१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ माघ १७ शुक्रबार ०९:४९:००
Read Time : > 3 मिनेट
खेलकुद

इपिएल खेल्न क्रिस गेल आउँदै

Read Time : > 3 मिनेट
२०७६ माघ १७ शुक्रबार ०९:४९:००

थोरै नेपाली समर्थकले विश्व क्रिकेटकै धुरन्धर ब्याट्सम्यान क्रिस गेलको आक्रामक ब्याटिङ हेरेका हुन सक्छन् । अधिकांश नेपाली क्रिकेट समर्थकले टेलिभिजन स्क्रिनमै गेलका विशाल छक्का हेर्दै आएका छन् । अब त्यो दिन टाढा छैन, टी–२० फर्म्याटमा ‘वादशाह’ उपनाम पाएका गेल नेपालकै त्रिवि क्रिकेट मैदानमा चौका र छक्का प्रहार गरिरहेका हुनेछन् । ‘द युनिभर्सल बोस’को शब्द गुन्जमासँगै हजारौँ नेपाली दर्शक त्रिवि मैदानमा गेलको लोभलाग्दो ब्याटिङबाट आनन्दित हुनेछन् । के यो परिकल्पना मात्र हो ? यो कुनै परिकल्पना होइन, वेस्टइन्डिजका चर्चित बायाँहाते ब्याट्सम्यान गेल तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा पोखरा राइनोजमा आबद्ध भइसकेका छन् । 

आउँदो चैतमा त्रिवि मैदानमा हुने इपिएलमा गेलले पोखराबाट प्रतिस्पर्धा गर्ने पक्का भएको छ । गेल स्वयंले बिहीबार भिडियो च्याटमार्फत आफू पोखराको प्रतिनिधित्व गर्दै इपिएल खेल्ने घोषणा गरेका हुन् । ‘के छ नेपाल ? म क्रिस गेल युनिभर्सल बोस, एभरेस्ट प्रिमियर लिग खेल्न नेपाल भ्रमण गर्दै छु,’ गेलले भिडियो च्याटमार्फत इपिएल खेल्ने जनाउँदै भने, ‘आउनुहोस्, मेरो टोली पोखरा राइनोजको समर्थन गर्नुहोस् ।’ नेपाली समर्थकलाई उत्कृष्ट ब्याटिङ हेर्न तयार रहन गेलले आग्रह गरेका छन् । ‘नेपाल तयार भएर बस्नू, म त्यहाँ विस्फोटक ब्याटिङ गर्न आउँदै छु, हामी चाँडै भेटौँला,’ उनले भनेका छन् । 

गेलको यस घोषणासँगै नेपालमा चलिरहेको टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा उनी अहिलेसम्मकै ठूला स्टार खेलाडी बनेका छन् । गेलबाहेक इपिएलमा वेस्टइन्डिजका ड्वाने स्मिथ, श्रीलंकाका उपल थरंगा तथा अफगानिस्तानका मोहमद सेहजादजस्ता विश्व चर्चित खेलाडीको जमघट त्रिवि मैदानमा हुनेछ । पोखरा राइनोजले बिहीबार पत्रकार सम्मेलन गरी गेललाई आइकोनिक खेलाडीका रूपमा घोषणा गरेसँगै इपिएलमा थप विश्व क्रिकेटकै स्टार खेलाडी आउने क्रम जारी रहेको सन्देश प्रवाह भएको छ । पोखराले गेललाई कति पारिश्रमिक दिने गरी सम्झौता गरेको भन्ने खुलाएको छैन । 

इपिएलका अनुसार गेलले कम्तीमा दुई वा तीन खेल खेल्नेछन् । १२ मार्चमा गेल नेपाल आउनेछन् । भारतमा हुने इन्डियन प्रिमियर लिगमा सहभागी हुने गरी गेलले आफ्नो तालिका मिलाएको इपिएलले जनाएको छ । भारतमा २९ मार्चदेखि आइपिएल हुनेछ । ‘टी–२० क्रिकेटका सर्वकालीन स्टार खेलाडी पोखराबाट खेल्दै छन् भन्ने मलाई विश्वास लागेको छैन,’ पोखराका मालिक दीपक अग्रवालले भने, ‘गेलको आगमनसँगै नेपालमा टी–२० इभेन्टले एक फरक स्थान पाउनेछ ।’  

वेस्टइन्डिजलाई टी–२० विश्वकप उपाधि दिलाउँदाका प्रमुख ब्याट्सम्यान गेल पोखरामा रहँदा खेलाडीले धेरै सिक्न अवसर पाउने विश्वास अग्रवालले लिएका छन् । ‘मेरो नजरमा पोखरालगायत अन्य खेलाडीले पनि गेलबाट धेरै सिक्ने अवसर पाउनेछन्,’ उनले भने, ‘क्रिकेटकै लिजेन्ड गेलको विस्फोटक ब्याटिङ हेर्न हामी सबै लालायित छौँ ।’ 

इपिएलका निर्देशक आमिर अख्तरले गेललाई इपिएलमा ल्याउन धेरै समय लागेको जानकारी दिएका छन् । ‘हाम्रो लामो प्रयासपछि गेल इपिएलमा आबद्ध भएका हुन्,’ अख्तरले भने, ‘हामी मात्र नभएर गेलको ब्याटिङ हेर्न सबै इच्छुक र लालायित छन् ।’

के भन्छन् गेल ? 

के छ नेपाल ? म क्रिस गेल युनिभर्सल बोस । म एभरेस्ट प्रिमियर लिग खेल्न नेपाल भ्रमण गर्दै छु । आउनुहोस्, मेरो टिम पोखरालाई समर्थन गर्नुहोस् । नेपाल, गेट रेडी फर द गेल स्ट्रोम । चाँडै भेटौँला नेपालमा । 

नेपालमा ध्यान केन्द्रित गर्ने अवसर : ज्ञानेन्द्र मल्ल, कप्तान, नेपाल

इपिएलमा क्रिकेटकै युनिभर्सल बोस गेलले प्रतिस्पर्धा गर्दा विश्वकै ध्यान नेपालमा केन्द्रित हुनेछ । लामो समय वेस्टइन्डिज टोली र अन्य टी–२० लिगमा आबद्ध भई आक्रामक ब्याटिङ गरेका गेलसँग ड्रेसिङ रुम बाँड्न पाउँदा हामीले धेरै सिक्ने अवसर पाउनेछौँ । सँगै खेल्दा वा विपक्षीका रूपमा गेलविरुद्ध खेल्दा पनि नेपाली क्रिकेटरका लागि अनुभव लिने ठूलो अवसर हुनेछ । एक ब्याट्सम्यानका रूपमा गेलको खेल पछ्याएको छु । उनलाई फलो गरिन्छ । टी–२० कै विशेषज्ञ ब्याट्सम्यानको खेल त्रिवि मैदानमा हेर्न आतुर छु । 

खासै दबाब छैन : छुम्बी लामा, निर्देशक, क्विन्स इभेन्ट्स

गेलजत्तिको खेलाडी नेपाली टी–२० क्रिकेटमा आउनु असाध्यै राम्रो पक्ष हो । इपिएलमा गेल आउँदा हामी पोखरा प्रिमियर लिगका आयोजकलाई खासै दबाब छैन । मुख्यतः यस किसिमको संस्करणले कतिसम्म निरन्तरता पाउने भन्ने प्रश्न उठ्छ । आउँदा दिनमा पनि यत्तिकै लेभलमा क्रिकेट भइरह्यो भने अति उत्तम हुनेछ । गेलले इपिएल खेल्दा नेपाली क्रिकेटरले केही न केही सिक्ने अवसर पाउनेछन् । हामी व्यावसायिकभन्दा पनि पोखरामा क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिरहेका छौँ । यसैकारण हामीमाथि त्यति ठूलो दबाब नभएको महसुस गरेको छु ।

को हुन् गेल ?

४० वर्षीय गेलले क्रिकेटका सबै फर्म्याटमा रेकर्ड राखेका छन् । सन् १९९९ मा भारतविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका गेलले अन्तिमपटक २०१९ को अगस्टमा भारतविरुद्ध नै एकदिवसीय खेल खेले । विश्व क्रिकेटमा निरन्तर २० वर्ष राज गरेका गेल विशेषगरी टी–२० मा अहिलेसम्मकै आक्रामक ब्याट्सम्यानका रूपमा परिचित छन् । 

उनी विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)कै आइकोनिक ब्याट्सम्यान हुन् । रोयल च्यालेन्जर्स बेंग्लोरबाट उनले टी–२० फर्म्याटमा ३० बलमै शतकीय इनिङ्स खेलेका थिए । यसै फर्म्याटमा उनको नाममा व्यक्तिगत १७५ रनको विश्वकीर्तिमान छ । टी–२० मा उनले अर्को रेकर्डकै रूपमा २२ शतक लगाएका छन् । टी–२० मा १० हजार रन पूरा गर्ने उनी पहिलो ब्याट्सम्यान हुन् ।

२००७ देखि २०१० सम्म वेस्टइन्डिजको टेस्ट टोलीका कप्तान गरेका गेल आफूलाई ‘विश्वका मालिक’ भन्न रुचाउँछन् । टेस्टमा तेहोरो शतक र  एकदिवसीयमा दोहोरो शतकीय इनिङ खेल्ने उनी वेस्टइन्डिजका एक मात्र ब्याट्सम्यान हुन् । उनले टेस्टमा १०३ खेलमा १५ शतक, ३७ अर्धशतक प्रहार गर्नुका साथै ७३ विकेट लिएका छन् । यसैगरी, एकदिवसीयमा ३०१ खेलबाट २५ शतक तथा ५४ अर्धशतक प्रहार गरेका गेलले बलिङमा १६७ विकेट लिएका छन् । टी–२० मा उनले राष्ट्रिय टोलीबाट ५८ खेलमा दुई शतकीय इनिङ्स खेलेका छन् ।