१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार १६:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

'तिमीहरूलाई किन चाहियो नागरिकता ?'  

मतदाता परिचयपत्र छ, नागरिकता छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १६:१९:oo

चितवनको खैरहनी नगरपालिका–१० स्थित एकीकृत मुसहर बस्तीका बासिन्दा हालसम्म नागरिकताबाट वञ्चित छन्। उनीहरुसित मतदाता परिचयपत्र त छ, तर नागरिकता भने छैन।

खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहीन छन्। उनीहरुको अघिल्लो पुस्ता पनि नागरिकताबाट वञ्चित थियो। २२ वर्षीय अनिल माझीले कक्षा ६ सम्म अध्ययन गरिसकेपछि जन्मदर्ता नभएका कारण अध्ययनलाई निरन्तरता दिन सकेनन्। वर्षौदेखि आफ्ना पूर्खा यहीँ बसेका भए पनि अहिलेसम्म नागरिकता नपाउँदा विभिन्न समस्या झेल्नु परेको उनी बताउँछन्।  

‘नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गरेर शिक्षा दिन पाएका छैनौँ,’ माझीले भने।  नागरिकता नहुँदा दैनिक मजदूरी गरेर कमाएको पैसासमेत बचत गर्न नपाएको उनको गुनासो छ।

यस्तै गुनासो सुनाउनुहुन्छ,  ५५ वर्षीया एमपी माझी। ‘लामो समयदेखि नागरिकता पाउन सकेका छैनौँ।’ उनले पटक–पटक वडा कार्यालयमा गएर नागरिकता माग्दा ‘तिमीहरुलाई किन चाहियो नागरिकता’ उल्टै  प्रश्न गर्ने गरेको दुःखेसो पोखे।  

नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता गर्न नपाएको उल्लेख गर्दै माझी छोराछोरीलाई पढाएर रोजगारीका लागि विदेश पठाउने सपना चक्नाचुर भएको बताए। 

उनले  भने, ‘नागरिकता बनाउन पाए छोराछोरी कतै काम गर्न जान पाउँथे । कमाएको पैसा बचत गर्न सकिन्थ्यो।’ नागरिकता नहुँदा आफुहरु ठगिएको स्मरण गर्दै उनले भने, ‘हामीले एक व्यक्तिको नाममा विश्वास गरेर सामुहिक बचत पनि गरेका थियौँ तर उसले हाम्रो पैसा लिएर फरार भयो।’

आफूहरुसँग मतदाता परिचयपत्र भने भएको उनले बताए। हरेक निर्वाचनमा साविकको कठार गाउँपालिकाबाट मतदान गर्दै आए पनि नागरिकता बनाउन खोज्दा समस्या भएको माझीको भनाइ छ। 

दैनिक मजदूरी गरेर जिविकोपार्जन गर्दै आएको मुसहर समुदायलाई व्यवस्थित रुपमा राख्नका लागि २०७६ सालमा जनता आवास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण गरिएको थियो। 

एकीकृत बस्ती निर्माण भएर सुरक्षित बसोबासको व्यवस्था भए पनि आफूहरु नागरिकताबाट वञ्चित भएको २५ वर्षीय प्रकाश माझी बताए। वडा कार्यालय र राजनीतिक दलहरुले आफ्नो समस्याप्रति बेवास्ता गरेको उहाँको गुनासो छ। माझीले भनले, ‘विदेश गएर कमाउन पनि नागरिकताका कारण सकिएको छैन।’

एकीकृत मुसहर बस्तिमा हाल १४ घरमा २८ परिवार बस्दै आएका छन्। एक सय पाँच जनाको बसोबास रहेको सो बस्तीमा ४१ बालबालिका छन्। बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुनुपरेको छ। 

खैरहनी–१० का वडाध्यक्ष चन्द्रविक्रम चौधरीले पालिका र प्रशासनसँग समन्वय गरी नागरिकता बनाउने काम अघि बढाउने बताए। ‘मुसहर बस्तिका बासिन्दाको जीविकोपार्जनका लागि आत्मनिर्भरका कार्यक्रम ल्याउँदै छौँ’, उनले भने।  

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले वंशज खुल्ने कागजपत्र नभएका कारण नागरिकता नपाएको हुनसक्ने बताए। उनले भने, ‘पूर्खाको पालादेखि बसोबास गरेको हकमा हामी नागरिकता दिन सक्छौँ।’ वडा कार्यालयबाट सिफारिस आए सहज रुपमा नागरिकता दिन सकिने उनले बताए।रासस 

ad
ad