पुस्तक कुन दिउँ भनेर सधैँ दोधार हुने गरेकोमा उपाध्यायको पुस्तकले त्यो खाडल पुरेको उनको भनाइ थियो । पुस्तक पढ्दै जाँदा नेपालको नीति निर्माण तहमा महिलाको उपस्थिति असाध्यै न्यून रहेको अनुभव गरेको पनि उनले बताइन् । 

पत्रकार नेपालले उपाध्यायको यो पुस्तक समकालीन नेपालको जीवन्त तस्बिर रहेको बताए । ‘नेपालबारे अंग्रेजी भाषामा लेखिएका पुस्तक धेरै छन्,’ उनले भने, ‘राजीवले यो पुस्तकमा समकालीन अर्थराजनीतिको यथार्थ चित्रण गरेका छन् ।’

लेखक उपाध्यायले नेपालको पछिल्लो राजनीतिक अस्थिरता र खिचातानीबारे पाठकलाई बुझाउनु पुस्तकको मुख्य उद्देश्य रहेको बताए । ‘पञ्चायतकालदेखि गणतन्त्रसम्म आउँदा देशमा धेरै परिवर्तन आए, विभिन्न संक्रमणको साक्षी हाम्रो पुस्ता भयो, सधैँको राजनीतिक खिचातानी, भागबन्डा आदिले देशलाई कसरी थिलथिलो बनाए भन्ने विषयमा पाठकले थाहा पाऊन् भनेर पुस्तक लेखेको हुँ,’ उनले भने । मुलुकको शासन व्यवस्था नै कार्टेलरहरूको हातमा जाँदै गरेको परिप्रेक्ष्यमा आफूले शीर्षकमै ‘कार्टेल्स’ शब्द प्रयोग गरेको उनको भनाइ थियो । पुस्तकबारे छुट्टै टिप्पणी गर्दै पूर्वअर्थमन्त्री डा.देवेन्द्रराज पाण्डेले उपाध्यायको यो पुस्तकले नेपालको विकास एवं अन्तर्राष्ट्रिय सहायता र देशको परिवर्तित राजनीतिक अवस्थाप्रति ध्यानकेन्द्रित गर्ने बताए ।