Skip This
उद्योगमन्त्रीसँग सुनसरी–मोरङ करिडोरका उद्योगीको माग : उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नुहोस्
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
गणेश लम्साल विराटनगर
२o८३ असोज १२ सोमबार o९:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योगमन्त्रीसँग सुनसरी–मोरङ करिडोरका उद्योगीको माग : उत्पादन लागत घटाउन नीतिगत सुधार गर्नुहोस्

कच्चा तेल आयात समस्या, औद्योगिक प्रयोजनको बिजुलीमा भ्याट, जुटका सामग्री निर्यातमा भारतले लगाएको चार गुणाभन्दा बढी एन्टिडम्पिङ शुल्क र खानेतेलको मूल्य घट्दा उत्पन्न समस्या समाधानसहित नीतिगत सुधारका लागि आग्रह

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार o९:३३:oo

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले औद्योगिक उत्पादनको लागत र प्रतिस्पर्धात्मक क्षमता प्रभावित पारिरहेका प्रमुख समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । उद्योग संगठन मोरङले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँगको छलफलमा यस्तो आग्रह गरेका हुन् । उनीहरूले कच्चा तेल आयात समस्या, औद्योगिक प्रयोजनमा प्रयोग हुने विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) र जुटका सामग्री निर्यातमा भारतले लगाएको चार गुणासम्म बढी एन्टिडम्पिङ शुल्क र खानेतेलमा मूल्य घटाएपछि उत्पन्न समस्या उठाउँदै तत्काल नीतिगत सुधारका लागि आग्रह गरेका हुन् । 

उद्योग संगठनका अध्यक्ष नन्दकिशोर राठीले सुनसरी–मोरङ औद्योगिक करिडोरसहित समग्र औद्योगिक क्षेत्रको लागत, पूर्वाधार, निर्यात र प्रतिस्पर्धात्मक क्षमताका लागि तत्काल उद्योगले भोगिरहेका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सरकारले विद्युत्मा लगाएको भ्याट अनि भारतमा निकासी हुने जुटका सामग्री तथा भारतमा खानेतेलको मूल्य घट्दा उत्पन्न हुने समस्या वैकल्पिक नीति अवलम्बन गरेर समाधान गर्न आग्रह गरे । ‘हाल देखिएका जुटका सामग्री र खानेतेल निर्यात अनि बिजुलीको भ्याट समस्या समाधान नभए औद्योगिक उत्पादनको लागत घटाएर उत्पादन र उत्पादकत्व बढाउने वातावरण बन्न सक्दैन,’ अध्यक्ष राठीले भने, ‘सरकारले यसलाई नीतिगत रूपमा समाधानका लागि पहल गरिदिनुपर्छ ।’ 

उद्योगीका अनुसार औद्योगिक प्रयोजनको विद्युत्मा लगाइएको भ्याटले उत्पादन लागत बढेर प्रतिस्पर्धात्मक क्षमता घट्नुका साथै निर्यातमुखी, साना तथा मझौला, खाद्य र औषधि उद्योग प्रभावित हुन थालेका छन् । त्यस्तै, औद्योगिक करिडोरमा देखिँदै आएको सुक्खायामको विद्युत् अवरोध, लो–भोल्टेज र ट्रिपिङको समस्या पनि समाधान गरिदिन सरकारसँग उद्योगीको आग्रह छ । 

भारतले नेपाली जुटजन्य वस्तुमा आगामी अक्टोबरदेखि हालको भन्दा चार गुणाभन्दा बढी एन्टिडम्पिङ शुल्क लगाउने घोषणा गरिसकेकाले यसबाट नेपालका जुट उद्योगको निर्यात व्यापार धराशायी हुने उद्योगको गुनासो छ । भारतले लगाएको एन्टिडम्पिङ शुल्कका कारण नेपालमा उत्पादित जुटका सामग्री महँगो हुने र निर्यात चौपट हुने उनीहरूको तर्क छ । साथै, भारतले कच्चा तथा तयारी खानेतेलको आयातमा महसुल घटाएपछि नेपालबाट निर्यात हुँदै आएको प्रशोधित तेलमा समेत असर पर्नेछ । 

उद्योग संगठन मोरङले औद्योगिक समस्यासँगै लामो समयदेखि निर्माण अलपत्र रहेको कटहरी–विराटनगर हुलाकी सडकको करिब ६ किलोमिटर खण्डको निर्माण तत्काल सम्पन्न गराउन पनि उद्योगमन्त्री दीपक साहसँग माग गरेको छ । 
विराटनगरको हाटखोलादेखि कटहरीको नयाँबजारसम्मको ६ किमि हुलाकी सडक वर्षौँदेखि अलपत्र छ । यसले आवतजावत मात्र नभई विराटनगर–रंगेली करिडोरमा रहेका उद्योगमा कच्चा पदार्थ ल्याउन र उत्पादित वस्तु बजार तथा सीमावर्ती नाकासम्म पु¥याउनसमेत सास्ती भइरहेको छ ।

↑