१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सौगात गौतम
२०७७ श्रावण २ शुक्रबार ०८:००:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ओलीको पञ्चायती राष्ट्रवाद 

Read Time : > 3 मिनेट
सौगात गौतम
२०७७ श्रावण २ शुक्रबार ०८:००:००

यतिवेला प्रधानमन्त्री केपी ओली एकपटक फेरि आफ्नो बोलीका कारण चर्चामा छन् । कहिले हेपाहा शैलीका व्यंग्यात्मक टिप्पणी गरेर, कहिले तर्कहीन बालहठ देखाउँदै र कहिले अर्थहीन ठूला गफ दिएर प्रधानमन्त्री ओलीले नेपाली जनतालाई मनोरञ्जन दिइरहेकै हुन् । रोजगारी गुमाएर खाडीका सडकमा हजारौँ नेपाली बेसहारा भएर रोइकराइ गरिरहँदा ओली सरकार कमिसनको हिसाब लगाउँदै जनतासँग मजाक गर्दै छ । वास्तवमा यो नै उनको स्वभाव, शैली र योग्यता हो । एउटा असफल नेताले मूल मुद्दाबाट जनताको ध्यान भड्काउन यसै गर्ने हो । अहिले, उनी नयाँ–नयाँ मोर्चा खडा गरेर जनताको ध्यान एकपछि अर्काेमा विषयान्तर गरिरहेका छन् । 

आफ्नै कार्यशैलीका कारण सरकारको अलोकप्रियताको ग्राफ उक्लिँदै गर्दा, पार्टीभित्रका प्रतिस्पर्धी वार कि पारको खुला संघर्षमा उत्रिँदै गर्दा उनले कहिले भारतले आफूलाई हटाउने प्रयास गरिरहेको मनगढन्ते कथा त कहिले राम जन्मभूमिबारे अनावश्यक टिप्पणी गर्दै सबैको ध्यान मोड्न खोजे । तर, जनतालाई गुमराहमा राख्न र आफूलाई सबैभन्दा बढी राष्ट्रवादी देखाउन राम जन्मभूमि अयोध्याबारे गरिएको अप्रामाणिक टिप्पणी सर्वथा अनुपयुक्त र गैरजिम्मेवारपूर्ण थियो । सरकारीस्तरबाट नाजुक स्तरमा पुगेको नेपाल–भारत सम्बन्धलाई उनको यो लहडी र सनकपूर्ण अभिव्यक्तिले रसातलमा मात्रै पु-याएको छैन, जनस्तरमै सम्बन्ध खल्बलिने खतरा पैदा गराएको छ । 

लिम्पियाधुरा र सीमाविवाद सुल्झाउन प्रधानमन्त्रीलाई अभूतपूर्व साथ र अवसर थियो । प्रतिपक्ष, मिडिया, नागरिक समाज र आमनागरिक सबैको बोली एउटै थियो । जसलाई बुझेरै भारत केही नरम देखिँदै थियो । तर, उनी भने अनाहकमा लहडी कुरा गरेर नयाँ–नयाँ विवाद झिक्दै मूल मुद्दाबाट भाग्दै गए ।

भारतीय हिन्दू समुदाय राम जन्मभूमि अयोध्याको विषयमा संवेदनशील छ । र, ओलीको टिप्पणीले उनीहरूको मर्ममै प्रहार भएको छ । किनकि यो उनीहरूको धार्मिक आस्थासँग जोडिएको विषय हो । अयोध्याको राम जन्मभूमिबाट बाबरी मस्जिद हटाउने र त्यहाँ राममन्दिर बनाउने विषयलाई राजनीतिक एजेन्डा बनाएर भारतीय जनता पार्टी सत्तामा पुगेको हो । भारतीय जनतामा नेपालविरोधी भावना भड्किदियो भने त्यो नेपालका लागि हितकर हुनेछैन । यो विषय त्यहा“को सर्वोच्च अदालतले सल्टाएको पनि धेरै भएको छैन ।

छिमेकी मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्तिले त्यही (भारतस्थित) अयोध्यालाई नक्कली जन्मभूमि भनेर टिप्पणी गरिदिँदा भारतीय सत्ताभन्दा बढी जनता रुष्ट हुने खतरा पैदा भएको छ । हाम्रा प्रधानमन्त्री ओलीको प्रतिवादमा भारतीय सन्त–महन्त सडकमा उत्रिएका छन् । यसले दुई देशबीचको सामाजिक एवं सांस्कृतिक सम्बन्धको मर्ममै प्रहार गर्न सक्छ । सरकारस्तरको सम्बन्धमा समय–समयमा उतारचढाव देखिने गर्छ, भारतले हेपेको हामीले बारम्बार महसुस गरेका पनि हौँ । तर, जनस्तरको सम्बन्ध सदियौँदेखि हार्दिक र सुमधुर नै रहिआएको छ । विश्वका कुनै पनि दुई मुलुकका जनताबीच यस्तो विशिष्ट सम्बन्ध छैन, थिएन र हुँदैन । 

हुन त केहीले भारतले बुद्ध भारतमा जन्मिएको भनेर प्रचार गर्दा हुन्छ, हामीले राम हाम्रा भन्न किन नहुने तर्क गरेको पनि देखियो । तर, गलत कुराको अनुसरण गर्नु झन् ठूलो गल्ती हो । मुलुकका प्रधानमन्त्रीले सतही र सनकी कुरा गरिदिँदा राष्ट्रले दुःख पाउने अवस्था नआओस् । 

महान् राष्ट्रवादी देखिने लालसा 

ओलीले अब लामो समय सत्तामा टिकिँदैन भन्ने बुझेका छन् । त्यसैले, उनी आफूलाई महान् राष्ट्रवादी देखाउने प्रपञ्चमा छन् । तर, आन्तरिक विवादमा खुलेआम उत्तरी छिमेकीको निमन्त्रणले उनको राष्ट्रवाद पंगु बन्ने देखिएको छ । केपी ओलीको सत्तारोहण दुई कारणले सम्भव बन्यो–गणितीय र राष्ट्रयवादी छवि । तत्कालीन नेकपा एमाले र माओवादीबीचको वाम गठबन्धले गणितीय हिसाबले उनी बलियो बने । त्यसैगरी, ओलीले नाकाबन्दीको समयमा भारतविरुद्ध ‘चट्टानी अडान’ लिएको भनेर स्थापित भाष्यले उनीप्रति जनताको आकर्षण पैदा भयो । यो दोस्रो कारणमा गहन विमर्श हुन जरुरी छ । केपी ओलीको असली राष्ट्रवाद केवल एउटा ढोंग रहेछ भन्ने उनकै व्यवहारले उदांगो पार्दै छ । किनकि संसद्मा गैरकूटनीतिक र खिस्ट्याउने भाषामा भारतप्रति कटाक्ष गर्नु राष्ट्रवाद होइन । 

भारतको विरोध हाम्रो राष्ट्रवादको मूल भाष्य बनेको छ । भारतविरोधी हुनेबित्तिकै राष्ट्रवादी कहलिइन्छ, चाहे ऊ कुनै अर्को देशको दलाल नै किन नहोस् । पहिले, राजा महेन्द्र त्यही छविका कारण ‘महान् राष्ट्रवादी’ कहलाए । मरिचमान सिंह भारतीय नाकाबन्दीको समयमा अडान लिएको भनिएकै कारण राष्ट्रवादीका रूपमा सम्झिइने पात्र बने । अन्तरिम प्रधानमन्त्री हुनासाथ भारत भ्रमणमा भारतीय समकक्षीलाई ठाडो उत्तर दिएर कृष्णप्रसाद भट्टराईले उस्तै तारिफ पाए । 

इतिहास साक्षी छ, नेपालले भारतलाई कूटनीतिमा बाजी मारेको छैन । भारतको विरोध जनतामाझ लोकप्रिय हुने माध्यम मात्रै बनेको छ । ओली अहिले त्यही पञ्चायती परम्परा निर्वाह गरिरहेका छन् । नाकाबन्दीका वेला जनताले साथ दिए र ओली राष्ट्रवादी बन्न पाए । तेलका लागि जनता लामो लाइनमा बसे, गाडी छाडेर साइकल चढ्न थाले, ग्यासको ठाउ“मा दाउरा बाले, दुःख जनताले सही दिए । सत्तारोहणको भ-याङ ओलीले पाए । पहिले किन चाहियो नक्सा, हामी जमिनै फिर्ता ल्याउँछाँं भन्दै पन्छिएका ओली, सरकारको चौतर्फी विफलतालाई ढाक्न र दलभित्र नक्सा जारी गर्न बढ्दो दबाबका बीच नक्सा जारी गर्न पुगेका हुन् । उनी भूमि फिर्ता ल्याउने कुरामा साँच्चै गम्भीर हुन्थे भने कूटनीतिक पहलमा जोड दिने थिए ।

सिंहमेव जयते भन्दै भारतलाई थप चिढ्याउने थिएनन् । लिम्पियाधुरा र सीमाविवाद सुल्झाउन उनलाई सबैको अभूतपूर्व साथ र अवसर थियो । प्रतिपक्ष, मिडिया, नागरिक समाज र आमनागरिक सबैको बोली एउटै थियो । जसलाई बुझेरै भारत केही नरम देखिँदै थियो । तर, उनी भने अनाहकमा लहडी कुरा गरेर नयाँ–नयाँ विवाद झिक्दै मूल मुद्दाबाट भाग्दै गए । उनको यो विचलन सम्भवतः सत्ताको बहिर्गमनपछि समेत नरोकिन सक्छ । किनकि उनी यो देशका सबैभन्दा ठूला राष्ट्रवादी देखिन जो चाहन्छन् ।