१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ११ मंगलबार
  • Tuesday, 01 July, 2025
दीपक शर्मा सल्यान
२o८१ बैशाख ११ मंगलबार १४:३५:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी नागरिक लाभान्वित

Read Time : < 1 मिनेट
दीपक शर्मा सल्यान
नयाँ पत्रिका सल्यान
२o८१ बैशाख ११ मंगलबार १४:३५:oo

कालीमाटी गाउँपालिकामा सञ्चालन भएको एकीकृत घुम्ती शिविरमा एक हजारभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन्। पालिकामा पाँच स्थानमा सञ्चालन भएको शिविरबाट एक हजार २५ जनाले स्वास्थ्य परीक्षण गराएको कालीमाटी गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य सेवा शाखा प्रमुख गोरख थापाका अनुसार दुई सय ६५ जनाले भिडियो एक्सरे, एक सय ५० जनाले ल्याब सेवा, एक सय २५ जनाले भिआइए, १० जना महिलाले पाठेघरमा रिङ राखेका छन्। एक सय २५ जनाको भिआइए ( पाठेघरको मुखको क्यान्सर) चेकजाँच गर्दा सातजनामा पजिटिभ देखिएको थापाको भनाइ छ। पजिटिभ देखिएका बिरामीलाई भेरी अस्पताल नेपालगन्ज रिफर गरिएको उनले बताए।

दुर्गममा रहेका बासिन्दालाई सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री केसीले बताए। भौगोलिक विकटताका कारण घण्टौँ हिँडेर उपचारका लागि स्वास्थ्य संस्थासम्म धाउनुपर्ने बाध्यताका साथै दक्ष जनशक्ति नहुँदा रोगको पहिचानसमेत हुन नसक्ने अवस्थालाई अन्त्य गर्ने प्रयास शिविरबाट गरिएको केसीको भनाइ छ।

शिविरमा भेरी अस्पताल नेपालगन्जबाट डा. देवेन्द्र आचार्य, डा. रवि शर्मा वाग्ले र डा. सन्दीप आचार्यलगायतको विशेषज्ञसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। शिविरमा रुघाखोकी, टाइफाइड, निमोनिया, दम, पाठेघर खस्ने, गर्भवती, सुत्केरी, पेटका बिरामी, मनोरोगी र छालालगायतका समस्या लिएर बिरामी शिविरसम्म पुगेका थिए।

स्थानीय सरकारले स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुविधालाई जोड दिँदै आइरहेको गाउँपालिका उपाध्यक्ष सहनशीलता वली डिसीले बताइन्। पालिका आफैँले स्वास्थ्य शिविरको आयोजना गरेर स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बासिन्दाले लाभ लिएको उनको भनाइ छ।