मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक १६ आइतबार ०६:१२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्रिस गेलले पूरा गरे एक हजार छक्का

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १६ आइतबार ०६:१२:००

वेस्ट इन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलले टी–२० फर्म्याटमा एक हजार छक्का पूरा गरेका छन् । युएईमा सञ्चालन भइरहेको १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा गेलले राजस्थान रोयल्सविरुद्ध यो उपलब्धि हात पारेका हुन् । 

राजस्थानविरुद्ध आठ छक्का लगाउँदै टी–२० क्रिकेटमा समग्रमा एक हजार एक छक्काको संख्या पुर्‍याए । टी–२० मा यो कीर्तिमान बनाउने गेल एक्लो खेलाडी हुन् । गेलपछि किरन पोलार्डको नाम आउँछ । पोलार्डले ६ सय ९० छक्का प्रहार गरेका छन् । उनी पनि वेस्ट इन्डिजकै हुन् । यसैगरी न्युजिल्यान्डका पूर्वखेलाडी वेन्डान म्याककुलमले चार सय ८५ छक्का हिर्काएका छन् । 

टी–२० क्रिकेटमा धेरै शतक पनि गेलकै नाममा छ । उनले चार सय १० खेलमा २२ पटक शतकीय इनिङ्स खेलेका छन् । उनको नाममा ८५ अर्धशतकको कीर्तिमान पनि छ । छक्का र शतक मात्र होइन, गेलले धेरै चौका लगाउने कीर्तिमान पनि आफ्नो नाममा राखेका छन् । चार सय दुई इनिङ्समा गेलले एक हजार ४१ चौका प्रहार गरेका छन् । 

                                                                                        ०००

टी–२० का ‘बादशाह’ र ‘द बोस’ नामले चिनिने गेलले एकै इनिङ्समा व्यक्तिगत धेरै रन बनाएका छन् । उनले सन् २०१३ मा पुने वारियर्सविरुद्ध विश्व कीर्तिमान ब्याटिङ गरेका थिए । सो खेलमा उनले एक सय ७५ रन जोड्दा १७ छक्का हिर्काएका थिए । शुक्रबारको प्रतिस्पर्धामा राजस्थानविरुद्ध उनी एक रनले शतक प्रहार गर्नबाट चुके । गेल आइपिएलमा दोस्रोपटक ९९ रनम रोकिएका हुन् । गत वर्ष रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध उनी ९९ रनमा नटआउट रहेका थिए । टी–२० मा गेलले सर्वाधिक रन बनाएका छन् । उनले १३ हजार ५७२ रन जोडेका छन् । 

आइपिएलमा गेलको रेकर्ड तोड्न अन्य खेलाडीलाई मुस्किल छ । उनले आइपिएलमा तीन सय ४९ छक्का लगाएका छन् । यसैगरी उनले क्यारेबियन प्रिमियर लिगमा एक स्य ६२ तथा बंगलादेश प्रिमियर लिगमा एक सय ३२ छक्का लगाएका छन् । यो पनि रेकर्डकै रूपमा छ । 

आइपिएलको इतिहासमा चारपटक गेल सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका थिए । सन् २०११ मा उनले ४४ छक्का, २०१२ मा ५९ छक्का, २०१३ मा ५१ छक्का तथा २०१५ मा ३८ छक्का प्रहार गरे । आइपिएलमा लामो समय बेंग्लोरबाट खेले । बेंग्लोरबाट उनले दुई सय ६३ छक्का प्रहार गरेका थिए । गेलले आइपिएलमा डवाने ब्राभोविरुद्ध १७ छक्का तथा इमरान ताहिरविरुद्ध १२ छक्का प्रहार गरे । उनले पियूष चावला, सहिद अफ्रिदी तथा रसिद खानविरुद्ध समान ११–११ छक्का हिर्काउन सफल भए । 

अहिले गेल किंग्स ११ पन्जाबमा आबद्ध छन् । दोस्रो चरणमा किंग्स ११ पन्जाबले गेललाई मौका दिएको थियो । पहिलो चरणमा उनी बेन्चमै थिए । गेलले प्राप्त मौकामा उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।

– एजेन्सीको सहयोगमा