१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ श्रावण २१ बुधबार १०:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोलीकाण्डमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

Read Time : < 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १०:२७:००

जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह रु. २५ हजार धरौटीमा रिहा भएका छन् ।  जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले रु. २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
 
सो घटनामा पक्राउ परेका मुकेशकुमार साह यसअघि नै रु. एक लाख र छोटेलाल सहनी रु. २५ हजार धरौटीमा रिहा भइसकेका तथा गाउँपालिका अध्यक्षलाई सोमबार रु. २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए । 

गएको असार १४ मा धनकौल गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित २० घाइते भएका थिए । घाइतेमध्ये नेकपाका केही कार्यकर्तालाई गोलीसमेत लागेको थियो । घटनामा गाउँपालिकाका अध्यक्ष साहले गोली चलाएको आरोप नेकपाले लगाउँदै आएको छ । 

साह कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।  असार ६ मा जिल्लाकै रामनगर गाउँपालिका– ४ बोहरवाका ६० वर्षीय रामजलम राय यादवको हत्या भएको थियो । यादवको हत्याको विरोधमा धनकौलमा नेकपाले निकालेको विरोध र्‍यालीमा गोली चल्दा तीन प्रहरीसहित २० प्रदर्शनकारी घाइते भएका थिए । गोली प्रहार घटनामा प्रदेश नं. २ का प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहको समेत हात रहेको नेकपाका कार्यकर्ताको आरोप छ ।

सांसद सिंहविरुद्धको उजुरी भने प्रहरीले दर्ता गर्नै नमानेको नेकपाले आरोप लगाएको छ । घाइतेहरूले सांसद सिंह, गाउँपालिका अध्यक्ष साहसहित १० जनाविरुद्ध त्यतिवेलै किटानी जाहेरी दिएका थिए । दबाब बढेपछि प्रहरीले सांसद सिंह र अध्यक्ष साहको घरबाट समेत लाइसेन्स प्राप्त बन्दुक बरामद गरेर अनुसन्धान अघि बढाएको छ । रासस