मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
पाँचखाल नगरपालिका–७ का नवराज ढकालको बारीमा पाकेका गोलभेँडा । तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका
अजित अधिकारी काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०७:४८:००
Read Time : > 2 मिनेट
अर्थ

काठमाडौंमा भारतको तरकारी : पाँचखालका किसानको उत्पादन बारीमै सड्यो

जग्गा भाडामा लिएर खेती गरेकालाई चिन्ता, हरियो फर्सी कुहाएर मल बनाउँदै

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०७:४८:००

आफूले धेरै खर्च गरेर उत्पादन गरेको तरकारी लकडाउनको मौका छोप्दै व्यापारीले सस्तो मूल्यमा दिन माग गरेपछि काभ्रेका किसानले खेतमै कुहाउन थालेका छन् । लकडाउनका कारण तरकारीको खपत घटेको दाबी गर्दै व्यापारीले मूल्य घटाएर तरकारी बेच्न किसानलाई भन्दै आएका छन् । तरकारीको मुख्य उत्पादन क्षेत्र रहेको पाँचखालमा गोलभेँडाको मूल्य प्रतिकिलो दुई रुपैयाँमा झरेपछि किसानले खेतमै कुहाउन थालेका हुन् ।

२५ किलोको एक क्रेट गोलभेँडालाई व्यापारीले एक सयदेखि एक सय ५० रुपैयाँ मात्रै दिने भनेपछि आफूले बेच्नुको साटो कुहाउन उचित सम्झेको पाँचखाल नगरपालिका–७ खाँडापाख्राका किसान चेतनाथ दंगालले बताए । ‘काठमाडौंसम्म ढुवानी गर्दा प्रतिक्रेट ६५ रुपैयाँका दरले त्यही मूल्यबाट कटाउनुपर्छ, ढुवानी भाडा कटाएर २५ किलो गोलभेँडाको ३५ रुपैयाँदेखि ८५ रुपैयाँसम्म हात पर्ने देखियो,’ उनले भने, ‘किलोको डेढदेखि दुई रुपैयाँसम्म भाउ आउने गोलभेँडा टिपेर बिक्री गर्ने जाँगर छैन ।’ गोलभेँडा टिप्दा पुरुषले एक हजार र महिलाले ६–७ सय रुपैयाँ ज्याला लिन्छन् । यति महँगो ज्यालामा टिपेको गोलभेँडा बढीमा दुई रुपैयाँमा बिक्री गर्नुको सट्टा बारीमै कुहाएर मल बनाउने उनले बताए । 

लकडाउन सुरु भएयता भारतबाट करिब ६ अर्बको तरकारी आयात भइसकेको छ । त्यस्तै, काठमाडौंका उपभोक्ताले गोलभेँडाको प्रतिकिलो ४० रुपैयाँसम्म तिरिरहेका छन् । पाँचखालको सबै गोलभेँडा काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आउने गर्छ । मंगलबार कालिमाटीको थोक बजारमा गोलभेँडाको भाउ २० रुपैयाँ तोकिएको थियो । ललितपुरको भैँसेपाटीमा सोही गोलभेँडाको उपभोक्ता मूल्य ४० रुपैयाँ छ । दुई रोपनीमा लगाएको घिरौँला दंगालले ५–६ रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेका छन् । करेला भने प्रतिकिलो १८ रुपैयाँमा बेचेको उनले बताए । 

गत वर्ष यो समयमा गोलभेँडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ
पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसान नवराज ढकालले १० रोपनीमा लगाएको गोलभेँडा बारीमा लटरम्मै फलेको छ । तर, सो गोलभेँडा बिक्री नगरी नष्ट गर्ने योजना रहेको उनले बताए । ‘गत वर्षको मूल्यअनुसार हिसाब गर्ने हो भने यो बारीबाट १५ लाख रुपैयाँसम्मको गोलभेँडा उत्पादन हुने अपेक्षा थियो, तर कि नष्ट गर्नुपर्ने कि दुई रुपैयाँ प्रतिकिलोमा बेच्नुपर्ने भएपछि नबेच्ने निष्कर्षमा पुगेँ,’ उनले भने । गत वर्ष किसानले यो समयमा ८० रुपैयाँ प्रतिकिलोसम्ममा गोलभेँडा बिक्री गरेको उनले सुनाए । श्रीरामपाटीकै किसान श्रीराम धिमालले साढे चार रोपनीमा लगाएको घिरौँला, काँक्रो र फर्सीले मूल्य नपाउने भएपछि बारीमा कुहाउन थालेको बताए । 

जग्गा भाडामा लिएर खेती गरेकालाई चिन्ता
पाँचखाल नगरपालिका–१२ कनिके खोलामा भक्तबहादुर दनुवारले १५ रोपनीमा बोडी, गोलभेँडा, भिँडेखुर्सानी, माछे खुर्सानी, घिरौँला, करेला र फर्सी लगाएका छन् । उनको स्वामित्वमा एक रोपनी जग्गा मात्र छ, बाँकी १४ रोपनी जग्गा लिजमा लिएका हुन् । ‘वार्षिक रूपमा भाडा तिर्ने गरी प्रतिरोपनी १० देखि २० हजार रुपैयाँसम्ममा लिएको छु । यहाँ राम्ररी तरकारी फलेर राम्रै मूल्यमा बेच्न पाउँदा प्रतिरोपनी ३० हजार रुपैयाँसम्मको बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘तर गोलभेँडा दुई रुपैयाँ र घिरौँला, काँक्रो, फर्सी प्रतिकिलो ५–६ रुपैयाँमा बिक्री गर्दा जग्गा भाडाको पैसा पनि तिर्न नपुग्ने भयो ।’ दनुवारको पाँचजनाको परिवार कृषि पेसामै छ । अन्य कुनै आम्दानीको स्रोत नभएको दनुवार परिवार मंगलबार दिउँसो परेको भीषण वर्षाको परवाह नगरी गोलभेँडा, करेला, फर्सी संकलन केन्द्रमा ल्याइरहेको थियो । ‘जति मूल्य पाए पनि बिक्री गर्नुप¥यो । बारीमा कुहाएर फाल्नुभन्दा साहुको जग्गाको पैसा तिर्न केही हदसम्म सजिलो होला कि भनेर बेच्नुपर्ने बाध्यता छ,’ उनले मलिन स्वरमा भने । उनको भाइबुहारी मैना दनुवारले १२ रोपनी क्षेत्रफलमा तरकारी खेती गरे पनि कुनैले पनि मूल्य नपाएको गुनासो गरिन् । 

हरियो फर्सी कुहाएर मल बनाउँदै
पाँचखालमा हरियो फर्सीको मूल्य सो क्षेत्रमा ५–६ रुपैयाँ मात्र छ । स्थानीय प्रेम धिमालले करिब सात रोपनीमा तरकारी लगाएका छन् । केही समयअघि उनले एक सय ५० किलो घिरौँला आठदेखि १० रुपैयाँमा बिक्री गरेका थिए । यतिबेला भने प्रतिकिलो ५–६ रुपैयाँमा मूल्य झरेको उनले बताए । धिमालले फर्सीको बिक्री भने नभएको बताए । ‘व्यापारीले फर्सीको बजार छैन भनेपछि टिपिएन, बारीमा कुहाएर मल बनाइरहेको छु,’ उनले भने । 

विदेशबाट तरकारी आयात तुरुन्त बन्द गर्नुपर्छ : महेश खरेल, मेयर
पाँचखाल नगरपालिका

किसानले अत्यन्तै थोरै मूल्यमा तरकारी बिक्री गर्नुपरेको देखेर मलाई चिन्ता लागेको छ । काठमाडौंमा खपत घटेकाले मूल्य नपाएको किसानले बताएपछि मैले पोखरा र दमौलीका मेयरसँग कुरा गरेर दुई ट्रक तरकारी पाँचखालबाट पठाएको छु ।

पाँचखालको तरकारीको बजार काठमाडौं हो । तर, यहाँको माग घटेकाले अन्य बजारको विकल्प खोज्न हामी क्रियाशील छौँ । लकडाउनमा धेरै तरकारी आयात भइरहेको सुनेका छौँ ।

विदेशबाट तरकारी आयात तुरुन्त बन्देज गर्नुपर्छ । सरकारले आयात बन्देज गरे हामी काठमाडौंको बजारमा स्थानीय तरकारीको आपूर्ति बढाएर माग सम्बोधन गर्न सक्षम छौँ । आयात बन्देज गरे अहिले किसानले भोगिरहेको समस्या समाधान गर्न ठूलो बल पुग्छ ।