१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
चीनको झेजियाङ प्रान्तमा रहेको होङ्सी होल्डिङ्सको मुख्य कार्यालय
कृष्ण रिजाल काठमाडौं
२०७७ असार १८ बिहीबार ११:०१:००
Read Time : > 2 मिनेट
अर्थ

१६ वर्षदेखि रोकिएको दाङ सिमेन्ट चीनकै ठूलो  होङ्सी सिमेन्टले अघि बढाउने, साढे ३२ अर्ब लगानी

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ असार १८ बिहीबार ११:०१:००

भारतको ठूलो अम्बुजा सिमेन्टको सेयर चीनको होङ्सीले लियो, यसअघि नै नेपालमा उद्योग लगाइसकेको होङ्सी–शिवमकै प्रवर्द्धक हङकङ रेडलायन र नेपाली उद्योगीले लगानी गर्ने, चिनियाँको ८५ प्रतिशत र नेपालीको १५ प्रतिशत सेयर, सेयर ट्रान्सफर सक्नेबित्तिकै उद्योग स्थापनाको प्रक्रिया अघि बढाइने

१६ वर्षअघि अनुमतिपत्र लिएर पनि स्थापना हुन नसकेको दाङ सिमेन्ट इन्डस्ट्रिज प्रालिलाई चिनियाँ कम्पनी होङ्सी होल्डिङ ग्रुपले अघि बढाउने भएको छ । दाङ सिमेन्टको मुख्य सेयर होल्डर भारतीय कम्पनी अम्बुजा सिमेन्टको सेयर स्वामित्व खरिद गरेर होङ्सी होल्डिङ्सको सहायक कम्पनी हङकङ रेडलायनले नेपाली उद्योगीसँगको साझेदारीमा उद्योग स्थापना गर्ने भएको हो । 

पोखराको केसी समूहले दाङमा सिमेन्ट उद्योग स्थापना तथा क्लिंकर उत्खननका लागि अनुमति लिएको थियो । तर, अनुमति लिएको डेढ दशकसम्म पनि उद्योग स्थापना हुन सकेन । नेपाली कांग्रेसका तर्फबाट संघीय सांसदसमेत रहेका केसी समूहका अध्यक्ष सूर्यबहादुर केसीले उद्योग खोल्न नसकेपछि भारतीय कम्पनी अम्बुजा सिमेन्टलाई बहुमत सेयर बिक्री गरे । दाङ सिमेन्टमा अम्बुजासँगै नेपालका उद्योगी विजयकुमार दुगडको समेत साझेदारी रहेको छ । अम्बुजा र दुगडको साझेदारीले समेत उद्योगको पूर्वाधार स्थापना गर्न सकेन । अहिले होङ्सी शिवम् सिमेन्टकै स्वदेशी तथा विदेशी प्रवद्र्धकले अम्बुजाको सेयर स्वामित्व खरिद गरेर दाङ सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका हुन् ।

करिब १ अर्ब रुपैयाँमा दाङ सिमेन्टको अनुमतिपत्र, स्वामित्व तथा संरचना खरिद गर्ने प्रक्रिया अघि बढाइएको एक नेपाली लगानीकर्ताले बताए । ‘विभिन्न कारणले दाङ सिमेन्ट उद्योग स्थापना हुन सकेको थिएन, अहिले हामी होङ्सी शिवम् सिमेन्टकै प्रवद्र्धकहरू मिलेर स्वामित्व तथा संरचना खरिद गर्ने प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने, ‘स्वामित्व किनबेचको डिल मिलिसकेको छ, औपचारिक रूपमा हस्तान्तरण हुन मात्रै बाँकी हो ।’ स्वामित्व परिवर्तन भएलगत्तै उद्योगको पूर्वाधार निर्माण अघि बढाउने उनले बताए । 

होङ्सीको ८५ प्रतिशत नेपालीको १५ प्रतिशत सेयर

नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम्कै स्वदेशी तथा विदेशी प्रवर्द्धकले दाङ सिमेन्ट खरिद गरेर सञ्चालनमा ल्याउने भएका हुन् । चिनियाँ कम्पनी होङ्सी होल्डिङ्सअन्तर्गतको हङकङ रेडलायन र नेपालको सारडा, गोयल, लक्कीलगायत ग्रुपको साझेदारीमा स्थापना भएको होङ्सी शिवम् सिमेन्टले दुई वर्षअघि उत्पादन सुरु गरेको हो । होङ्सी शिवम्कै प्रवर्द्धकहरूले एचएसआई नामक इन्भेस्टमेन्ट कम्पनी दर्ता गरेका छन् । एचएसआई इन्भेस्टमेन्ट कम्पनीमा हङकङ रेडलायनको ८५ प्रतिशत र नेपाली कम्पनी सेभेन इन्भेस्टर्सको १५ प्रतिशत लगानी रहेको छ । सोही इन्भेस्टमेन्ट कम्पनीले दाङ सिमेन्टमा लगानी गर्ने हो । ‘दाङ सिमेन्टमा नेपाली साझेदारीतर्फ गोयल, लक्कीलगायत समूहकै सहभागिता हुनेछ,’ ती लगानीकर्ताले भने, ‘अहिलेका नेपाली साझेदार विजयकुमार दुगड साझेदारीमै बस्ने कि निस्किने अझै टुंगो लागेको छैन ।’ 

साढे ३२ अर्बको लगानी विदेशबाटै ऋण ल्याइने

लगानी बोर्ड नेपालको ५ असारमा बसेको ४४औँ बैठकले दाङ सिमेन्ट इन्डस्ट्रिज  परियोजनाका लागि ३२ अर्ब ५० करोडबराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । यसमध्ये ६० प्रतिशत ऋण र ४० प्रतिशत पुँजीमा लगानी गरिनेछ । ऋण पनि विदेशबाट नै ल्याइनेछ । ‘सुरुमा अहिलेको सेयर स्वामित्वको हस्तान्तरणको प्रक्रिया टुंग्याउनुपर्नेछ, यसका लागि एक वर्षजति लाग्ने अनुमान छ,’ एक लगानीकर्ताले भने, ‘स्वामित्व हस्तान्तरणको काम सकेपछि विदेशबाट लगानी ल्याउने, हाम्रो पुँजी हाल्नेलगायत काम गर्नेछौँ ।’ विदेशी लगानी रहेको होङ्सी शिवम्ले ऋण भने नेपाली बैंकबाटै लिएको थियो । तर, दाङ सिमेन्टले भने ऋण पनि विदेशबाटै ल्याउने ती लगानीकर्ताले बताए । उद्योग सञ्चालनमा आउँदा कम्तीमा ५ सयजनाले प्रत्यक्ष रोजगारी पाउने कम्पनीले जनाएको छ ।

कहिले आउला सञ्चालनमा ?

नेपालमा उद्योग स्थापनाको प्रक्रिया निकै झन्झटिलो भएका कारण उद्योग स्थापना तथा उत्पादन सुरु गर्न चार–पाँच वर्ष नै लाग्न सक्ने एक लगानीकर्ताले बताए । ‘हामी जतिसक्दो छिटो उद्योग स्थापना गरेर उत्पादन सुरु गर्न चाहन्छौँ,’ उनले भने, ‘तर, सेयर स्वामित्व हस्तान्तरण, उद्योग दर्ता, लगानी ल्याउने अनुमतिलगायत प्रक्रिया पूरा गर्न नै एक–डेढ वर्ष लाग्न सक्छ, त्यसपछि उद्योग निर्माण गरेर उत्पादन सुरु गर्न अर्को अढाई वर्षजति लाग्न सक्छ ।’ दाङ सिमेन्टमा लगानी स्वीकृतिका लागि लगानी बोर्ड नेपालमा एक वर्षअघि नै निवेदन आएको थियो । तर, बल्ल गत ५ असारमा स्वीकृत भएको छ । तर, लगानी स्वीकृति भएको चिठी अझै प्राप्त नभएको एक लगानीकर्ताले बताए । 

दैनिक ६ हजार मेट्रिकटन उत्पादन क्षमता, अत्याधुनिक प्रविधि

उद्योगको उत्पादन क्षमता दैनिक ६ हजार रहेको छ । दाङ सिमेन्टमा होङ्सी शिवम्को जस्तै अत्याधुनिक प्रविधि जडान गरिनेछ । उद्योगले कुल ४० मेगावाट विद्युत् खपत गर्नेछ । त्यसमध्ये १२ मेगावाट विद्युत् उद्योगले नै उत्पादन गर्नेछ । उद्योगबाट निस्किने धुलोबाट विद्युत् उत्पादन गर्नेछ । खानीबाट उद्योगसम्म क्लिंकर ल्याउन करिब ७ किलोमिटर लामो कन्भेयर बेल्ट निर्माण गरिनेछ । हाल ३० बिघा क्षेत्रफलमा फैलिएको उद्योग परिसरमा थप ३० बिघा जमिन थप्ने कम्पनीको योजना छ । योजनाअनुसार जग्गा खरिद गर्ने प्रक्रियासमेत अघि बढाइसकेको छ । उद्योग स्थापना हुने स्थान राजमार्गबाट जम्मा डेढ किलोमिटरको दूरीमा तथा विद्युत् सबस्टेसनबाट साढे दुई किलोमिटरको दूरीमा रहेकाले सहज रहेको छ । त्यसैले प्रक्रिया छिटो सक्न सके उद्योग स्थापना तथा सञ्चालनमा ढिलाइ नहुने प्रवद्र्धकहरू बताउँछन् ।