
एकै समयमा भएको खेलमा बोरुसिया डर्टमन्डले अंक बाँड्दा बायर्न म्युनिख जित निकाल्दै च्याम्पियन बन्यो
बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबल २०२२–०२३ को उपाधि शनिबार जितेको छ । लिगको अन्तिम खेलमा बोरुसिया डर्टमन्ड मैन्जसँग २–२ गोलको बराबरीमा रोकिँदा बायर्नले कोल्नलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो । बायर्नले लगातार ११औँ पटक बुन्डेस लिगाको उपाधि जितेको हो । बायर्न सन् २०११–०१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । समग्रमा बायर्नको यो ३२औँ बुन्डेस लिगा उपाधि हो ।
जितसँगै बायर्नले ३४ खेलमा ७१ अंक जोडेर च्याम्पियन बन्यो । दोस्रो स्थानको डर्टमन्डको पनि ७१ अंक छ । तर, गोलअन्तरले बायर्न अघि रहेको हो । घरेलु मैदानमा ८२ हजार दर्शकसामु अन्तिम खेल जित्दै डर्टमन्डको उपाधि जित्ने सपना भने पूरा हुन सकेन ।
यता, आठौँ मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८१औँ मिनेटमा डेजानले गोल गर्दै कोल्नलाई १–१ बराबरीमा ल्याए ।
एक मिनेट बाँकी रहँदा जर्मन अन्तर्राष्ट्रिय खेलाडी जमल मुसिआलाले गोल गर्दै बायर्नलाई २–१ को रामोञ्चक जित दिलाएका हुन् । यससँगै थोमस टुचेलले पहिलोपटक बुन्डेस लिगा उपाधि जितेका छन् । यसअघि उनले सन् २०१७ मा डर्टमन्डका लागि जर्मन कप उपाधि जितेका थिए ।