१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मणि थापा
२०७६ चैत २६ बुधबार १४:४६:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

कोभिड– १९ ले सिर्जना गरेको संकट समाधानको भौतिकवादी विश्लेषण 

Read Time : > 5 मिनेट
मणि थापा
२०७६ चैत २६ बुधबार १४:४६:००

समाज गतिशील हुन्छ र अन्तरविरोधी पनि हुन्छ । समाजको गतिशीलता र अन्तरविरोधबाट पैदा हुने संकटहरूको समाधान समाजले होस्, मान्छेले होस् वा राष्ट्र र विश्वले निश्चित मापदण्डका आधारमा सोच्ने, बुझ्ने, बदल्ने र लागू गर्ने मनोविज्ञान निर्माण गर्न आवश्यक हुन्छ । ‘संकटको समाधान यसरी नै हुन्छ, यसरी नै गरिनुपर्छ’ भन्ने यान्त्रिक र जडता समाजमा हुँदैन । तर, समाजको बनोट, समाजको विकासक्रम, मानिसको चेतनाका आधारमा संकट र महासंकटहरूलाई चिर्दै समाजको रक्षा, विकास गर्न सकिन्छ । त्यसको निम्ति केही भौतिकवादी आधारको खोज गर्नुपर्छ । 

आज विश्व कोभिड– १९ को संकटबाट गुज्रिरहेको छ । यो संकट मूलतः मानव जातिको ज्ञान, चेतना, व्यवहार र संस्कृतिमाथि आएको संकट हो । यसभन्दा अगाडि यस्ता संकट नआएका होइनन् । ती संकट पनि मानव जातिले आफ्नो ज्ञान, विवेक र सहकार्यबाट समाधान गरेको थियो । आज कोभिड– १९ ले दिएको महासंकटको समाधान पनि मानव जातिले अवश्य गर्नेछ । यो संकट समाधानका निम्ति हामी भौतिकवादी अवधारणामा प्रस्ट हुन आवश्यक छ, जसले संकट समाधानको वैचारिक आधार मान्छे, समाज र विश्वलाई दिन सक्दछ । 

परिस्थितिको सही आकलन
तपाईं जहाँ रहनुहोस्, जसरी रहनुहोस्– राजनीतिमा रहनुहोस् वा व्यापारमा, खेलमा या खलियानमा– परिस्थिति तपाईंको अनुकूल हुन्छ या प्रतिकूल । अनुकूलता पनि परिस्थितिको सही आकलनको आधारमा तपाईंले निर्माण गर्नुभएको हुन्छ । प्रतिकूलता पनि तपाईंकै आकलनअनुसार हुन्छ । परिस्थिति अनुकूल बनाउने वा प्रतिकूल बनाउने भन्ने प्रश्न तपाईंले समाजको, व्यक्तिको, राष्ट्रको सही आकलन, वस्तुवादी विश्लेषण गर्नुमा रहेको हुन्छ । यसैलाई ‘ठोस वस्तुको ठोस विश्लेषण’ भनिन्छ । यसलाई वैज्ञानिक विश्लेषण पनि भन्न सकिन्छ । 

वैज्ञानिक भनेर मात्र पुग्दैन, विज्ञानमा इमानदारी चाहिन्छ भन्ने पनि मान्यता छ । इमानदारी भएर मात्र पनि पुग्दैन, त्यहाँ न्याय पनि अभिव्यक्त हुनुपर्छ । वैज्ञानिक, इमानदारी र न्यायविना हामीले वस्तु, परिस्थितिको सही विश्लेषण गर्न सक्दैनौँ । परिस्थितिलाई सही रूपमा चिन्न सकेनौँ भने संकटको सही समाधान पनि निकाल्न सक्दैनौँ । अतः वस्तुको, परिस्थितिको सही विश्लेषण गर्ने कुराको रणनीतिक महत्व हुन्छ । 

आज कोभिड– १९ ले विश्व संकटमा छ । हामी पनि यो संकटको सेन्टरमा छौँ । विश्वमा यसबारे नयाँ बहस सिर्जना भएको छ । साथसाथै नयाँ सहकार्य पनि छ । हिजोको मूल्य आज काम गर्ने अवस्थामा छैन । पश्चिमाहरूको विकासको मान्यता पनि हामीले देखिसक्यौँ । पूर्वीयहरूको हालत पनि देखिसकियो । यो अवस्थामा समग्र विश्वले परिस्थितिको सही आकलन गर्नुपर्ने स्थितिमा हामी आइपुग्यौँ । जसले सही विश्लेषण गर्छ, त्यो चेतना हुन्छ, सिद्धान्त हुन्छ, त्यसैले नेतृत्व गर्छ । हाम्रो सन्दर्भमा पनि प्रश्न त्यही हो । 

यो महासंकटमा जनताले हामीलाई हेरिरहेका छन् । जनताले सोचिरहेका पनि छन् । हामीले कुन गीत गाइरहेका छौँ, निर्वाचनको समयभन्दा पनि नजिकबाट हेरिरहेका छन् यो वेला । हामी इमानदार बन्नैपर्छ र इमानदार नभई सही विश्लेषण गर्न सक्दैनौँ । सही विश्लेषण र संश्लेषणविना जनताको मन छुन हामीले सक्दैनौँ । हामी लकडाउनमा बसिरहँदा हाम्रो जिन्दगीबारे, हाम्रो स्वास्थ्यबारे, हाम्रो भविष्यबारे हामी पनि इमानदार भएर प्रस्तुत हुन सक्नुपर्छ र समग्रमा हाम्रो भविष्यका लागि हामीले परिस्थितिको सही आकलन गर्न सक्नुपर्छ । 

धैर्य र निरन्तरता 
व्यक्ति, समाज र राष्ट्रको विकासक्रम निरन्तरतामा हुन्छ । त्यो निरन्तरताको यात्राको निम्ति असीम धैर्यको आवश्यकता पर्छ । व्यक्ति, समाज र राष्ट्रका लागि हारबाट जित जन्माउने अभिलाषा आवश्यक हुन्छ, यसलाई हामीले ‘अथक गतिशील प्रवृत्ति’ भन्न सक्छौँ । अथक र गतिशील प्रवृत्तिका साथै दूरदृष्टिको पनि उत्तिकै आवश्यकता पर्छ । हरेक संकटले यस्तो प्रवृत्तिको माग गर्छ । एउटा मान्छेका लागि पनि यो नियम सही छ । 

आज विश्व नै ‘लकडाउन’मा छ । यो ‘लकडाउन’ हाम्रो हातमा छैन । संसारका महाशक्ति राष्ट्रका नेतृत्वकर्ता सी जिनपिङ र ट्रम्पको हातमा पनि छैन । उनीहरूले मात्र फुकाउन चाहेर पनि फुक्दैन यो ‘लकडाउन’ । यो परिस्थितिमा विश्वका महाशक्तिहरू पनि असीम धैर्य, गतिशीलताबाट गुज्रनुपर्छ । आत्मसंयम र धैर्य नहुने हो भने विश्वसंकटको यो घडीबाट मुक्त हुन सकिँदैन । त्यसैले अहिले ट्रम्पको हडबडाउने प्रवृत्तिभन्दा सी जिनपिङको धैर्यको नै प्रशंसा भइरहेको छ । 

हामी नागरिकका लागि पनि यो कुरा सही हो । हामी ‘लकडाउन’मा छौँ, सेल्फ क्वारेन्टाइनमा छौँ । हामी चाहेर पनि घरबाहिर जान सक्दैनौँ । जसले धैर्य र आत्मसंयम गुमाउँछ, ऊ आफैँ खतरामा पर्छ । मानौँ, अहिले अमेरिकाले आत्मसंयम गुमायो भने अमेरिका नरहन सक्छ । अतः आत्मसंयम, धैर्य र त्यो धैर्यभित्र गति पैदा गर्ने संकटको औषधि हो । त्यो एउटा महाशक्तिको निम्ति जति सत्य छ, एउटा नागरिकको लागि पनि त्यत्तिकै सही छ र क्वारेन्टाइनका लागि पनि सही छ । 

इतिहासबोध 
संकट समाधानका लागि इतिहासबोध हुनैपर्छ । किनकि मान्छे, समाज, राष्ट्र त्यो इतिहासको कडी हो, जुन बाटोबाट ऊ गुज्रँदै–गुज्रँदै वर्तमानसम्म आइपुगेको छ । हामी जे छौँ, त्यो इतिहासका उत्पादनका चरित्र हौँ । आजको संकटको समाधानका लागि, विकासका लागि, निकासका लागि, रूपान्तरणका लागि इतिहासको त्यो तत्व पनि हुनु आवश्यक छ । कसरी ढुंगेयुगबाट पार लगाउँदै आजको आधुनिक युगसम्म हाम्रा पुर्खा प्रवेश गरे भन्ने इतिहासबोध संकट समाधानको डिएनए परीक्षण हो । अतः इतिहासबोध संकट समाधानको एउटा कडी हो । 

संकटै–संकटको गर्भबाट गुज्रँदै समाधानको बाटो हिँडेको गौरवशाली इतिहास छ भने हामी संकट समाधान गर्न सजिलै सक्दछौँ । जसरी हामीले नाकाबन्दी व्यहो¥यौँ, भूकम्प व्यहो¥यौँ, हामी इतिहासको त्यो बोधबाट परिचित छौँ र त वर्तमानको संकटबाट मुक्ति पाउने उपाय पनि भेटाउनेछौँ । भनिन्छ, वर्तमानको आधार इतिहास हो र वर्तमानमा टेक्दा हामीले इतिहासबोध गर्नैपर्छ । 

भविष्यवेत्ता 
महासंकटहरूबीच समाधानको उपाय खोजिरहँदा र त्यसको भौतिकवादी आधार खोजिरहँदा भविष्यप्रतिको आशा, विश्वास र भविष्यचेत हुनैपर्छ । वर्तमान इतिहासको पहाड चढेर भविष्यको शिखरमा पुग्न चाहन्छ । त्यसका लागि व्यक्ति, समाज, राष्ट्रले भविष्यचेतको आकलन गर्नुपर्ने हुन्छ । त्यो आकलनले मात्र संकटबाट समाधान निकाल्न सक्छ । 

कोभिड– १९ ले संसारभर हाहाकार सिर्जना गरिरहेको छ । मानव जाति यो हाहाकारसँग जुधिरहेको छ । तर, हाम्रो भविष्यचेत त्यो संकटसँग जुध्दै, नयाँ विश्व–व्यवस्था बनाउने चेत छ भने हामी जित्न सक्छौँ । यदि हामीसँग भविष्यचेत, भविष्यप्रतिको हाम्रो दृष्टिकोण छैन भने हामी पराजित हुनेछौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ मास्क मात्र लगाएर जनतामाझ किन गइरहेका छन् ? किनकि उनीहरू आ–आफ्नो भविष्य चेतअनुसार काम गरिरहेका छन् । उनीहरूले आ–आफ्नै ढंगले भविष्यको चिन्ता गरिरहेका छन् र कोरोनाविरुद्ध लडिरहेका छन् । 
सी जिनपिङको मास्क र डोनाल्ड ट्रम्पको न्युयोर्क लकडाउन नगर्ने चेतना उनीहरूको भविष्यचेत हो । 

हामी ‘लकडाउन’मा बसेका विश्वका करोडौँ मानिस आ–आफ्नै तरिकाले कोरोनाको प्रतिवाद गरिरहेका छौँ । एउटा नागरिकले कति सोच्छ र कति सोच्नुपर्छ भन्ने कुरा उसको भविष्यचेतले निर्धारण गर्छ । भविष्यप्रतिको चिन्ता भविष्यप्रतिको चेत पनि हो । अब कोरोनापछिको विश्वको शक्ति सन्तुलन के होला ? के यसले राजनीतिक, आर्थिक मूल्यमा परिवर्तन गर्ला ? आदि–इत्यादिबारे छलफल सुरु भइसकेको छ । यो अहिलेको भविष्यचेत हो । यस्तो चेतले संकटको वेला पनि आशाका किरणहरू छरिरहेको हुन्छ । 

मौलिक चिन्तन 
व्यक्ति, समाज, राष्ट्रको सोच्ने तरिका र इतिहास निर्माण, संस्कृतिको आधार, ऐतिहासिक प्रवृत्ति मौलिक हुने गर्छ । संकट समाधानको तरिका पनि मौलिकताको आधारमा नै हुन्छ । कोभिड– १९ को सन्दर्भमा पूर्वीया मौलिक परम्पराले कसरी विश्लेषण गरे र पश्चिमाहरूले कसरी बुझे भन्ने सन्दर्भमा धेरै कुरा बाहिर आइनै रहेका छन् । त्यसलाई समाधान गर्ने प्रश्नमा पनि मौलिक विशेषताको खोजी भइनै रहेका छन् । 

जुन समाज र राष्ट्र मैलिकताको जगमा खडा छ र आफ्नो मौलिकताप्रति गर्व गर्दछ, त्यसलाई आफ्नो जीवन–पद्धति बनाइरहेको छ, ती समाज र राष्ट्रले संकट समाधान पनि चाँडै गरिरहेका छन् । जस्तो ः कोभिड– १९ को सन्दर्भमा चीन, दक्षिण कोरिया र जापानले आफ्नै मौलिकताका आधारमा संकट समाधान गर्न कोसिस गरे र त्यो सके पनि । 

तर, आफ्नो मौलिक विशेषतालाई कम आँक्ने र आधुनिकताको नाममा अति आधुनिकता र स्वतन्त्रताको नाममा अति स्वतन्त्रता भएका समाज र राष्ट्रले संकट समाधान गर्न लामो समय लगाएका छन् । तिनमा पश्चिमा राष्ट्रहरू छन् । अतः मान्छे, समाज र राष्ट्रको मौलिक चिन्तन र परम्पराको महत्व यो कोरोना संकटको वेलामा पनि देखियो ।

आचरण, नैतिकता, आनीबानी पनि कुन चिन्तन, परम्परा र कुन मौलिकताबाट सिर्जना भएको हो भन्ने कुराले पनि संकट समाधानमा असर गर्दोरहेछ । संकटलाई आफ्नो मौलिकतामा बुझ्ने कुरा राजनीतिक भाषाको अर्थमा रणनीतिक महत्वको हुँदोरहेछ । त्यस्तो संकटको समाधान पनि मौलिक ढंगले नै हुँदोरहेछ । 

अहिले विश्व कोभिड– १९ को महामारीमा छ । विश्व मानव संकटमा छ । यो संकटको मौलिक भाष्य के हो ? अझ प्रस्ट भएको छैन । यो भाष्य प्रभाववादबाट मुक्त छ कि छैन ? त्यो पनि प्रस्ट छैन । यी प्रश्नमा जब हामी मौलिक चिन्तनको आधारमा आ–आफ्नै विशेषतामा विश्लेषण र संश्लेषण गर्न सक्छौँ, समाधान गर्न पनि सक्दछौँ । 

अहिले विश्व नै क्वारेन्टाइनमा छ, यसअघि कहिल्यै थिएन । यो विश्वकै मौलिक विशेषता बन्न पुगेको छ । यसको समाधान विश्वस्तरमा नै खोजिनुपर्ने हुन्छ, यो विश्वको विशिष्टता र मौलिकता बन्दै छ । यी माथिका आधारमा टेक्दै भौतिकवादी विश्लेषणको जगमा हामी संकटको समाधान गर्न सक्छौँ ।