१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ असोज २७ सोमबार ११:३४:००
Read Time : > 1 मिनेट
प्रदेश

उज्यालो विराटनगरभित्र अँध्यारो मुसहर बस्ती

सिंगो बस्तीमा कक्षा ४ भन्दा धेरै पढेका कोही छैनन्

Read Time : > 1 मिनेट
२०७६ असोज २७ सोमबार ११:३४:००

शिक्षितहरू बसोबास गर्ने उज्यालो विराटनगर महानगरभित्र एउटा यस्तो अशिक्षित बस्ती छ, जहाँ कक्षा–४ भन्दा धेरै पढ्ने अझै पनि कोही छैनन् ।

विराटनगर महानगरपालिका–१६ दरैयास्थित नेपाल–भारत सीमा क्षेत्रमा दशगजासँगै जोडिएको मुसहर (ऋषिदेव) बस्तीमा कक्षा–४ भन्दा धेरै पढ्ने कोही पनि छैनन् । भर्खर यहाँका बालबालिका लायन्स क्लबले बनाइदिएको बाल केन्द्रमा जेनतेन साँवा अक्षर चिन्न खोज्दै छन् । केही बालबालिका मात्र अलि पर रहेको श्रीमाया आधाभूत विद्यालय जान थालेका छन् ।

करिब ५० घरपरिवार ऋषिदेव बसोबास गर्ने यो बस्तीमा कक्षा–४ सम्म पढ्ने जम्मा चारजना मात्रै छन् । कक्षा–४ मा पढ्ने काजल ऋषिदेवका अनुसार उनका साथीहरू खुस्बु, रामु र आशिष पनि सँगै पढ्छन् । 

ऋषिदेव बालबालिकालाई कखरा सिकाउँदै आएका राजु क्षेत्रीका अनुसार पिछडिएको दलित वर्गका ऋषिदेवहरू अधिकांशमा चरम गरिबीका कारण पढ्नुपर्छ भन्ने चेतनासमेत छैन । भएकाहरूले पनि आर्थिक अभावले गर्दा निरन्तर पढाउन सकेका छैनन् । यसैले बालबालिका एक/दुई वर्ष जेनतेन विद्यालय गए पनि बीचैमा पढाइ छाड्छन् । आकर्षणको अभावमा बाल केन्द्रमा पनि सबै बालबालिका नियमित पढ्न आउँदैनन् । अहिले बाल केन्द्रमा करिब २० जना बालबालिकाले कखरा सिक्दै छन् । राजु भने, ‘तर शैक्षिक सामग्री र सुकिला कपडा तथा जुत्ताचप्पलको अभावमा सबैजना नियमित पढ्न आउँदैनन् ।’

विराटनगर महानगरपालिका–१६ का वडाध्यक्ष मनोज सुब्बाले अभिभावकमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना विकास हुन नसक्दा ऋषिदेव बालबालिका शिक्षामा कमजोर भएको बताए । यहाँका अधिकांश बालक किशोर उमेरको भएपछि नै ज्याला मजदुरीमा जान थाल्छन् भने बालिकाको किशोरवयमै बिहे हुने गरेको छ ।

ह्विलचेयरमा आएर कखरा सिकाउँछन् राजु 
लायन्स क्लबले निर्माण गरिदिएको बाल केन्द्रमा दिनको एकपटक ह्विलचेयरमा धाएर रानी बर्मेली बस्तीका आपांगता भएका राजु क्षेत्रीले कखरा सिकाउने गरेका छन् । गाउँ डुल्ने क्रममा शिक्षित नगरपालिकाभित्र अँध्यारो अशिक्षित बस्ती देखेपछि आफूले बालबालिका भेला पारेर रूखको छहारीमुनि पढाउन थालेको उनले बताए । उनका अनुसार खुला आकाशमुनि बालबालिका पढेको देखेपछि एक वर्षअघि लायन्स क्लबले सानो घर बनाइदिएको हो । जसले केटाकेटी भेला गरेर पढाउन सहज भएको स्वयंसेवक राजुले बताए ।

पुगेन जनता आवास कार्यक्रममा 
कक्षा–३ सम्म पढेका अगुवा ७० वर्षीय मोहन ऋषिदेवका अनुसार सीमा क्षेत्रको दशगजा क्षेत्रको बस्ती भनेर होला सरकारी निकायले पनि विकासमा चासो दिँदैनन् । पाँच दशकदेखि सोही स्थानमा बस्दै आएका सिँगो ऋषिदेव समुदाय शिक्षा, स्वास्थ्य, पोषण आदिको आधारभूत अधिकारबाट वञ्चित छन् । विराटनगर महानगरपालिका–१६ का वडाध्यक्ष मनोज सुब्बाले दशगजासँग जोडिएको बस्ती भएकाले वेलावेलामा भारतले किचलो उठाउने भएपछि सरकारी निकाय लगानी गर्न हिचकिचाएको बताए । मोरङको ५ नम्बर निर्वाचन क्षेत्रमा पर्ने उक्त बस्तीलगायतबाट प्रदेशका २ र संघका १ जना सांसद निर्वाचित छन् । तर, हालसम्म त्यहाँ गरिब दलितका लागि भनिएको जनता आवास कार्यक्रम पुगेको छैन । सिमानामा आफ्नोतर्फ भारतले बाटो बनाउने बहानामा अग्लो बाँध बनाएपछि हरेक वर्षको वर्षायाममा यो बस्ती डुबानमा पर्ने गरेको छ । डुबानका समयमा विराटनगर जुटमिलको चौरमा गएर आश्रय लिनु उनीहरूको नियमित बाध्यता भइसकेको छ ।