१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ फाल्गुण ६ मंगलबार २०:०१:००
Read Time : > 1 मिनेट
अर्थ

ठेकदारलाई ‘लगाम’ लगाएर काममा लगाउँछौँ : मुख्यमन्त्री गुरुङ

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण ६ मंगलबार २०:०१:००

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी दिनमा प्रदेशभित्रका कुनै पनि विकास निर्माण कार्य समयमै सकिने बताएका छन् । प्रदेश सरकारले कुनै पनि पूर्वाधार निर्माणका काममा निर्माण कम्पनी वा ठेकदारलाई लगाम लगाएर काममा लगाउने उनको भनाइ छ ।

बागलुङको काठेखोला गाउँपालिकाको बिहु–भिमापोखरा जोड्ने गरी डुडिया खोलामा निर्माण थालिएको लामाबगर मोटरेबल पुलको शिलान्यासपछि बोल्दै मुख्यमन्त्री गुरुङले विगतमा निर्माण कम्पनीको लापरबाहीले धेरै निर्माण कार्य अलपत्र भए पनि पछिल्लो समयमा केही सुधार आएको बताए । आफूले जिम्मेवारी लिएको काममा भाग्न नपाइने भन्दै उनले ठेकेदार जहाँ भागे पनि ‘लगाम’ लगाएर काममा ल्याइने बताए ।

प्रदेश सरकारले निर्माण थालेका हरेक आयोजनाका ठेकदारले सरकारको अपेक्षा अनुसारै काम गर्न थालेको भन्दै मुख्यमन्त्री गुरुङले छिट्टै प्रदेशको भौतिक तथा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाइदिएको पनि दावी गरे । उनले प्रदेश सरकार गठनपछि अलपत्र अवस्थामा रहेका धेरै पुल निर्माण सम्पन्न भएको भन्दै आगामी तीन वर्षभित्र प्रदेशका विभिन्न स्थानमा करिब एक सय ३० वटा मोटरेबल पुल निर्माण गरिसक्ने उद्देश्य रहेको बताए ।

मुख्यमन्त्री गुरुङले ग्रामीण भेगका सबै जनताको घरमा ‘एक घर एक धारा’ र विद्युतको केन्द्रीय प्रशारण लाइन पु¥याउने प्रतिबद्धतासमेत व्यक्त गरे । विकासमा प्रदेशका कुनै पनि भागमा भेदभाव नहुने भन्दै उनले भने, ‘प्रदेशमा रहेका ८३ हजार गरिब परिवारलाई लक्षित गरी आगामी वर्षदेखि गरिबी न्यूनीकरण कार्यक्रम पनि सञ्चालन गरिनेछ ।’

आठ मिटर चौडाइ र ३० मिटर लम्बाइ रहेको लामाबगर मोटरेबल पुलको २५ माघ ०७७ भित्र निर्माण सम्पन्न गर्ने गरी एमएस निलगिरि नेशनल जेभी ललितपुरले निर्माणको ठेक्का पाएको छ । सिंगल स्पान मोडेलमा निर्माण हुन लागेको पुलको लागत तीन करोड ३१ लाख ६३ हजार ६ सय ७९ रुपैयाँ रहेको निर्माण कम्पनीका प्रतिनिधि सुनिलसिंह खत्रीले जानकारी दिए । उनले सम्झौताको मितिअगावै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोसमेत बताए ।