मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०८० बैशाख २३ शनिबार ०५:५६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘विश्वव्यापी स्वास्थ्य संकटकाल  अन्त्य’ भएको डब्लुएचओको घोषणा

कोभिड– १९ को प्रभाव घट्दो

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०८० बैशाख २३ शनिबार ०५:५६:००

डब्लुएचओले सचेत गराउँदै भनेको छ– संकटकालीन चरण सकिएको हो, कोभिड आफैँ सकिएको भने होइन

विश्वभर : ७६ करोड ५२ लाख संक्रमित, ६९ लाख २१ हजार ६१४ को मृत्यु
नेपालमा : १० लाख ३ हजार ४ संक्रमित, १२ हजार ३० को मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड– १९ ले निम्त्याएको विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गरेको छ । बिहीबार बसेको डब्लुएचओको आपत्कालीन समितिको बैठकले तीन वर्षअघि कोभिड– १९ लाई गरिएको ‘अन्तर्राष्ट्रिय सरोकारको जनस्वास्थ्य संकटकाल (पिएचइआइसी)’ को वर्गीकरण अन्त्य गर्ने निर्णय गरेको हो । 

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा निर्णयको जानकारी गराए । ‘ठूलो आशाका साथ म कोभिड– १९ विश्वव्यापी स्वास्थ्य आपत्काल नरहेको घोषणा गर्दछु,’ घेब्रेयेससले भने । यद्यपि, विश्व स्वास्थ्य संगठनले कोभिड– १९ का लागि जारी संकटकाल अन्त्यको घोषणालाई महामारीकै समाप्तिका रूपमा नलिन चेतावनी दिएको छ । 

डब्लुएचओले पहिलोपटक ३० जनवरी २०२० मा कोभिड– १९ लाई ‘कोभिड संकटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा बैठक बसेर सावधानीको चेतावनी जारी गर्दै आएको छ । 

संगठन कुनै पनि मुलुकले यसलाई कोभिडविरुद्ध सतर्कता हटाउने कारण बनाउन नहुने सुझाव दिएको छ । ‘संकटकालीन चरण सकिएको हो, कोभिड आफैँ सकिएको होइन,’ विश्व स्वास्थ्य संगठनकी कोभिड विषयक प्राविधिक प्रमुख डा. मारिया भान केरखोभले भनिन् । विज्ञहरूले व्यावहारिक रूपमा विश्व स्वास्थ्य संगठनको यस घोषणाले त्यति ठूलो परिवर्तन ननिम्त्याउने बताएका छन् । अधिकांश मुलुकले तिनको सीमाभित्र कोभिड– १९ विरुद्ध लागू संकटकाल अन्त्य गरेर भाइरस नियन्त्रणका लागि पहिले लागू भएका प्रायः सबैजसो नियन्त्रण हटाइसकेका छन् ।

कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिरहेको समय २०२० मार्चमा डब्लुएचओले कोभिड– १९ लाई महामारीको रूपमा घोषणा गरेको थियो । डब्लुएचओको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोभिड– १९ का ७६ करोड ५२ लाखभन्दा बढी संक्रमितको पहिचान भयो भने ६९ लाख २१ हजार ६ सय १४ सोही रोगका कारण बिते । सोही तथ्यांकअनुसार नेपालमा हालसम्म कोभिड– १९ का १० लाख तीन हजार चार संक्रिमित भेटिए भने १२ हजार ३० को मृत्यु भएको पुष्टि भएको छ ।