१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ १६ शुक्रबार १६:२१:००
Read Time : > 2 मिनेट
खेलकुद

कति सफल भयो बुन्डेस लिगा ?

Read Time : > 2 मिनेट
२०७७ जेठ १६ शुक्रबार १६:२१:००

युरोपका चर्चित प्रिमियर लिग स्थगित छन् । तर, जर्मनीको बुन्डेस लिगा दुई सातादेखि निरन्तर चलिरहेको छ । कोरोना भाइरसको महामारीबीच जर्मन फुटबल महासंघले जोखिम उठाएर बुन्डेस लिगा सुरु गरेको हो । 

यद्यपि बुन्डेस लिगा सुरु गर्न नहुने प्रतिक्रिया दिनेकाे जमात ठूलाे छ । विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार सामाजिक दूरी र खेलाडीको स्वास्थ्य ख्यालमा राखेर बुन्डेस लिगामा सञ्चालन भइरहेको छ । 

अहिले जर्मनीमा राजनीतिककर्मी, पत्रकार तथा समर्थकले चासोका साथ बुन्डेस लिगाबारे चर्चा गर्न थालेका छन् । यो दुई साताको सफलता भनेकै यही नै हो । रमाइलो पक्ष के रह्यो भने लिगा सुरु भएपछि विभिन्न सञ्चारमाध्यमको भ्युअर्स पनि ह्वात्तै बढेको छ । अहिले जर्मनीमा ४९ प्रतिशतले टिभीमा फुटबल खेल हेर्ने गरेका छन् । 

लिगा सुरु गर्नुअघि धेरैलाई यो लागेको थियो, खेलाडी कसरी सुरक्षित हुन्छन् ? खेलाडीको स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राख्दा उनीहरूको स्वास्थ्यमा केही पनि समस्या नआएको महासंघको भनाइ छ । ‘खेलाडीहरूले धेरैभन्दा धेरै हाइजेनिक खाना खानुपर्छ,’ जर्मनीका स्वास्थ्य विशेषज्ञ कार्ल लाउटेवाचले भने, ‘पौष्टिक खाद्यान्न अहिलेका आवश्यकता हो ।’ 

खेलाडीले निमय पालना गरेका कारण नै त्यति समस्या नआएको महासंघले बताएको छ । ‘खेलाडीले सबैका भ्रम चिरेका छन्, कोभिड–१९ को महामारीबीच सञ्चालित लिगामा खेलाडीहरूले आफूलाई स्वस्थ मात्र राखेनन्, उनीहरूले सकारात्मक सन्देश पनि दिएका छन्,’ महासंघले भनेको छ । 

यसअघि जर्मनीको प्रिमियर डिभिजन २ मा केही समस्या आएको थियो । ड्यानामो ड्रेस्डेनका खेलाडीमा इन्फेक्सन समस्या देखिएको थियो । यद्यपि उनीहरूमा कोरोना भाइरस संक्रमण थिएन । तैपनि खेलाडीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । 

जर्मन फुटबल लिग (डिएफएल) ले सबै डिभिजन लिगको जिम्मेवारी लिने गरेको छ । डिएफएलले पनि डयानामोबाहेक अन्य क्लबमा समस्या नभेटिएको जनाएको छ । ‘बुन्डेस लिगा सुरु हुँदा धेरै जटिल हुने देखिएको थियो, तर अहिले सबै एकनासले अगाडि बढेको छ,’ डिएफएलका निर्देशक क्रिस्टियन सेफेर्टले भने, ‘यद्यपि हामी अझै पनि ढुक्कका साथ बस्न सक्दैनौँ, बुन्डेस लिगामा धेरै खेल बाँकी नै छन् ।’ 

अहिलेसम्म योजनाअनुरूप नै लिगा चलिरहेको डिएफएलको भनाइ छ । तर, हेर्थ बर्लिनका दुई खेलाडीले गरेका सेलिब्रेसन नै अहिलेसम्मकै नराम्रो घटनाका रूपमा रहेको डिएफएलले जनाएको छ । सामाजिक दूरी राख्नु र सामान्य खुसियाली मनाउन भनिएको छ । बर्लिनका खेलाडीले गोल गरेपछि आपसमा अंकमाल मात्र गरेनन्, उनीहरूले चुम्बन पनि साटासाट गरेका थिए । जसका कारण सामाजिक दूरीको नियम पहिलो दिन नै भंग भयो । 

महासंघले बल मैदानमा चलायमान नहुँदासम्म खेलाडी एक–आपस नजिक नहुनु भनिएको छ । ‘मैदानमा बल खेलाइरहेको अवस्थामा सामाजिक दूरी नियम लागू हुँदैन, तर जब बल ‘डेथ’ अवस्था रहन्छ त्यसवेला खेलाडी नजिक बस्न मिल्दैन,’ महासंघको नियममा भनिएको छ, ‘खेलाडीले गोल गरेपछि बुट वा कुइना मिलाएर खुसी मनाउन सक्छन् ।’ यी नियम तोडिएको अवस्थामा खेलाडी कारबाहीमा पर्न सक्छन् । 

कमेन्टेटर मार्कुस सोडेरले मैदानमा खेलाडीहरूलाई रोक्न नसकिने बताए । ‘मलाई लाग्दैन, मैदानमा खेलाडी फर्कँदा स्वाभाविक खेल प्रदर्शन गरिरहेका हुन्छन्, त्यसवेला उनीहरूले आफूलाई नियन्त्रण राख्न सक्दैनन्, पछिल्लो समय भएका घटना यही नै थियो ।’ 

मार्कुसले खेलाडीहरू फेस टु फेस हुँदा इन्फेक्सन हुन सक्ने औँल्याएका छन् । ‘हामी सबै कोभिड– १९ बाट सुरक्षित रहनुपर्छ, तर मैदानमा खेलाडीहरू एक–आपसमा मुख लगाउँदा इन्फेक्सन हुने सम्भावना छ, बुन्डेस लिगामा यस्तो कार्यमाथि प्रतिबन्ध लगाउनुपर्छ,’ मार्कुसले भने । 

यता होफेन्हेनविरुद्ध गोल गरेका इवेसर्भिकले मैदानमा खेलाडीलाई रोक्न कठिन भएको बताए । ‘जब खेलाडीले गोल गर्छन्, त्यसवेला तपाईं उसलाई सेलिब्रेसन गर्न रोक्न सक्नुहुन्न,’ इवेसभिकले भने, ‘गोल गरेको क्षण विशेष हुन्छ ।’ खेलअघि उनले डाक्टरसँग गोल गरेको अवस्था साबिकजस्तै खुसियाली मनाउन सकिन्छ वा सकिन्न भन्ने प्रश्न गरेका थिए । 

इवेसभिक भन्छन्, ‘हामी व्यावसायिक खेलाडी हौँ, यसकारण बुट वा कुइना मिलाएर खुसियाली मनाउन सक्दैनौँ ।’ 

अहिले बुन्डेस लिगाको एउटै मात्र नराम्रो पक्ष हो, दर्शकरहित रंगशाला । दर्शकविना मात्र लिगा सुरु गर्न अनुमति जर्मन सरकारले दिएको छ । यसैकारण रंगशालामा केवल खेलाडी, चिकित्सक, सुरक्षाकर्मी तथा पत्रकार मात्र बस्न पाउने व्यवस्था छ । यीबाहेक अन्य कसैलाई पनि रंगशालाभित्र प्रवेश निषेध गरिएको छ । 

सहभागी कुनै पनि क्लबले होम एडभान्टेज लिन पाएका छैनन् । खेलाडीले तटस्थ मैदानमा प्रतिस्पर्धा गरिरहेको अनुभव गरेका छन् ।  लिगामा आबद्ध धेरैजसो खेलाडीले प्रतिस्पर्धा नभएर अभ्यास खेलजस्तो भएको बताएका छन् । 

बायर्न म्युनिखका लिजेन्ड फ्रान्ज बेकेबाउर भन्छन्, ‘अहिलेको लिगा हेर्दा खेलाडीले प्रशिक्षण गरिरहेको जस्तो लाग्छ ।’ दर्शकरहित फुटबल अर्थहीन भएको उनी मान्छन् । 

यता बोरुसिया डर्टमुन्डका गोलरक्षक रोमान बुर्कीले दर्शकरहित प्रतिस्पर्धा खल्लो लागेको बताए । ‘तपाईं ८१ हजार दर्शकअगाडि खेल्नु र एकजना पनि दर्शक नभएको रंशगालामा खेल्दा धेरै फरक पाउनुहुन्छ,’ गोलरक्षक बुर्कीले भने, ‘होम एन्ड अवे अवधारणा हुँदा दर्शकको भूमिका महत्वपूर्ण रहन्छ ।’ 

यद्यपि आलोचनाबीच बुन्डेसा लिगा सुरु भए पनि टेलिभिजन भ्युअर्सको संख्या बढेको छ । अहिले निजी टेलिभिजन आफ्नो टिआरपी बढाउने प्रयासमा छन् । निजी टेलिभिजन कम्पनीले सबै बुन्डेस लिगाका खेल देखाइरहेका छन् । यसले उनीहरूको टिआपीसमेत बढेको छ ।