१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ कार्तिक २१ बिहीबार ०७:०२:००
Read Time : > 1 मिनेट
अर्थ

पर्यटक आकर्षित गर्दै मनाङको स्याउ बगैँचा

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २१ बिहीबार ०७:०२:००

हिमाली जिल्ला मनाङको मौसमी उपहार हो, स्याउ । हिमाली चिसो हावापानीमा फलेको स्याउ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । जिल्लाको ङिस्याङ गाउँपालिका–१, भ्राताङको स्याउ बगैँचाले आन्तरिक तथा बाहिरी पर्यटकको मनसमेत लोभ्याएकोे छ । एग्रो मनाङ प्रालिले भ्राताङमा ४५० रोपनीमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन् । मनाङ घुम्न जानेसमेत भ्राताङको स्याउ बगैँचा नघुमी फर्कंदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लाने गर्छन् ।

राइनास नगरपालिकाका प्रवीन कँडेल स्याउ बगैँचाबारे साथीबाट जानकारी पाएपछि लमजुङबाट मनाङको स्याउबारी पुगे । ‘सबैले कुरा गर्छन्, साथीहरू पनि घुम्न आएका थिए,’ उनले भने, ‘मलाई पनि एकपटक पुगेर स्याउ बगैँचा हेरौँझैँ लाग्यो, अहिले मज्जाले घुमेँ । निकै रमाइलो भयो ।’ स्याउ फलेको हेर्नकै लागि पहिलोपटक मनाङ पुगेको बताउँछन् काठमाडौंका मन्दीप थापा । ‘लटरम्म फलेको राताम्य स्याउ फार्ममा उभिएर मैले ‘सेल्फी’समेत लिएँ,’ उनले भने, ‘ठूलो स्याउबारी रहेछ । त्यहाँसम्म पुग्दा खुसीको कुनै सीमा नै छैन ।’ 

यहाँ आउने धेरै पर्यटक स्याउबारी घुम्न लालायित बन्छन् । बिदाको समयमा त यहाँ घुइँचो नै लाने स्थानीय मेलिना गुरुङले बताइन् । केही घुम्न त, केही स्याउ खेतीबारे जानकारी लिन आउने गरेको उनले जानकारी दिइन् । 

फार्मका निर्देशक समराज गुरुङका अनुसार स्याउ हेर्न भनेर मानिस आउने गरेका छन् । गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएको यस फार्ममा अघिल्लो वर्ष ३ सय ५० मेट्रिकटन स्याउ फलेको थियो । यस वर्ष ४ सय ५० मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको छ । 

पछिल्लो समय सडक विस्तार, बजारसम्म स्याउ कृषक तथा व्यवसायीको पहुँचले यो अनुपातमा परिवर्तन भएको स्थानीय बताउँछन् । मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासों र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती गरिँदै आएको छ । सबैको रोजाइ बनेको भ्राताङको स्याउ फार्मका सञ्चालक भने संघीय सांसद पाल्देन छोपाङ गुरुङ हुन् । गुरुङले सञ्चालन गरेको ‘एग्रो मनाङ कृषि फार्म’ले भ्राताङमा स्याउ उत्पादन गर्दै आएको छ ।

माथिल्लो मनाङ, टंकी मनाङ, खाङ्सार, ङावल, पिसाङ र भ्राकाको संगोलमा रहेको ७ सय ३५ रोपनी जग्गा भाडामा लिई यहाँ स्याउ खेती गरिएको हो । ‘एग्रो मनाङ कृषि फार्म’का निर्देशक समराजका अनुसार फार्ममा विभिन्न ३ थरीका स्याउ लगाइएको छ । उनका अनुसार समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइको भ्राताङमा इटली र सर्भियाबाट स्याउ बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ५ वर्ष भइसकेको छ । 

स्याउ जोन मनाङका अनुसार गत वर्ष मनाङमा ९ सय १६ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । अहिले मनाङबाट काठमाडौं, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ ।