
मलामी आएका व्यक्तिको कुटपिटबाट घाटमा शव जलाउने एकजना कामदारको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका– ४ बुढीखोला किनारमा रहेको मुक्तिघाटमा मलामी आएका दुईजना व्यक्तिले चिर्पट प्रहार गर्दा शव जलाउँदै आएका कामदार २७ वर्षीय विनोद तामाङको मृत्यु भएको हो।
मुक्तिघाट क्षेत्र विकास समितिमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका तामाङलाई आइतबार दिउँसो २ बजेतिर मलामी आएका इटहरी उपमहानगरपालिका– ४ गैरीगाँउका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गरेका थिए । कुटपिटबाट घाइते भएका विनोदको उपचारको क्रममा वेदान्त अस्पताल इटहरीमा आइतबारै मृत्यु भएको इलाका प्रहरी इटहरीले जनाएको छ ।
घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी अनुसन्धान थालेको र फरार रहेका अनिल तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।