१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ चैत २५ मंगलबार १२:११:००
Read Time : < 1 मिनेट
समाचार

रुघाखोकीका बिरामी बढेपछि स्वास्थ्य शिविर सञ्चालन

Read Time : < 1 मिनेट
२०७६ चैत २५ मंगलबार १२:११:००

रसुवाको उत्तरगया गाउँपालिका– १ तिरु र गोगनेमा रुघाखोकीको बिरामी बढेपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको  छ । रुघाखोकीका बिरामी बढेको गुनासो आएसँगै गाउँपालिकाको स्वास्थ्य टोली गाउँमै पुगी स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

सोमबार गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रवीन्द्र ठकुरीको नेतृत्वमा मेडिकल टोली खटाई स्वास्थ्य परीक्षण गरि औषधि वितरण गरिएको गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले बताए । उनले भने, ‘रुघाखोकीका बिरामी बढेको जानकारी आएसँगै तत्कालै सोही क्षेत्रमा स्वास्थ्य टोली परिचालन गरी हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गरी समस्या भएकाहरूलाई औषधि दिएका छौँ, अहिले आत्तिनुपर्ने अवस्था छैन ।’

गोगने र तिरुका करिब दुई सय नागरिकको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख रवीन्द्र ठकुरीले बताए । परीक्षण गरिएकामध्ये  १० जनामा ज्वरो आएको, करिब ४० जनामा रुघाखोकी लागेको र अन्य केहीमा पखाला लाग्ने र दमको बिरामी रहेको उनले बताए । उनले भने, ‘सामान्य रुघाखोकी रहेछ त्यस्तो जटिल केही छैन, स्वास्थ्य परीक्षण गरी औषधि दिई स्वास्थ्यसम्बन्धी परामर्श दिएका छौँ ।’ 

गोगने र तिरुका नागरिकमा देखिएको समस्या सिजनल फ्लु भएको र अहिले आत्तिनु नपर्ने उत्तरगया गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । विशेष गरी सरसफाइ र खानपानमा ध्यान दिन पनि स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् ।