नेपालका मोहमद सामी र केनिस खड्काले चीनको हाइनान प्रान्तस्थित वानिबमा आयोजना भएको हाइनान सिबलोब अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सामी र केनिसले पुरुष ४५ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् । यसैगरी, सृष्टि विक र सोया चक्रधरले महिला ५९ केजीमा स्वर्ण जिते । श्रेयास तिवारीले १५ देखि १७ वर्ष उमेर समूहको एकल पुम्सेमा स्वर्ण पदक हात पारेका छन् ।
यसैगरी सुविन सापकोटाले १२–१४ वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेमा स्वर्ण जितेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । नेपालका शुभम रायमाझीले १५–१७ वर्ष उमेर समूहको एकल पुम्से र ६८ केजी तौल समूहमा रजत जितेका थिए । यस्तै, सुजल लो तामाबले १२–१४ वर्षको व्यक्तिगत पुम्सेमा रजत र निर्भिग्न घिमिरेले ग्योरोगीको ५१ केजी र १२–१४ उमेर समूहको एकल पुम्सेमा कांस्य पदक जितेका छन् ।
प्रिन्स बोगटीले दोहोरो कांस्य जित्ने क्रममा ग्योरोगीको पुरुष २६ केजी र पुम्सेको १०–१२ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । यसैगरी सृष्टि शेरचनले १३–१७ वर्ष उमेर समूहको महिला एकल पुम्सेमा कांस्य पदक जितिन् । वानिब नगरपालिका, हाइनान तेक्वान्दो संघ तथा स्थानीय खेलकुद निकायको आयोजनामा २५ देखि २७ सेप्टेम्बरसम्म सिबलोब झोबआओ स्पोर्टस् रंगशालामा प्रतियोगिता भएको थियो । अन्तर्राष्ट्रिय खेलकुदसँगै सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडी सहभागी भएका थिए ।