Skip This
एआइआइबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न आग्रह
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार १o:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एआइआइबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १o:३१:oo

अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबिच भेटवार्ता भएको छ। एआइआइबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउसँग नेपालमा बैंकको लगानी विस्तार, प्राकृतिक विपतपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तारका विषयमा छलफल गरेका हुन्।

भेटमा अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त गर्दै विपतपछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

उनले एआइआइबीको ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड’मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने बताइन्। उक्त फन्डअन्तर्गतको अनुदान प्रयोग गरी नेपाललाई उपलब्ध गराइने एआइआइबी ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा पनि उनले राखिन्। अध्यक्ष जोउले संस्थापक सदस्य राष्ट्र नेपालसँग आर्थिक विकासका क्षेत्रमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याइन्।

सो अवसरमा अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई बधाई दिँदै संस्थापक सदस्यका रूपमा नेपाललाई एआइआइबीले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले एआइआइबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे।

मन्त्री वाग्लेले एआइआइबीको लगानी रहेको माथिल्लो त्रिशूली– १ जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरे। उनले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारणलाइन, सडक तथा डिजिटल पूर्वाधार विकासका लागि बैंकको आफ्नै स्रोतसँगै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गर्न आग्रह गरे।

भेटवार्ताका क्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्।

↑