१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ माघ २४ शुक्रबार ०९:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

हेटौंडामा सञ्चालित अवैध क्रसर बन्द गर्न निर्देशन, बालुवा प्रशोधन उद्योग भत्काइयो

Read Time : < 1 मिनेट
२०७६ माघ २४ शुक्रबार ०९:४८:००

जिल्ला समन्वय समिति अन्तर्गतको अनुगमन समितिले मकवानपुरमा सञ्चालित अवैध क्रसर र बालुवा प्रशोधन उद्योग बन्द गर्न निर्देशन दिएको छ । नदीजन्य पर्दाथको अवैध उत्खनन्, प्रशोधन गर्ने क्रसर र बालुवा प्रशोधन उद्योग शुक्रबारदेखि लागू हुनेगरी बन्द गर्न समितिले निर्देशन दिएको हो । 

नदी, खोला अनुगमन गर्दा अवैध उत्खनन् र प्रशोधन गरिएको पाइएपछि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले बताए । अवैध रूपमा सञ्चालित जिल्लाका ३२ वटा क्रसर र एक सयभन्दा बढी बालुवा प्लान्टले निर्देशन पालना नगरे कडा कारबाही गरिने समितिका प्रमुख खुलालले चेतावनी दिए।

अनुगमन टोलीले हेटौंडाको राप्ती, कुखरेनी खोला आसपासका बालुवा प्रशोधन उद्योग भत्काउनुका साथै मेसिनरी औजारसमेत जफत गरेको छ । अवैध सञ्चालन गरिएको पाइएपछि दुई दर्जन बढी बालुवा प्रशोधन उद्योग भत्काइएको खुलालले जानकारी दिए । 

हेटौंडा–६ र १६ मा नवीकरण नभएका ४ वटा नदीजन्य अवैध उद्योग बन्द गरिएको खुलालले बताए । अनुगमनका लागि हेटौंडादेखि पश्चिम लोथरसम्म, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिका क्षेत्रमा तीन समूह गठन गरिएको थियो ।

डिभिजन वन कार्यालय मनहरीका प्रमुख दीर्घनारायण कोइरालाको नेतृत्वमा समिति गठन गरिएको हो ।निर्देशनपछि हेटौंडा उपमहानगरपालिका, भीमफेदी, मकवानपुरगढी, बकैया, बागमती गाउँपालिका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा छुटाछुट्टै समूह बनाएर नियमित अनुगमन गर्ने समितिको तयारी छ । उक्त क्षेत्रमा डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख इमनाथ पौडेलको नेतृत्वमा अनुगमन गर्ने निर्णय गरिएको छ ।