१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

होङ्सी सिमेन्टलाई ३० मेगावाट विद्युत्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:५२:oo

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्सी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी एक सय ३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् आपूर्ति दिएको हो । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा सञ्चालित कम्पनीमा प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति नौ बजे चार्ज गरी विद्युत् आपूर्ति दिइएको हो । 

अहिले होङ्सी सिमेन्टले ३० मेगावाट विद्युत् खपत गर्नेछ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिने कम्पनीले जनाएको छ । उद्योगले आफ्नो परिसरमा ३१ दशमलव ५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति लिएको छ । ११ र ३३ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिने ग्राहकले भन्दा एक सय ३२ केभीको महसुल सस्तो छ । विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १ दशमलव ४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत् आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक रूपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ । 

उद्योगलाई विद्युत् आपूति गर्ने कार्यक्रममा उपस्थित कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्याका कारण प्रसारण लाइनको निर्माण अझै नसकिएको बताए । तर, वैकल्पिक व्यवस्था गरी होङ्सीलाई विद्युत् दिन सकिएको उनको भनाइ छ । होङ्सी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गराइएको हो ।

 नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२, दुम्कीवासमा बर्दघाट–भरतपुर दुई सय २० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्सी सिमेन्टलाई विद्युत् आपूर्ति दिइएको हो । दुई सय २० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई ट्यापिङ गरी बर्दघाट–सर्दी एक सय ३२ केभी प्रसारण लाइनको दुम्कीवास–सर्दीखण्डमार्फत उद्योगमा विद्युत् आपूर्ति दिइएको छ । कार्यकारी निर्देशक घिसिङले मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन ठूला उद्योगहरूले मागेजति विद्युत् दिइरहेको बताए । ‘गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरूको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायतका काम अभियानकै रूपमा चलाएका छाैँ,’ उनले भने । ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत् महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजानेसमेत उनले जानकारी दिए ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत् पुर्‍याउने घोषणाअनुसार बर्दघाट–सर्दी एक सय ३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको छ । 

वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण प्रसारण लाइनको निर्माण पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । नेपाल सरकारको लगानीमा ४० लाख र अमेरिकी डलर लगानीमा आर्थिक वर्ष ०७३/७४ मा आयोजना निर्माण थालिएको थियो ।

ad
ad