१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ असार २० शनिबार ०९:३०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ ले पर्यटन क्षेत्रमा ४१ अर्ब नोक्सान

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असार २० शनिबार ०९:३०:००

-लकडाउनमा पनि पर्यटन पूर्वाधार कार्य भने द्रुत गतिमा अघि बढ्दै  

-हवाई र पर्यटन क्षेत्र खुल्ने अझै टुंगो छैन

कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा करिब ४१ अर्बको नोक्सानी व्यहोर्नुपर्ने प्रक्षेपण सरकारले नै गरेको छ । लकडाउनयताको तीन महिनामा मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँको नोक्सानी भएको सरकारको अनुमान छ । साउनसम्म थप ७ अर्ब नोक्सानी व्यहोर्ने अनुमान गरिएको छ । पर्यटन मन्त्रालयले हवाई र पर्यटन क्षेत्रको यही नोक्सानी विवरणका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गर्न अर्थ मन्त्रालयमा पठाएको छ ।   

‘पर्यटन क्षेत्रमा ४१ अर्बको नोक्सानी हुन सक्ने प्रक्षेपण छ,’ स्रोतले भन्यो । यो क्षेत्र पुनस्र्थापना र पुनर्जीवनका लागि सरकारले अनेक राहत प्याकेज घोषणा गर्नुपर्ने मागसमेत उठिरहेको छ । सरकारले पनि बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरेको थियो । भ्याट दाखिला गर्ने समयसीमा चार महिना बढाइएको थियो ।    

पर्यटन क्षेत्र राहतका लागि मन्त्रालयले लकडाउन सकिएपछिको एक महिना अवधिसम्म पार्किङ शुल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट, इजाजत तथा नवीकरण दस्तुरमा ५० प्रतिशत छुटका लागि सिफारिस गरेको छ । तर, मन्त्रिपरिषद्ले लागू गर्नेबारे निर्णय गरिसकेको छैन ।
 
लकडाउनमा पर्यटन पूर्वाधारमा भने उत्साहजनक काम

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लकडाउनको अवधिमा पनि पूर्वाधार निर्माणको काममा उत्साहजनक काम भएको दाबी गरेका छन् । मन्त्री भट्टराईले पर्यटन मन्त्रालयले तीन महिना गरेका कामको दर्जनौँ प्रगतिसमेत प्रस्तुत गरेका छन् । ‘समस्याका बीचमा पनि कामलाई अगाडि बढाएका छौँ, पूर्वाधार निर्माणको गति रोकेका छैनौँ,’ मन्त्री भट्टराईले भने । लकडाउनमा पदमार्ग निर्माणदेखि विमानस्थल तथा सम्पदा पुनर्निर्माणको काम धमाधम भइरहेको मन्त्री भट्टराई बताउँछन् । 

विमानस्थल निर्माणलाई द्रुतता 

मन्त्रालयले प्रस्तुत गरेको प्रगति विवरणअनुसार तीनवटा विमानस्थल निर्माणको कामलाई अगाडि बढाएको जनाएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ३ प्रतिशत थप प्रगति भएको छ । अहिले गौतम बुद्ध विमानस्थलको काम ९१ प्रतिशत सम्पन्न भइसकेको छ । धावनमार्गमा बत्ती जडानको काम अन्तिम चरणमा पुगेको छ । रङरोगन, उपकरण तथा मेसिनरी सामान आउनेक्रम जारी रहेकाले निकट भविष्यमै काम सम्पन्न हुने दाबी मन्त्रालयले गरेको छ । यता पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि ५९ प्रतिशत सम्पन्न भएको छ । लकडाउन अवधिमै ९ प्रतिशत काम सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार आयोजनाको काम पनि धमाधम भइरहेको छ । दक्षिणतर्फको ३ सय मिटर धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ । अन्तर्राष्ट्रियतर्फका ५ वटा पार्किङ क्षमताको पार्किङ वे सम्पन्न गरिएको छ । समानान्तर ट्याक्सी वे निर्माणका लागि एसियाली विकास बैंकसँगको सम्झौता अन्तिम तयारी रहेको छ । पार्किङ विस्तारको काम थालनी सेप्टेम्बरबाट गर्ने तयारी गरिएको छ । 
  
हवाई र पर्यटन क्षेत्र खुल्ने अझै टुंगो छैन

पर्यटन मन्त्रालयले हवाई र पर्यटन क्षेत्र तत्काल नखुल्ने संकेत गरेको छ । पर्यटनमन्त्री भट्टराई अहिले होटेल तथा एयरलाइन्स र विमानस्थलमा कोभिड–१९ पछि कसरी खोल्ने भनेर विभिन्न प्रोटोकल लागू गर्नका लागि तयारी भइरहेको बताउँछन् । 

कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको भन्दै अहिलेका पर्यटक र ग्राहक नै आउन नसक्ने अवस्थामा होटेल सञ्चालन गरेर मात्रै नहुने उनको भनाइ छ ।  मन्त्री भट्टराईले हवाईजहाजको पनि आवश्यक प्रोटोकल बनाएको जानकारी दिँदै सञ्चालनका लागि केही समय अझै लाग्ने बताए । कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उनले अरू देशहरूको तथ्यांक अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरूसँग सल्लाह गरी छिट्टै सञ्चालनका लागि सिसिएमसीमा प्रस्ताव लिएर जाने उनले बताए ।