१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ भदौ १८ बुधबार ०८:२४:००
Read Time : > 3 मिनेट
अर्थ

जापानले नेपाली कामदार लैजाने निश्चित

भाषा तथा सीप परीक्षाको आवेदन माग असोज दोस्रो साता, कात्तिक दोस्रो साता परीक्षा हुने

Read Time : > 3 मिनेट
२०७६ भदौ १८ बुधबार ०८:२४:००

लामो समयदेखि आन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुल्ने भएपछि यो विषयले निश्चितता पाउने भएको हो । जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज दोस्रो सातादेखि आवेदन खुला गरी कात्तिक दोस्रो साता परीक्षा सञ्चालन हुनेछ । जापान सरकारले नेपाललगायत अन्य चार मुलुकका लागि परीक्षाको मिति निश्चित गरेको हो । 

जापान श्रम मन्त्रालयले यो साताभित्रमा आवेदन प्रक्रियासम्बन्धी सूचना प्रकाशन गर्ने जनाएको छ । परीक्षाको आवेदन अनलाइनमार्फत नै लिने भए पनि यससम्बन्धी थप विवरण भने सार्वजनिक गरेको छैन । आवेदन शुल्क करिब १ हजार रुपैयाँ तोकिएको छ । 

 १ हजारवटा मात्र आवेदन लिइने, पहिलो आउनेलाई पहिलो प्राथमिकता
जापानी भाषा तथा सीप परीक्षाका लागि जापान सरकारले १ हजार आवेदन मात्रै लिने भएको छ । आवेदनमा बुझाउने सुरुका १ हजारले मात्रै परीक्षा दिन पाउनेछन् । कोटा बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेपालले भने जापान सरकारसँग लबिंग गरिरहेको छ । तर, जापानले भने १ हजारभन्दा बढी आवेदन नलिने अडान लिएको मन्त्रालय स्रोतले जनाएको छ । परीक्षामा उत्तीर्ण हुनेले मात्र रोजगारीमा जान पाउनेछन् । 

कात्तिक १० देखि परीक्षा सुरु
जापान रोजगारीका लागि जापान सरकारले आगामी कात्तिक १० देखि भाषा तथा सीप परीक्षा सुरु गर्ने भएको छ । जापानिज श्रम मन्त्रायलका अनुसार कात्तिक १० देखि १२ गतेसम्म पहिलो चरणको परीक्षा सञ्चालन गरिनेछ । दोस्रो चरणमा कात्तिक १९ देखि २१ गतेसम्म हुनेछ । कात्तिक २६ देखि २८  गतेसम्म तेस्रो चरणको परीक्षा सञ्चालन हुनेछ । मन्त्रालयले परीक्षाको मिति तय गरे पनि कुन मितिमा भाषा र सीपको परीक्षा हुने भन्ने निक्र्यौल भइसकेको छैन । ‘जापान सरकारले परीक्षाको मिति तय गरे पनि कुन दिन कुन परीक्षा हुन्छ भन्ने छुट्टाएको छैन,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले भने, ‘सम्भवतः एक दुई–दिनभित्रै यसको पनि टुंगो लाग्नेछ ।’

एक घन्टाको सीप परीक्षण ४५ वटा प्रश्न 
जापानले लिने सीप परीक्षा एक घन्टाको हुनेछ । त्यसमा जम्मा ४५ प्रश्न सोधिनेछन् । जापान श्रम मन्त्रालयका अनुसार लिखित परीक्षा ४० मिनेटको हुनेछ । १० वटा आधारभूत प्रश्न हुनेछन् । दिमाग र शरीरको संयन्त्रसम्बन्धी ६ वटा प्रश्न सोधिनेछन् । सञ्चार क्षमतासम्बन्धी ४ वटा, शारीरिक सुरक्षणसम्बन्धी २९ वटा प्रश्न सोधिनेछन् । प्रयोगात्मक परीक्षामा ५ वटा प्रश्न सोधिनेछन् । परीक्षा सिबिटी प्रणालीमा हुनेछ । 

भाषा परीक्षामा ३० मिनेटको, १५ प्रश्न सोधिने
जापान सरकारले लिने भाषा परीक्षा ३० मिनेटको हुनेछ । त्यसमा १५ प्रश्न सोधिनेछन् । केयर प्राविधिक शब्दावलीसम्बन्धी ५ प्रश्न सोधिनेछन् । केयर सञ्चारसम्बन्धी ५ र केयरको कागजपत्रसम्बन्धी ५ प्रश्न सोधिनेछन् । परीक्षा कम्प्युटरमा आधारित हुनेछ । 

उत्तीर्ण हुन कम्तीमा ६० प्रतिशत ल्याउनुपर्ने 
जापान सरकारले लिने भाषा तथा सीप परीक्षामा उत्तीर्ण हुनका लागि कामदारले ६० प्रतिशत ल्याउनुपर्नेछ । भाषा तथा सीप उत्तीर्ण भएका कामदारले मात्रै नर्सिङ केयरका लागि आवेदन दिन सक्नेछन् । जापान सरकारका अनुसार परीक्षा दिएको एक महिनापछि मात्रै नतिजा सार्वजनिक हुनेछ । नेपाली कामदारको भिसा अवधि ३ देखि ५ वर्षको हुनेछ । जापानी नागरिकसरह नेपाली कामदारले सेवा र सुविधा पाउने जापान सरकारले प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ । 

परीक्षामा नेपाल सरकारको भूमिका नरहने
जापान सरकारले लिने भाषा तथा सीप परीक्षामा नेपाल सरकारको भने कुनै पनि भूमिका रहनेछैन । जापान सरकारले नै तय गरेको प्रणालीअनुसार परीक्षा सञ्चालन हुने मन्त्रालयका सहसचिव दीपक ढकालले बताए । ‘परीक्षा तथा कामदार छनोट गर्ने विषयमा नेपाल सरकारको कुनै पनि हात हुनेछैन । जापान सरकारले सबै मुलुकमा एउटै खालको प्रणाली अवलम्बन गरेको छ । त्यसैले सम्बन्धित मुुलुकको कुनै पनि भूमिका हुँदैन,’ उनले भने । नेपाल सरकारले यस विषयमा स्पष्ट सूचना प्रवाह गर्ने, भाषा र सीप परीक्षा उत्तीर्ण भएपछि श्रम स्वकृति प्रदान गर्ने र जापानमा नेपाली श्रमिकको सुरक्षाको विषयमा मात्रै काम गर्ने उनले बताए । 

कामदार संकट गहिरिएपछि जापान सरकारले विदेशी कामदार भिœयाउने नीति लिएको हो । नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स, कम्बोडिया र भियतनामबाट कामदार लिने योजना बनाएको छ । जापान सरकारले ९ मुलुकबाट ५ वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ औद्योगिक क्षेत्रका लागि लैजाने निर्णय गरेको छ । 

यसरी लैजानेछ जापानले नेपाली कामदार
सबैभन्दा पहिला इच्छुक व्यक्तिले जापानी भाषा र सीप परीक्षामा उत्तीर्ण गर्नुपर्छ । यसका लागि जापानी भाषाको एन ४ लेबल पास गर्नुपर्छ । यो पास भइसकेपछि जापान सरकारले भिसा आवेदनका लागि स्वीकृत प्रदान गर्छ । भिसा आइसकेपछि वैदेशिक विभागबाट श्रम स्वीकृति लिनुपर्छ । विभागले स्वीकृति दिएपछि जापान उड्न पाइन्छ । 

नेपालमा कसले काम गर्छ ? 
नेपालमा श्रमिक छनोटको जिम्मा जापान सरकारले जापान फाउन्डेसनलाई दिएको छ । फाउन्डेसनले भाषा र सीप परीक्षाका लागि ‘प्रो म्याट्रिक कम्पनी’लाई जिम्मा दिएको छ । उक्त कम्पनीले भाषा र सीप परीक्षा लिनेछ । यो परीक्षा उत्तीर्ण भइसकेपछि कम्पनीले कामदारको रेकर्ड जापान पठाउनेछ । बाँकी काम जापानबाट हुनेछ । 
शुल्क कति लाग्छ ? 
यसमा अतिरिक्त शुल्क लिन पाइनेछैन । बिचौलियालाई निरुत्साहित गर्न नेपाल र जापान दुवै देशका सरकारले आफ्ना निकायमार्फत काम कामकारबाही अगाडि बढाउने भएका छन् । परीक्षाका लागि भने प्रवेश शुल्कबापत करिब १ हजार रुपैयाँ लाग्नेछ । अन्य कुनै शुल्क लाग्दैन । सबै शुल्क रोजगारदाताले नै व्यहोर्नेछ । 

नेपाल सरकारको कस्तो भूमिका रहन्छ ? 
नेपाल सरकारले जापान रोजगारीको विषयमा सूचना प्रवाह गर्ने, श्रम स्वीकृति दिने, श्रमिकको सुरक्षाको विषयमा ध्यान दिने र जापानमा नेपाली श्रम बजारको विस्तार गर्नेसम्मको भूमिका रहनेछ । कामदारको भाषा एवं सीप परीक्षा लिने, भिसाका लागि सिफारिस गर्नुपर्नेजस्ता काम केही पनि गर्नुपर्दैन । 

कोरिया र जापानमा के फरक छ ?
कोरियाले नेपाली कामदार लैजान इपिएस कोटा सिस्टम अपनाएको छ । यसको अर्थ कोरियाले कोटामा आधारित रहेर नेपालमा भाषा परीक्षा लिन्छ । त्यसमा उत्तीर्ण भएका कामदारलाई कोरिया लैजान्छ । कोरियाले दक्ष–अदक्ष सबै किसिमका कामदार लैजान्छ । सीप विकास गर्ने काम कोरियामै हुन्छ । तर, जापानले विशिष्टीकृत दक्ष कामदार मोडल (एसएसडब्लुएम) अपनाएको छ । यसको अर्थ दक्ष कामदारलाई मात्र जापान लैजानेछ । जापानले पहिले आवेदन माग गर्नेको कोटा तोक्नेछ । आवेदन भरेर भाषा तथा सीप परीक्षामा उत्तीर्ण हुने कामदारलाई मात्र जापान लैजानेछ । 

उत्तीर्ण हुन कम्तीमा ६० प्रतिशत ल्याउनुपर्ने 
जापानले लिने भाषा तथा सीप परीक्षामा उत्तीर्ण हुन कम्तीमा ६० प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । आवेदनका लागि जापानले १ हजारजनाको कोटा तोकेको छ । पहिलो आउनेलाई पहिलो प्राथमिकता दिएर आवेदन लिनेछ । त्यसमा ६० प्रतिशत अंक ल्याई उत्तीर्ण हुनेहरू मात्र जापान जान पाउनेछन् । 

के काम गर्नुपर्छ ? 
अहिले जापानले नर्सिङ केयरका लागि आवेदन माग गरेको हो । 

कति हुन्छ भिसा अवधि ? 
नेपाली कामदारको भिसा अवधि ३ देखि ५ वर्षको हुनेछ । 

पारिश्रमिक कस्तो हुनेछ ? 
जापानी नागरिकसरह नेपाली कामदारले सेवा र सुविधा पाउने जापान सरकारले प्रतिबद्धता जनाएको छ ।