Skip This
दक्षिण एसियाकै ठूलो मनाङको स्याउ फार्मबाट वार्षिक ६ सय टन उत्पादन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार o८:२१:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दक्षिण एसियाकै ठूलो मनाङको स्याउ फार्मबाट वार्षिक ६ सय टन उत्पादन

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o८:२१:oo

स्वदेशी स्याउबाट उत्पादन हुने पहिलो वाइन फ्याक्ट्री पनि सञ्चालनमा

नेपालमा सबैभन्दा बढी माग हुने फलफूलमा स्याउ प्रमुख मानिन्छ । नेपालमा आयात हुने फलफूलमा पनि यो पहिलो नम्बरमा छ । नेपालमा वार्षिक स्याउको माग एक लाख ३० हजार टनभन्दा माथि छ । स्वदेशी माग उत्पादन भने ५० हजार टनभन्दा पनि कम छ । अर्थात् नेपाल अझै स्याउमा परनिर्भर छ । गत आर्थिक वर्ष ०७९/८० मा सात अर्ब नौ करोडबराबरको ८३ हजार दुई सय ७४ टन र चालू आवको भदौसम्म एक अर्ब ४२ करोडबराबरको १४ हजार ६१ टनबराबर स्याउ आयात भएको छ । 

नेपालका मनाङ, मुस्ताङ, जुम्ला, डोल्पा, मुगु, कालीकोट, हुम्ला, सिन्धुपाल्चोकलगायतका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा व्यावसायिक रूपमा स्याउ खेती बढ्दै आएको देख्दा नेपाल स्याउमा आत्मनिर्भर हुने सम्भावना भने रहेको भान हुन्छ । सोहीअनुसार सरकारले पनि विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । तर, त्यसको कार्यान्वयन पक्ष भने फितलो छ । यद्यपि, पछिल्लो समय केही युवाहरू स्याउ खेतीमा आकर्षित हुन थालेका छन् । त्यसमा मनाङका युवराज गुरुङ पनि एक हुन् ।

उनले समुद्र सतहदेखि २८ सय मिटरमाथि रहेको मनाङको भार्ताङमा सात सय रोपनी जग्गामा स्याउ फार्म सञ्चालन गरिरहेका छन् । २० करोड रुपैयाँ लगानीमा ०७२ सालमा तयार भएको उक्त स्याउ फार्म दक्षिण एसियाको सबैभन्दा ठूलो हो । दक्षिण एसियाको दोस्रो ठूलो स्याउ फार्म पनि मनाङकै साब्जेमा रहेको छ, साब्जे स्याउ फार्म तीन सय ८० रोपनी जग्गामा फैलिएको छ । दक्षिण एसियामा भारतको जम्मु कस्मिरलगायतका ठाउँमा स्याउ खेती गरिन्छ । त्यहाँ उत्पादन धेरै हुन्छ । तर, एउटा फार्म भने १० रोपनी हाराहारीको क्षेत्रमा फैलिएको हुन्छ । तर, नेपालमा भने सात सय रोपनीमा एउटै स्याउ फार्म तयार गरिएको हो ।

गुरुङको परिवारले यसअघि परम्परागत रूपमा स्याउ खेती गर्दै आए पनि व्यावसायिक थिएन । नेपालमा स्याउको बढ्दो माग र उत्पादनको सम्भाव्यतालाई दृष्टिगत गर्दै उपल्लो मनाङका सात गाउँको सामुदायिक जग्गा भाडामा लिएर गुरुङले उक्त फार्म स्थापना गरेका हुन् । एग्रोमनाङ नामक कम्पनीबाट उक्त फार्म हाउस सञ्चालन गरिएको हो । हिमालयन फ्रेस नामक ब्रान्डबाट उक्त स्याउ काठमाडौं, पोखरालगायतका सहरमा बिक्री भइरहेको छ । भार्ताङस्थित मस्र्याङ्दी नदीको दुई किनारामा उक्त स्याउ फार्म छ । फार्म हाउसको तल्लो क्षेत्र समुद्रदेखि २८ सय मिटर हाराहारीको उचाइमा छ । उपल्लो क्षेत्र भने समुद्र सतहदेखि तीन हजार मिटरमाथि रहेको छ । 

फार्ममा ६० हजार हाराहारीमा स्याउका बोट छन् । त्यसको बिरुवा इटालीबाट आयात गरिएको हो । २५ वर्षसम्म आयु रहेको उक्त बोटको वार्षिक उत्पादन क्षमता १२ केजी (प्रतिबोट)भन्दा बढी छ । ५० प्रतिशत हाराहारीमा फुजी, ३० प्रतिशत हाराहारीमा गाला र २० प्रतिशत हाराहारीमा गोल्डेन जातका स्याउका बोट छन् । 

कति हुन्छ उत्पादन ? 
फार्मबाट वार्षिक ६ सय टन स्याउ उत्पादन हुँदै आएको छ । जुन स्याउ हिमालयन फ्रेस नामक ब्रान्डमार्फत काठमाडौं, चितवन, पोखरालगायत बजारमा उपलब्ध छ । स्याउ पाक्ने तथा टिप्ने सिजन यही (असोज–कात्तिक) हो । अहिले फार्ममा स्याउ टिपेर बजारमा पठाउन सुरु गरिएको छ । तर, अहिले नै उक्त स्याउ बिक्री हुने अवस्था भने हुँदैन । सोही अवस्थालाई लक्षित गर्दै कम्पनीले आफ्नै कोल्ड स्टोर पनि स्थापना गरेको छ । सोही कोल्ड स्टोरमा स्याउ स्टोर गरेर कम्पनीले अन्य समयमा पनि स्याउ बिक्री गर्दै आएको छ ।

नेपालमा स्याउको उत्पादन दर प्रतिहेक्टर झन्डै नौ टन भएकोमा मनाङको भने १३ देखि १५ टन छ । तर, उक्त फार्ममा प्रतिहेक्टर ४० टन हाराहारीमा स्याउ उत्पादन भइरहेको कम्पनीले बताएको छ । 

२८ स्थायी र ३५ अस्थायी रोजगारी 
फार्म स्थापना भएपछि २८ जना स्थानीयले स्थायी रूपमा नै रोजगारी पाएका छन् । साथै, स्याउ टिप्ने समयमा थप ३५ जनाले अस्थायी (सिजनल) रूपमा रोजगारी पाउने गरेको एग्रोमनाङका प्रबन्ध निर्देशक युवराज गुरुङ बताउँछन् । यसले मनाङका स्थानीयहरूको जीवनस्तर उकास्न सहयोग गरेको उनको भनाइ छ ।

वार्षिक १३ करोडभन्दा बढीको कारोबार
फार्ममार्फत कम्पनीले वार्षिक १३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ । कम्पनीले स्याउ मात्रै नभएर स्याउको चिप्स र जुस पनि बनाएर बिक्री गर्दै आएको छ । फार्म परिसरमा रेस्टुरेन्टसमेत सञ्चालन गरिएको छ । त्यसबाट वार्षिक १३ करोडभन्दा बढी आम्दानी हुने गरेको प्रबन्ध निर्देशक गुरुङ बताउँछन् । 

थप आठ हजार बिरुवा लगाइँदै 
कम्पनीले फार्मपरिसरभित्रै थप आठ हजार स्याउका बिरुवा रोप्ने तयारी पनि गरेको छ । हाल त्यसका लागि जमिन मिलाउने काम भइरहेको छ । अब केही समयमै त्यसमा बिरुवा रोप्ने कम्पनीको तयारी छ । 

अब कृषि पर्यटन पनि
फार्मलाई स्याउ उत्पादनका रूपमा मात्रै नभएर कृषि पर्यटनका रूपमा पनि विकास गर्ने कम्पनीको योजना छ । सोहीअनुसार फार्म हाउसपरिसरभित्रै आवासीय सुविधासहितको होटेल–रेस्टुरेन्ट पनि स्थापना गरिएको छ । अब मनाङलाई कृषि पर्यटनको गन्तव्यसमेत बनाउन लागेको कम्पनीको भनाइ छ ।

फ्याक्ट्री चलाउन आफ्नै हाइड्रोपावर 
वाइनको फ्याक्ट्री सञ्चालन गर्न कम्पनीले आफ्नै लघु जलविद्युत् आयोजनासमेत सञ्चालनमा ल्याएको छ । मनाङमा केन्द्रीय लाइन पुगेको छ । तर, त्यो लाइनबाट फ्याक्ट्री सञ्चालन गर्न सम्भव छैन । त्यहाँको प्रसारण लाइन तथा वितरण लाइनले घरायसी मागका लागि मात्रै विद्युत् प्रवाह गर्न सक्छ । त्यसैले साढे दुई करोड लगानीमा एक सय किलोवाट क्षमताको उक्त आफ्नै जलविद्युत् आयोजना बनाएको कम्पनीको भनाइ छ । 

मनाङको आर्थिक विकासमा सहयोग
स्याउ फार्म र वाइन फ्याक्ट्रीले मनाङ जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ । वाइन फ्याक्ट्री र स्याउ उत्पादन एक–अर्कामा अन्तरआबद्ध व्यवसाय पनि हो । यसले मनाङको रोजगारी, पर्यटन, कृषिलगायतका क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने कम्पनीहरूको अपेक्षा छ । 

पूर्वाधार गुणस्तरीय नहुँदा ढुवानीमा समस्या
उत्पादन पर्याप्त भए पनि गुणस्तरीय सडक नहुँदा त्यहाँ उत्पादन हुने स्याउ र वाइनलाई बजारसम्म ल्याउन भने चुनौती छ । त्यहाँको स्याउ नेपालका थुप्रै बजारमा पुगेको छ । साथै, वाइन पनि बजारमा आउन थालिसकेको छ । तर, गुणस्तरीय सडक नहुँदा ढुवानी खर्च भने उच्च मात्रामा हुने गरेको छ । 

मनाङ भौगोलिक रूपमा निकै विकट ठाउँमा छ । उच्च पहाडी चट्टानलगायतका कारण त्यहाँ सडकको अवस्था भने निकै नाजुक छ । अधिकांश ठाउँमा कच्ची सडक छ भने थुप्रै ठाउँमा खाल्डाखुल्डी छन् । सडकको चौडाइ पनि मुस्किलले दुई लेनको छ । त्यहाँ ठूला–ठूला ट्रक लैजान चुनौती छ । सडकको अवस्था राम्रो नहुँदा ढुवानीमा चुनौती भएको एग्रोमनाङका प्रबन्ध निर्देेशक गुरुङ र मनाङ बेभरेजका प्रबन्ध निर्देशक रञ्जितकार बताउँछन् । 

स्वदेशी स्याउबाट बनेको पहिलो वाइन 
एग्रोमनाङको स्याउमार्फत मनाङ बेभरेज कम्पनीले मनाङमै वाइन फ्याक्ट्री पनि स्थापना गरेको छ । मनाङ भ्याली नाममा कम्पनीले प्रिमियम स्विट र सेमी स्विट गरेर दुई भर्सनमा ह्वाइट वाइन बजारमा ल्याएको छ । गत बुधबार समुद्र सतहदेखि ३५ मिटरमाथि रहेको मनाङको साब्जे तालपरिसरमा विशेष कार्यक्रम गरेर उक्त वाइनको लन्च गरिएको थियो । कलाकार स्वस्तिमा खड्काले उक्त वाइनको लन्च गरेकी हुन् ।

स्वदेशी स्याउबाट बनेको यो पहिलो नेपाली वाइन पनि हो । मनाङमै स्थापना गरिएको उक्त वाइन फ्याक्ट्रीमा ३५ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

१० करोड लगानीमा बनेको उक्त फ्याक्ट्रीबाट अहिले वार्षिक दुई लाख लिटर वाइन उत्पादन गर्ने लक्ष्य छ । त्यसका लागि झन्डै दुई सय टन स्याउ आवश्यक पर्नेछ, जुन स्याउ एग्रोमनाङको फार्मबाट ल्याइनेछ । आवश्यक तथा माग भएको अवस्थामा आगामी दिनमा उत्पादन बढाउने सक्ने गरी फ्याक्ट्रीको संरचना तयार गरिएको कम्पनीका प्रबन्ध निर्देशक आश्रय रञ्जितकारले बताए । यो वाइन फ्याक्ट्रीले मनाङको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने पनि उनले बताए । ‘भौगोलिक रूपमा विकट मानिने यस जिल्लामा ठूलो संघर्ष गरेर फ्याक्ट्री खोलेका छौँ । यसले यहाँको आर्थिक विकासमा ठूलो सहयोग पुग्नेछ,’ उनले भने, ‘रोजगारी सिर्जना, आर्थिक गतिविधि, पर्यटनमा यसले सहयोग पुग्नेछ । तर, सडक पूर्वाधार राम्रो नहुँदा उत्पादनलाई बजारसम्म पुर्‍याउन ठूलो समस्या छ । यसमा सरकारको ध्यान जान आवश्यक छ ।’
 

ad
ad